पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई अदालतले भ्रष्टाचारी ठहर्‍यायो

नेपाल लाइभ

Nepal Live

इस्लामावाद- अदालतबाट बर्खास्तीमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ।

पानामा पेपर्स प्रकरणमा परेका सरिफलाई अदालतको फैसलासँगै जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन्। 

नाम नबताउने सर्तमा ती अधिकारीले एएफपीलाई भने, 'नवाज सरिफलाई मात्रै नभई उनकी छोरी र ज्वाइँलाई पनि अदालतले दोषी ठहर गरेको छ। छोरी र ज्वाइँलाई लन्डनको सम्पत्ति सम्बन्धी मुद्दामा दोषी ठहर गरिएको हो।'

दोषी ठहर गरिएकी सरिफकी छोरी मार्यामले भने अदालतको फैसला अस्वीकार गरेकी छिन्। उनले अदालतको फैसला निराधार रहेको बताइन्। 

'अदालतको फैसला निराधार मात्रै छैन, निकै तुच्छ पनि छ, निष्पक्ष न्याय पाउने हाम्रो अधिकार हो, पूर्वाग्रही फैसला हामी मान्दैनौं,' मार्यामले अदालतको फैसालापछि प्रतिक्रिया दिँदै भनिन्। 

भ्रष्टाचारको मुद्दामा छानबिन गर्न भन्दै अदालतले गत जुलाईको अन्त्यतिर सरिफलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो।

पाकिस्तानको ७० वर्षको इतिहासमा प्रधानमन्त्रीको पूर्ण कार्यकाल नै पूरा नगरी बाहिरिनु परेका प्रधानमन्त्रीहरु मध्ये सरिफ १५औ प्रधानमन्त्री हुन्।

उनी र उनको परिवारले पदको दुरुपयोग गरी अत्यधिक विलासी जीवनशैली अपनाएको, लन्डनमा अकुत सम्पत्ति संकलन गरेको लगायतको विवरणसहितको समाचार गत वर्ष पानामा पेपर्सले सार्वजनिक गरेको थियो। 

पढ्नै पर्ने