लिम्बू लोककथा : च्याब्रुङ बाजा र नाचको उत्पत्ति

बिबी सुब्बा (मुरिङ्ला)

Nepal Live

तस्बिर: सीता मादेम्बा


भगवान् तागेरा निङ्वाफुले पृथ्वीमा नरचोलाधारी स्त्री र पुरुषलाई पति–पत्नीका रुपमा सृष्टि गरेको लगभग नौ पुस्ता पुग्दा केसिङ्गेन् र तिगेन्जङ्ना माइती र चेलीको जन्म भयो । तिगेन्जङ्नाले माइती केसिङ्गेनलाई सारै डाहा मात्र गर्थी, गालीगलौज गर्ने र बिखालु दुर्वचन मात्र लाउने गर्थी । यी दुई जनाका बीचमा मन पटक्क मिल्न सकेन।

एकपटक त केसिङ्गेन्लाई साह्रै रिस उठेछ, मन पनि भाँचिएछ कि क्या हो, ऊ आफ्नी चेलीलाई छाडेर अन्तै लाग्यो । केसिङ्गेन्बिनाको घर अँध्यारो भयो, ज्यानै नभएको जस्तो भयो । माइतीबेगर तिगेन्जङ्नाले धेरै दुःख पाई, सुर्ता गर्न थाली । दिनरात माइतीलाईमात्र सम्झिरहन्थी, उसको असाध्य माया लाग्न थाल्यो उसलाई।

‘अब जसो गरी भए पनि माइतीलाई खोज्न जानुपर्‍यो’, यस्तो विचार गरेर एकदिन माइतीको खोजीमा तिगेन्जङ्ना हिँडी । खोज्दै जाँदा दिन बिते, साता बित्यो, महिना पनि बितेर गयो, तैपनि उसले आफ्नो माइतीलाई फेला पार्न सकिन । एकदिन ऊ यौटा ठूलो वनमा पुगी । दिउँसो चर्को घाम लागेको थियो । तिगेन्जङनालाई साह्रै तिर्खा लागेर आयो । कतै पनि उसले पानी पिउन पाइन । पानी खोज्दाखोज्दा ऊ साह्रै गली।

केही बेरपछि उसले वनमा यौटा ठूलो च्याप्टो ढुंगा देखी । एकछिन बिसाउनुपर्‍यो भनेर त्यहाँ पुग्दा त ठूलो च्याप्टो ढुंगाको दाहिने देब्रेतिर ओखलीका झैं खोबिल्टाहरूमा पानी देखी । तिर्खाले आकुलव्याकुल भएकी उसले जे भए पनि यिनै खोबिल्टाको पानी पिउनुपर्‍यो भन्दै दाहिने खोबिल्टाको पानी पिई । त्यतिले पनि उसको तिर्खा नमेटिँदा देब्रे खोबिल्टाको पानी पनि धीत मरुन्जेल पिई र सिध्याई । त्यहाँबाट फेरि बाटो लागी । अन्त्यमा ऊ माथि मुनाखाम्देन भन्ने स्थानमा पुगी । त्यता पनि माइतीलाई नभेट्दा अब अरु खोजखबर गर्दै हिँड्न नसकी त्यहीं दुःखसुख जीवनयापन गर्दै बस्न थाली।

जीवन गुजारा गर्दै जाँदा तिगेन्जङ्ना अचानक गर्भवती भई । कसरी गर्भवती भई त्यो कुरा नबुझेर उसको चेत नै हरायो । यस्तो कसरी भयो भनेर रातोदिन भगवान्लाई मात्र पुकारा गर्न थाली । एकरात उसका आँखा झपक्क के लागेका थिए, भगवान् तागेरा निङ्वाफुमाले उसलाई यसो भन्नुभयो, ‘सुन्, तिगेन्जङ्ना, आफ्नो माइती खोज्दै आउँदा तँलाई बाटामा तिर्खाले साह्रै सतायो, ढुंगाको खोबिल्टाको पानी तैंले पिइस् । तर ती त पानी थिएनन् । दाहिनेपट्टि बाघको मूत थियो भने देब्रेपट्टि तेरै माइतीको मूत थियो । ती दुवै पिएर तँ गर्भवती भएकी होस्, अब बाघ र मान्छे जम्ल्याहा छोराहरू पाउँछेस्।’

