सरकारबाट बाहिरिन पार्टी निर्णय कुर्दै माओवादी मन्त्री

दुर्गा दुलाल

Nepal Live

काठमाडौं– नेपाली कांग्रेसले सरकारमा कमल थापा नेतृत्वको राप्रपालाई भित्र्याएपछि माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता हुनका लागि पार्टी निर्णय पर्खिरहेका छन्।

सत्तामै रहेको समयमा विपक्षी एमालेसँग वामपन्थी गठबन्धन निर्माण गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई सरकारमा ल्याएका थिए। माओवादीले सम्हालेका मन्त्रालय दिने सहमतीका आधारमा राप्रपा सरकारमा आएकाले बिना विभागिय मन्त्री बनाउने सरकारको तयारीपछि उनीहरु पार्टीको निर्णय कुरेर बसेका हुन्। हाल सरकारमा माओवादीका तर्फबाट उपप्रधानसहितको गृह मन्त्रालय लगायतको महत्वपूर्ण जिम्मेबारीमा रहेका छन्।

माओवादीका तर्फबाट हाल सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी कृष्णबहादुर महराले सम्हालेका छन्। यस्तै, जनार्दन शर्माले गृह, गिरिराजमणी पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा, शिवकुमार मण्डलले आपूर्ति, टेकबहादुर बस्नेतले सामान्य प्रशासन र आशा कोइरालाले महिला बालबालिका मन्त्रालयको जिम्मेबारी सम्हालीरहेका  छन्।

प्रधानमन्त्री देउवाले राप्रपालाई गृह, उद्योग, सहरी विकास र आपूर्ति मन्त्रालयको जिम्मेबारी दिने तयारी गरेका छन्।  तर माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारलाई दिएको सर्मथन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने विषयमा कुनै निर्णय नगर्ने बताइन्। तर अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसँग कुराकानी गरेरमात्र निर्णय गर्ने सोमवार संसदिय दलको बैठकमा बताए थिए।

सरकारलाई दिएको सर्मथन फिर्ता नलिएकाले प्रधानमन्त्री देउवाले हटाउन नसक्ने तर्क अध्यक्ष दाहालले संसदीय दलको बैठकमा गरेका थिए। सरकार निर्वाचन गर्न गठन भएकाले निर्वाचनपछि विस्थापन हुनेमा ढुक्क हुन उनले सांसद र नेताहरुलाई आग्रह गरेका थिए।

सरकारबाट आफ्ना मन्त्रीहरुलाई हटाउन पार्टीसँग सल्लाह लिनुपर्ने र उक्त विषयमा कुनै कुरा नभएको अध्यक्ष दाहालले संसदीय दलको बैठकमा बताएका थिए। तर माओवादी मन्त्रीहरु भने सरकारबाट बाहिरिन पार्टीको औपचारिक कुरेर बसेको टिप्पणी गरिरहेका छन्। नेपाल लाइभसँग कुरा गर्दै एक मन्त्रीले आफू सरकारबाट बाहिर हुन तयार रहेको तर पार्टीको औपचारिक निर्णय पर्खेर बसेको बताए।

पार्टीको निर्णय बिना  सरकारबाट बाहिर निस्कन नमिल्ने भएकाले केही दिनमा निर्णय हुन सक्ने उनले बताए। माओवादीका अध्यक्ष दाहालले सरकारवाट बाहिरिने विषयमा प्रधानमन्त्री देउवासँग कुरा गर्न खोजे पनि दिनभर व्यस्त रहेकाले सम्भव भएको थिएन।

मंगलबार प्रधानमन्त्रीसँगको भेटपछि उचित निर्णय लिने तयारीमा दाहाल रहेका छन्। एमालेसँगको सहकार्य तोडेर नेपाली कांग्रेसको नेतृत्वमा तत्कालीन सरकार गठन गरेर दाहालले देउवालाई सत्ता जिम्मा लगाएका थिए। उक्त गुनको पैचोको रुपमा सरकारबाट मन्त्री हटाउन दबाब नदिने विश्वासमा दाहाल रहेका थिए। तर सत्तामा कमल थापाको प्रवेशसँगै उनी दोधारमा परेका थिए।

पढ्नै पर्ने