एनआरएनको पाँचौ अध्यक्ष भवन भट्ट, बद्री केसी महासचिव निर्वाचित

निमेष जंग राई

Nepal Live

काठमाडौं– भवन भट्ट गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा निर्वाचित भएका छन्। 

सोमबार भएको एनआरएनको आठौं साधारणसभामा उनी आफ्ना प्रतिद्वन्दी निवर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुना गुरुङलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्। 

मंगलबार बिहान करिब ३ बजे अन्तिम मतपरिणाम सार्वजनिक भएको थियो। भट्टले १ हजार १ सय ९७ मत प्राप्त गरे भने गुरुङले ५ सय ९४ मत प्राप्त गरिन्। सोमबार राति सवा ११ बजे सम्पन्न मतदानमा १ हजार ८ सय ३५ मत खसेको थियो। 

यस्तै, महासचिवमा डा. बद्री केसी विजयी भए। उनले ७ सय ६७ मत प्राप्त गरे। उपाध्यक्षमा महिलातर्फ सोपिला राजभण्डारी १ हजार ८४ मत ल्याएर विजयी भइन्। बाँकी २ उपाध्यक्षमा कुमार केसी १ हजार ३४ र कुल आचार्य ७ सय ४४ मत ल्याएर विजयी भए। 

सचिव पदमा डिबी क्षेत्रीले ७ सय ८६ र जानकी गुरुङले ७ सय ५५ मत ल्याएर विजयी भए। कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा निर्वाचित भएका छन्। 

नवनिर्वाचित अध्यक्ष भट्ट यसअघि दुई कार्यकालसम्म उपाध्यक्ष थिए। उनी उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने र शेष घलेपछि एनआरएनको पाँचौ अध्यक्ष नियुक्त भएका हुन्। भट्टको जापानमा होटल व्यवसाय छ। 

यो पनि पढ्नुस्: को हुन् एनआरएन अध्यक्षमा निर्वाचित भवन भट्ट? यस्तो छ उनको संघर्ष-कथा

पढ्नै पर्ने