एकपल्ट जोडले गर्जेर भाइलाई झम्टिन तम्तयार हुँदानहुँदै नाम्सामीले भन्यो, ‘दाजु, मैले कति मिलेर बसौं भन्दा पनि तिमी मानेनौ । मलाई मार्न खान मात्र खोज्यौ । कति भागें तर उम्कन सकिनँ, आज त भेटिहाल्यौ।

पछिबाट साँच्चै तिगेन्जङ्नाले बाघ र मान्छे, जम्ल्याहा छोराहरू पाई । जेठो बाघ केसामी भयो र कान्छो मान्छे नाम्सामी भयो।

दुवै जना दाजुभाइहरू सुरु सुरुमा त खुबै मिल्थे, साथै खान्थे साथै पिउँथे । जता गए पनि सँगै जाने गर्थे । बिस्तारै दुवै तन्नेरी भए, सँगसँगै सिकार गर्न थाले।

नाम्सामीले गुलेलीले जिवात्को सिकार गर्न थाल्यो भने केसामीले फट्यांग्रा, छेपारा र भालेमुंग्रो आदि मार्दै खान थाल्यो । नाम्सामी सुन्दर र होसियार थियो भने केसामी जहिले पनि रिसले मुर्मुरिई रहने खालको थियो।

एकदिन दुवै दाजुभाइ सिकारमा गएका थिए । सदा झैं केसामीले फट्यांग्रा, छेपारा र भालेमुंग्रो आदि मार्दैै खान थालेको बेला ‘यस्तो काम नगरन, दाजु’ भन्दा केसामी साह्रै रिसायो । तत्काल भाइलाई भन्यो, ‘यिनलाई मात्र होइन, तँलाई पनि मारेर खान्छु।’

त्यस दिनदेखि यता दाजुभाइका बीचमा बेमेलको अवस्था सिर्जना भयो र विचार तथा मन पनि मिल्न छोड्यो । केसामीले भाइ नाम्सामीलाई मारेर खाने मात्र बल गर्न थाल्यो । नाम्सामीलाई भने न रातको निद न दिनको भोक हुन थाल्यो । वन वनै लुकेर हिँड्न थाल्यो । केसामीको भने कहिले भाइलाई मारेर खान पाउँला भनी मुखबाट राल चुहिन थाल्यो।
आमा तिगेन्जङ्नालाई एकदिन यी सबै दुःखका कुराहरूको उसले बेलीबिस्तार लायो । यी कुरा सुनेर तिगेन्जङ्ना कता हो कता रोई । ‘यौटै भुँडीबाट जन्मिकन पनि जम्ल्याहा छोराहरूका बीचमा  कताबाट यो कलह आइलाग्यो ?’ भनी तान बुन्दै शोकमात्र गर्दै बस्न थाली । आमा कान्छो छोरो नाम्सामीलाई जोगाउन खोज्दथी, तर केसामी भने मारेर धीत मरुन्जेल खान खोज्दथ्यो।

आमाले कहिले औलको खोंचतिर कहिले माथि लेकतिर नाम्सामीलाई लुक्न पठाउँथी । नाम्सामी तल औलमा लुक्न गएका बेला आमाले ‘तेरो भाइ त माथि लेकमा गएको छ है’ भनिदिन्थी । यसरी नै नाम्सामी लेकतिर गएका बेला ‘तेरो भाइ त तल औलमा पो गएको छ है’ भन्दै ढाँटेर त्यता पठाइदिन्थी । केसामीले भाइलाई कहिले पनि भेट्न सकेन । त्यसो हुँदा उसलाई औधी रिस उठ्यो । ‘आमा मलाई ढाँट्यौ’ भनेर आमालाई नै झन्डै खायो।

