यस्ता छन्, एमालेबाट डनवाद र धनवादका कारण टिकट पाउनेहरु 

जिवेश परियार

Nepal Live

काठमाडौं– एलपी साँवा लिम्बू मुख्यतः वैदेशिक रोजगार र घरजग्गा व्यवसायी हुन्। वैदेशिक रोजगार व्यवसायी महासंघको अध्यक्षसमेत रहिसकेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भरोसा पात्र मान्छन्। 

०७० मंसिर ४ मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा साँवाले झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा टिकट पाएका थिए। जानकारहरुका अनुसार निर्वाचन जित्न उनले ८ करोड रुपैयाँ खर्च गरे। साँवासँग दोस्ती रहेका एमालेका एक नेताको भनाइमा ०७० को निर्वाचनमा देशभरमा बढी खर्च गर्ने उम्मेदवार नै उनी थिए। तर, उनले जित हात पार्न सकेनन्। 

साँवाले भन्दा २ सय ४० मत बढी ल्याएर कांग्रेसका सुधीर सिवाकोटीले चुनाव जिते। ‘उनको पराजयले पैसा खर्च गर्दैमा मात्र जित्न सकिन्न भन्ने राम्रै पाठ सिकाएको थियो। तर, पनि नेताहरुले त्यसबाट सिक्न चाहेको देखिएन,’ ती नेता भन्छन्, ‘करोडौं खर्च गरेर सांसद, मन्त्री बन्न चाहनुको अर्थ के हो? मैले बुझ्न सकेको छैन।’ 

तिनै साँवाले अहिले फेरि ओलीको सँगै जोडिएको झापा क्षेत्र नम्बर ४ मा प्रत्यक्षमा टिकट पाएका छन्। ओली झापा–५ बाट चुनावी प्रतिस्पर्धामा छन्। वाम गठबन्धनका कारण अघिल्लोको तुलनामा यसपटक उनको प्रतिस्पर्धा सहज देखिन्छ। अर्थात् प्रतिनिधिसभामा प्रवेश गर्ने व्यवसायी साँवाको चाहनाले यो पटक मूर्त रुप लिन सक्छ। संसदमा प्रवेशपछि निर्वाचन जित्न खर्च गरेको रकम साँवाले कसरी पुर्ताल गर्छन्? त्यो भने आगामी दिनमै देखिएला।

नुवाकोट क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा एमालेले बद्री मैनालीलाई प्रत्यक्षबाट लड्न मैदानमा पठाएको छ। रोचक यो छ कि, उनले ०६७ मा मात्र एमालेको संगठित सदस्यता लिएका थिए। नुवाकोटका एमालेका एक नेता सुनाउँछन्, ‘तर, सेटिङ यसरी मिलाए, त्यो भन्दा १० वर्षअघि ०५७ मा सदस्यता लिएको रेकर्ड बनाएका छन्।’ 

मैनालीको मुख्य व्यवसाय घरजग्गा दलाली हो। माओवादी शान्ति प्रक्रियामा आएसँगै ०६३ देखि घरजग्गाको भाउ ह्वात्तै बढेपछि मैनालीको आर्थिक अवस्था एकाएक चुलियो। अनि पैसा मस्त कमाएपछि उनमा राजनीतिको ‘भूत’ सवार भयो। एमालेका तत्कालीन शैक्षिक विभाग प्रमुख महेन्द्र पाण्डेले ०६७ मा मैनालीलाई ‘लिफ्ट’ दिएका थिए। त्यो बेलासम्म एमाले नुवाकोटका कुनै नेता–कार्यकर्तासँग मैनालीको चिनजान थिएन। तर, अहिले अवस्था यसरी फेरियो, कुनै समय पञ्चायतदेखि बहुदलकालसम्मका हस्ती प्रकाशचन्द्र लोहनीलाई हराउने राजेन्द्र लोहनीलाई टिकट दिनु एमाले नेतृत्वले जायज ठानेन। मैनालीका अघि उनी फिका भए।

मोती दुगड मूलतः उद्योगी हुन्। ०७० को संविधानसभाअघि उनले ठूलै तामझामसाथ नव नेपाल निर्माण पार्टी स्थापना गरेका थिए। ठुल्ठूला विज्ञापन गरेर प्रचार गरेका थिए। तर, उनको त्यस कदमले पार्टीको आकार लिनै सकेन। पैसा खर्च गर्दैमा पार्टी बन्न सक्दैन भन्ने दुगड घटनाले पनि पुष्टि गरेको थियो। पार्टी चलाउन नसकेपछि दुगड आफैं एमालेमा प्रवेश गरे। उनी यतिबेला एमालेको समानुपातिक सूचीमा छन्। एमाले नेतृत्वको चित्त बुझाएरै समानुपातिक सूचीमा रहेकाले उनी सांसद बन्ने सम्भावना प्रवल छ।

