नेपालको ओपनिङ जोडी फेरि फ्लप, ११ खेलमध्ये कुनैमा कटेन ५० रन 

सीताराम कोइराला 

Nepal Live

सागर र ज्ञानेन्द्र हङकङ विरुद्ध ओपनिङका लागि जाँदै


काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपमा नेपालले अहिलेसम्म ११ खेल खेलिसकेको छ । ११ मध्ये नेपालले ४ खेलमा जित हात पारेको छ भने ६ खेलमा पराजित भएको छ।

नेपालले हार बेहोरेका सबै खेलको एउटै कारण ब्याटिङ बन्ने गरेको छ । शुक्रबार हङकङ विरुद्धको खेलमा पनि नेपाल ब्याटिङकै कारण पराजित हुनु पुग्यो । १ सय ९५ रनको पछ्याएको नेपाल १ सय ११ रनमै अलआउट भयो। 

खेलमा ८३ रनले पराजय भोगेसँगै डब्लुसिएल च्याम्पियनसिपमा शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने नेपालको लक्ष्य लगभग सकिएको छ। 

ब्याटिङमा कमजोर देखिएको नेपालले डब्लुसिएलका ११ वटै खेलमा अहिलेसम्म ५० रनको ओपनिङ गर्न सकेको छैन । शुक्रबार हङकङ विरुद्धको खेलमा नेपालको केवल १० रनको ओपनिङ गरेको थियो । सागर पुन ३ रनमा आउट भएका थिए भने ज्ञानेन्द्र मल्लले २१ रन जोडे।

डब्लुसिएलमा लगातार ओपनिङमा समस्या देखिएपछि नेपालले छैटौं पटक ओपनिङ परिवर्तन गरेको थियो । प्रशिक्षक जगत टमाटाले हङकङ उड्नुअघि राम्रो खेलाडीलाई ओपनिङमा मौका दिइएको नेपाल लाइभलाई बताएका थिए । तर, टमाटाको विश्वास फेरि एकपटक पूरा हुन सकेन।

सम्बन्धित समाचार- डब्लुसिएल च्याम्पियनसिप : छैटौं पटक नेपालको ओपनिङ जोडी परिवर्तन हुँदै

नेपालको ओपनिङ जोडीले डब्लुसिएल च्याम्पियनसिपमा गरेको अहिलेसम्मको ठूलो ओपनिङ ४४ रनको हो । स्कटल्यान्ड विरुद्धको पहिलो खेलमा अनिल मण्डल र महेश क्षेत्रीको ओपनिङ जोडीले ४४ रनको ओपनिङ गरेको थियो । त्यसपछिका १० खेलमा नेपालका ओपनरले एकपटक ४० रन कटाएका छन् । ११ खेलमा नेपालले चार पटक दोहोरो अंकको रनमा ओपनिङ गर्न सकेको छैन। 

ओपनिङ फ्लप भए पनि नेपालका ओपनरले डब्लुसिएलमा शतक बनाउने रेकर्ड बनाएका छन् । स्कटल्यान्ड विरुद्धको खेलमा ओपनर अनिल मण्डलले शतक बनाएका थिए । यो खेलमा महेश क्षेत्रीले २१ रन जोडेका थिए । यो नै नेपालका ओपनरले गरेको राम्रो प्रदर्शन हो । दोस्रो खेलमा महेश ३ तथा अनिल ९ रन जोडे। 

पपुवा न्यूगिनी विरुद्धको पहिलो खेलमा अनिल मण्डल शून्य रनमा आउट भएका थिए । सुवास खकुरेलले भने ६३ रन बटुलेका थिए । दोस्रो खेलमा अनिल र सुवास दुवै शून्य रनमा पेभेलियन फर्किए। 

नामिबिया विरुद्ध ओपनिङमा आएका ज्ञानेन्द्रले पहिलो खेलमा २१ रन जोडेका थिए । ज्ञानेन्द्रका ओपनिङ जोडी नरेश बुढाऐरले १६ रन बनाए । दोस्रो खेलमा ज्ञानेन्द्रले २२ तथा नरेशले ६ रन जोडे।

नेदरल्यान्ड्स विरुद्धको पहिलो खेलमा ज्ञानेन्द्रले ११ रन जोड्दा अनिल मण्डलले २० रन जोडे । दोस्रो खेलमा ज्ञानेन्द्रले ३९ तथा अनिलले ५ रन बटुले। 

केन्या विरुद्धको पहिलो खेलमा ज्ञानेन्द्रले २७ रन जोड्दा उनका ओपनिङ जोडी सुनील धमलाले ३ रन मात्र जोड्न सके । दोस्रो खेलमा ज्ञानेन्द्रले ६४ रन जोड्दा सुनील १ रनमै आउट भएका थिए। 

डब्लुसिएल च्याम्पियनसिपमा ओपनिङ:

हङकङ विरुद्ध – ज्ञानेन्द्र मल्ल र सागर पुन 
पहिलो खेल –  १० रनको साझेदारी 

केन्या विरुद्ध – ज्ञानेन्द्र मल्ल र सुनील धमला

पहिलो खेल – २१ रनको साझेदारी
दोस्रो खेल – ४ रनको साझेदारी

नेदरल्यान्ड्स विरुद्ध  – अनिल मण्डल र ज्ञानेन्द्र मल्ल

पहिलो खेल – २३ रनको साझेदारी
दोस्रो खेल – २२ रनको साझेदारी

नामिबिया विरुद्ध – ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐर

पहिलो खेल – ४२ रनको साझेदारी
दोस्रो खेल – २४ रनको साझेदारी

पपुवा न्युगिनी विरुद्ध – अनिल मण्डल र सुवास खकुरेल

पहिलो खेल – ० रनको साझेदारी
दोस्रो खेल – ३ रनको साझेदारी

स्कटल्यान्ड विरुद्ध –  महेश क्षेत्री र अनिल मण्डल

पहिलो खेल –  ४४ रनको साझेदारी
दोस्रो खेल – ८ रनको साझेदारी

पढ्नै पर्ने