केसामी भुइँमा बजारिन त बजारियो, तर मर्‍यो कि मरेन नाम्सामीले खुट्याउन सकेन । भुइँमा राम्ररी हेर्दा दाजुका जुँगाहरू बतासले हल्लेको देखी ‘मेरो दाजु त अझै मरेको रहेनछ’ भनेर रुखमाथि नै बसिरह्यो।

एकदिन केसामी लेकतिर गएको थियो । तिगेन्जङ्नाले नाम्सामीलाई भनी, ‘अब त तेरो दाजुलाई सधैं ढाँट्न सक्दिन, म । ढाँट्दाढाँट्दा मेरो त मासी नै गलिसक्यो । तँ अब उँधो औलमा गएर धनु–काँड लिएर सिमलको रुखको नौ तलामाथि चढेर लुकी बस् है । तेरो दाजु आयो भने तलै पठाइदिन्छु, नत्र भने आज त मलाई नै मारेर चपाइ खानेछ।’

केहीबेरपछि घर आइपुगेको केसामीले रिसले आँखा नहेरी आमासँग भन्यो, ‘आमा, आजसम्म ढाँट्यौ मलाई, भाइ कतातिर गएको छ ? साँच्चो बताऊ, नत्र भने तिमीलाई नै खान्छु।’

बिचरी तिगेन्जङ्नाले तान बुन्दै आँसु पुछेर ‘उँधोतिर गयो’ भनी नाम्सामी गएको दिशातिर देखाइदिई । केसामी तत्क्षण भाइलाई खोज्न औलतर्फ हिँडिहाल्यो।

तिगेन्जङ्नाले बाबरी र सिल्लरीका फूल ल्याएर आफ्नो अगाडि रोपी । बाबरीको फूल केसामीको तथा सिल्लरीको फूल नाम्सामीको भनेर नाम लगाई दिई । ‘बाबरी फूल मरेछ भने केसामी मर्ला, सिल्लरीको फूल मरेछ भने नाम्सामी मर्ला’ भनी बाचा बाँधी । सुर्ता गर्दै तान बुन्दै ती फूलहरू मात्र हेरेर बसीरही।

तल भने केसामीले भाइ नाम्सामीलाई सिमलको रुखमाथि लुकेर बसेको देख्यो । ‘आज खानेकुरा भेटें’ भन्दै केसामी रुखमाथि चढ्न थाल्यो । रुखमाथि नाम्सामी भने के गरौं कसो गरौं भई डरले अत्तालिन थाल्यो । घरमा नाम्सामीको प्रतीक सिल्लरीको फूल ओइलाएको देखि आमा झन्झन् व्याकुल भएर रुन थाली।

‘अब मेरो दाजुले मलाई मार्ने नै भएछ । तैपनि लरतरो ढंगले त म मर्दिनँ । यो जिउ जसरी भए पनि जोगाउँछु । बचाउनै नसके त के गर्ने, मर्नैपर्‍यो,’ यस्तो कुरा मनमा सोचेर धनुमा काँड चढाई केसामीलाई हान्न थाल्यो । एकचोटि हान्यो, त्यो काँड केसामीले छल्यो, दोस्रो पटक पनि छल्यो । तेस्रो पल्ट पनि हान्यो, लागेन अनि चौथो पल्ट हानेको काँड पनि छल्यो । केसामी बाणहरू छल्दै सिमलको रुखमा माथिमाथि चढ्दै गयो । माथि घरमा भने सिल्लरीको फूल झन्झन् ओइलाएर जान थाल्यो । आमाको पनि सुर्ताले आधा मासु भयो।