अर्का पात्र हुन्, राजीव गुरुङ अर्थात् चल्तीका गुन्डा नाइके दीपक मनाङे। दर्जनौं पटक प्रहरीले पक्राउ गरेर उनलाई मुद्दा चलाइसकेको छ। स्थानीय तह निर्वाचनअघि पनि शान्ति सुरक्षा खलल पार्न सक्ने भन्दै काठमाडौं प्रशासनले उनलाई पक्राउ गरी केही दिन थुनेको थियो। राजनीतिक छहारी चहार्दै केही समयअघि मनाङे कमल थापा नेतृत्वको राप्रपा नेपालमा आबद्ध भएका थिए। तिनै मनाङे हालसालै एमालेमा आइपुगे। उनी राप्रपाका मनाङ जिल्ला अध्यक्ष समेत थिए।

मनाङको प्रदेशसभाबाट उनी घुमाउरो पाराले अहिले एमालेको आधिकारिक उम्मेदवार छन्। एमाले नेताहरुले उनको हातमा सिधैं टिकट थमाउन खोजेका थिए। तर, ठूलो विरोध हुने छाँट देखेपछि छड्के बाटोबाट उनलाई पार्टीको आधिकारिक उम्मेदवार बनाइयो।

एमालेबाट अछामको प्रदेशसभामा टिकट पाउने गोविन्द कुँवर नामुद ठेकेदार हुन् । अर्का उम्मेदवार झपट बोहोरा बैंकर्स हुन्। ‘क’ श्रेणीका ठेकेदार जर्नादन ढकालले रसुवामा दोहो¥याएर टिकट पाएका छन्। ठेक्काकै बलमा उनले ०७० मा रसुवाबाट जित हात पारेका थिए। 

डोटीबाट टिकट पाउने एमाले उम्मेदवार पे्रम आले घरजग्गा व्यवसायी, ठेकेदार, कलेज सञ्चालक हुन्। आले मात्र हैन† दोलखामा दोस्रो पटक प्रतिनिधिसभाको टिकट पाउने ‘भाग्यमानी’ पार्वत गुरुङ पनि राजनीतिमा सक्रिय हुनुअघि खासा ब्यापारी थिए। ठेक्कापट्टाको धन्दा त उनले अहिले पनि गरिरहेकै छन्। यस पटक वाम गठबन्धनका कारण अघिल्लो पटकको तुलनामा एमालेमा त्यति धेरै ठेकेदार÷ब्यापारी हावी हुन सकेनन्। तर, जति छन्, त्यसले नै एमाले नेताहरुको चरित्र कता उन्मुख छ भनेर बुझ्न काफी हुन्छ। 

रोचक के भने, वाम गठबन्धनका नाममा एमाले शीर्ष नेताहरुले दिनदिनै आफ्नो परिक्रमा नगर्ने, क्षमता, स्वाभिमान, निष्ठामा विश्वास राख्ने नेता–कार्यकर्ताहरुको पंक्तिलाई राम्रै गरी धुलो चटाएका छन्। संगठनमा योगदान दिएका अखिलका पूर्वअध्यक्ष ठाकुर गैरेहरुले टिकट नपाउँदा धनवाद र डनवादहरुले भने टिकट पाएका छन्। 

चुनावी दौडमा सामेल हुन नपाउनेहरुको ठूलो पंक्ति खासगरी वरिष्ठ नेता माधवकुमार नेपाललाई समर्थन गर्नेहरुको छ। एमालेका एक पोलिटब्युरो सदस्य भन्छन्, ‘ओली पक्षधरले यो निर्वाचनमा नेपाल पक्षधरलाई राम्रै गरी बढारेका छन्।’

सबैलाई समान अवसर उपलब्ध गराउने, कसैलाई विभेद नगर्ने नाराको जगमा उभिएको एमालेका नेताहरुले आफूसँगै श्रीमतीलाई पनि सांसद बनाउने तयारी गरेका छन्। एमाले नेता वामदेव गौतम, शंकर पोखरेल, कृष्ण गोपाल श्रेष्ठ, शेरबहादुर तामाङ जस्ता नेताले श्रीमतीलाई प्राथमिकताका साथ समानुपातिक सूचीमा राखेका छन्। गौतम पत्नी तुलसा मगर, पोखरेल पत्नी सुजिता शाक्य, श्रेष्ठ पत्नी बिना र तामाङ पत्नी उषाकला राई समानुपातिकबाट सांसद बन्ने लगभग निश्चित जस्तै देखिन्छ।

पढ्नै पर्ने