छोरी मरियम र ज्वाइँसहित पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफविरुद्ध भ्रष्टाचारको मुद्दा

नेपाल लाइभ

Nepal Live


एजेन्सी - छोरी मरियम नवाज र ज्वाइँ मोहम्मद सफदरसहित पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाजविरुद्ध विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा चलाउने भएको छ।
राजधानी इस्लामाबादस्थित अदालतले उनीहरूमाथि भ्रष्टाचारको मुद्दा चलाउने तयारी गरेको हो। सरिफका ज्वाइँ सेनाका अवकाशप्राप्त क्याप्टेन हुन्। 

तीनैजनाविरुद्ध बेलायती राजधानी लन्डनमा घरको स्वामित्वसम्बन्धी एउटा मामिलामा भ्रष्टाचारको मुद्दा चलाउने लागेको हो।

बिहीबार भएको सुनुवाइका दौरान सरिफ र उनका छोरी ज्वाइँविरुद्ध अदालतले अभियोग लगाएको हो। 

भ्रष्टाचारसम्बन्धी अरु दुई मुद्दाको बिहीबार नै भइरहेका सुनुवाइमा पनि उनीहरूविरुद्ध अभियोग लाग्नसक्ने सञ्चारमाध्यमले जनाएका छन्।

अदालतले भ्रष्टाचार अभियोगमा मुद्दा चलाउने भएपछि सरिफकी छोरी मरियम नवाजले आफू डराएर नभाग्ने र आरोपको डटेर सामना गर्ने बताइन् । उनले भनिन्, ‘हामी मुद्दाबाट डराएर विदेश भाग्ने मानिस होइनौं, सामना गर्न स्वदेश आउने मानिस हौं । हामी अदालत र कानुनको सम्मान गर्छौं । हाम्रा लागि अदालत कुनै हाउगुजी होइन।’

सरिफ अहिले बेलायतमा छन् । सरिफ, मरियम र सफदरले अदालतमा आफूहरूविरुद्धका आरोप खारेजीको अपिल गरेका थिए । अदालतले उनीहरूको अपिल अस्विकार ग¥यो।
६७ बर्से सरिफलाई गत जुलाईमा त्यहाँको सर्वोच्च अदालतले स्रोत नखुलेको र अकूत सम्पत्तिसम्बन्धी मुद्दामा प्रधानमन्त्री पदका लागि अयोग्य ठहराएको थियो । अदालतको फैसलापछि सरिफ पदबाट राजीनामा दिन बाध्य भएका थिए।

पढ्नै पर्ने