नाम्सामीले पाँचौं, छैटौं, सातौं र आठौं पटक हानेका वाणहरू पनि छल्दै केसामी त भाइको सामुन्ने पुग्न आँटिहाल्यो । नाम्सामीको हातमा भने अब यौटा मात्र वाण उब्रेको थियो । एकैछिन विचार गर्‍यो । त्यति बेलासम्म केसामी उसको  सामु पुग्यो । एकपल्ट जोडले गर्जेर भाइलाई झम्टिन तम्तयार हुँदानहुँदै नाम्सामीले भन्यो, ‘दाजु, मैले कति मिलेर बसौं भन्दा पनि तिमी मानेनौ । मलाई मार्न खान मात्र खोज्यौ । कति भागें तर उम्कन सकिनँ, आज त भेटिहाल्यौ । खाने नै हो भने किन दुःख दिएर मार्छौ, बरु आँखा चिम् पारी मुख आँ.....गर, तिम्रो मुखभित्र आफैं म उफ्रेर पस्छु।’

नाम्सामीको यस्तो कुरा सुनेर केसामी मनमनै खुब रमायो । ‘साँच्चै नै यौटा मान्छे मेरो मुखभित्र पसे... त ...’ भन्दै खुसीले आँखा सकेसम्म चिम्म पारेर मुख पनि सकेसम्म आँ गरी उघार्‍यो । त्यसैबेला नाम्सामीले उब्रेको त्यो यौटा बाण धनुमा चढाई सक्दो तन्काएर दाजुको मुखभित्र प्रहार गर्‍यो । वाण केसामीको मुखबाट पसेर तल उसको मलद्वार छिचोलेर बाहिर निस्क्यो । केसामी रुखका हाँगाहरू लाछ्दै तल भुइँमा ढ्याङङ ठूलो आवाजसित पछारियो । माथि घरमा भने बाबरी फूल झ्याप्पै ओइलाई भुइँमा लतारियो । केसामी मरेछ भनी आमाले बुझी । यौटै भुँडीबाट जन्मेका सन्तानमा यस्तो कलह उब्जेको देखि आमालाई साह्रै विरक्त लाग्यो।

केसामी भुइँमा बजारिन त बजारियो, तर मर्‍यो कि मरेन नाम्सामीले खुट्याउन सकेन । भुइँमा राम्ररी हेर्दा दाजुका जुँगाहरू बतासले हल्लेको देखी ‘मेरो दाजु त अझै मरेको रहेनछ’ भनेर रुखमाथि नै बसिरह्यो । पछिपछि त केसामीको सिनुबाट झिँगाहरू भननन उड्न थाले । एकपल्ट हरियो झिँगा केसामीको मुखबाट पसेर उसको मलद्वारबाट बाहिर निस्कियो र रुखमाथि नाम्सामीको नाककै सीधाबाट उड्दै गयो । त्यसबेला हरियो झिँगा गन्हायो । तब मात्र मेरो दाजु मरेछ भनी नाम्सामी भुइँमा ओर्लियो । उसको दाजु त मरेर कुहुन लागिसकेको थियो।

केसामीले मार्न जति नै बल गरेको भए पनि आखिरमा मान्छेको मन त हो, नाम्सामी दाजुको लाशमाथि कता हो कता रोयो । आमाको एउटै गर्भबाट जन्मेको दाजुलाई ऊ साह्रै माया गर्थ्यो । केसामीको छाला काढेर ‘पछि धरती तलमा आफ्ना वंशजहरूले केसामी र नाम्सामीको सम्झना गरुन्’ भनी दाजुको स्मृतिमा त्यो छालाको च्याब्रुङ बनाएर छाडिराख्यो । च्याब्रुङ बजाउँदा आज पनि घुरुङ घुरुङ गरी बाघ गर्जे झैं बज्छ । यही च्याब्रुङ आजकाल लिम्बू जातिको जातीय बाजा भएको छ।

(‘सयपत्री’ पूर्णांक १२ बाट साभार)

पढ्नै पर्ने