गोविन्द केसीलाई आमाको पत्र: तिमीलाई कुनै पनि बेला पापीहरुले भोकै मर्न बाध्य पार्नेछन्

मित्रकुमारी

Nepal Live

प्यारो छोरा गोविन्द
शुभाशिष प्यार! 

तिमीले यो धर्तीमा आजकै दिन अर्थात ६१ बर्ष पहिले आँखा खोलेका थियौ । यही असोजको महिना हो अनि दिन पनि यही शुक्रबार नै हो । तिमी १३ सालमा जन्म्यौ । अहिलेसम्म १३ पटक अनशन बसेका छौ। 

तिमी त्यो अस्पतालको चिसो छिडीमा बसेर सत्याग्रह गरी अन्न पानी सब छोडेर निराहार बसेका छौ, म त्यहाँसम्म आएर आशीर्वाद दिन सक्तिनँ।

तिमीलाई थाहा छ, तिम्री आमा रोगी छ, वृद्ध छ।  हात-पाउ राम्रोसँग चल्दैन । त्यसैले म त्यहाँ आएर तिम्रो माथमा हात राखेर आशीर्वाद भन्न सकिनँ। 

मलाई माफ गर बाबू । मैले यहि चिठी लेख्न लगाएर आशीर्वाद दिए । आशीर्वाद त मैले तिमीलाई कहिले नदिएको छु र ? अस्ति दशैंमा पनि दिएकै हो। 

जसरी म आज रोगी छु, अशक्त छु, त्यसैगरी यो देशमा धेरै धेरै रोगी अशक्त बाबुआमाहरू छन् । दाजुभाइ र दिदीबैनीहरु छन् । तिनीहरुको लागि गरेको तिम्रो तपस्याले सार्थकता पाउने छ, ती दीनहीन दु:खी नेपालीको आशीर्वाद तिमीलाई लाग्ने छ बाबू। 

तिमी मेरो छोरा भएर आयौ तर सम्पुर्ण नेपालीको छोरा, दाजुभाइ र आफन्त बन्दै छौ, म यसैमा खुसी छु । तिम्री जन्म दिने आमा भएकोमा मलाई कम गर्व लागेको छैन। 

प्रिय छोरा, 

तिमी अलि बोल्ने र जान्ने भएपछि भन्ने गर्थ्यौ– आमा म डाक्टर बन्छु र यो देशको सेवा गर्छु । जब तिमीले डाक्टर पढ्न छात्रवृत्ति पायौ, हामी सबै परिवार, आफन्त, नातागोता कति खुसी भएका थियौं । सो खुसी आजको दिनसम्म आउँदा बढेर देश नै ढाक्ने भैसक्यो । हामी खुसी छौं बाबू खुसी! 

तिम्रो बुबा बाँच्नु भएको भए आज कति खुसी हुनुहुन्थ्यो होला ? म आज तिम्रो बुबालाई पनि सम्झी रहेको छु । उहाँ सधैं भन्ने गर्नुहुन्थ्यो– दुःख पाएका मान्छेलाई सधैं माया गर्नुपर्छ, सकेको सहयोग गर्नुपर्छ, परोपकारी बन्नुपर्छ । हो आज मेरो परोपकारी छोरोको कर्मले मेरो मात्र होइन, सारा नेपालीको मुहारमा खुसी र आशाको सञ्चार गराएको छ। 

तिम्री आमा हुनुको नाताले मैले तिमीलाई मेरो दूध खुवाएर हुर्काएँ, बढाए । तर, यही माटोबाट नै मैले खाने कुरा प्राप्त भयो । तिमीलाई चाहिने पोषण यही धूलो र माटोबाट नै प्राप्त भयो । त्यसैले यो माटोप्रति तिम्रो कर्तव्य छ। हरेक प्राणीको आफू जन्मेको माटोप्रति कर्तव्य, दायित्व र ममता हुन्छ । तिमी आफ्नो माटो र परिवेशलाई माया गर्छौ । म एकदम खुसी छु बाबू, तिम्रो सुकर्मप्रति। 

प्रिय छोरा, 

तिमीले आजसम्म दर्जनभन्दा बढी पटकपटक निरहार, निर्जल व्रत गरेर नेपाल र नेपालीको लागि आफ्नो ज्यान त्याग्न तयार भयौ, छौ। यो कुराले म पहिले पहिले त दुखी बनें र भएँ। तर, बुझ्दै जाँदा थाह लाग्यो, तिमी त सत्कर्म र परोपकारी बाटोमा रहेछौ। 

हामीले सानैदेखि तिमीलाई जे सिकायौं, जे देखायौं, जुन परिवेश दियौं, जसरी र जहाँ राखेर पढायौं त्यसबाट पनि तिमीले धेरै कुरा सिक्यौ । र, आफूमा आत्मसात् गर्‍यौ । त्यो शिक्षाको लागि भूमिका खेल्ने मेरा परिवार, आफन्त, नातागोता सबैलाई म धन्यवाद दिन चाह्न्छु। 

यतिबेला मैले पनि मलाई जन्म दिने आमाको सम्झना गरेको छु, जसले तिम्रो बाल्यकाललाई सुखद बनाइदिनुभयो। 

प्रिय छोरा, 

आज तिम्रो जन्मदिनमा तिमीलाई लाखौं नेपालीले आशिर्वाद दिनेछन् । जसका लागि तिमी भोकै मर्न तयार छौ । म पनि तिम्रो यो सत्याग्रहलाई सफल पार्न अहोरात्र खटने सबैलाई हार्दिक धन्यवाद र आशीर्वाद भन्न चाह्न्छु । सबै-सबैलाई म बूढीको आशीर्वाद र मंगल कामना छ। 

बाबू गोविन्द, 

तिमीप्रति मेरो कुनै गुनासो र असन्तुष्टि छैन । तिमीले जे गरेका छौ, देश र जनताको लागि गरेका छौ । जनहितमा लाग्दालाग्दै मरेछौ भने पनि म शोकाकुल बनेर बस्दिनँ । मलाई थाहा छ, तिमीलाई कुनै पनि बेला पापीहरुले भोकै मर्न बाध्य पार्नेछ्न् । छोरा, हिम्मत नहार । सत्यको जित भएर नै छाड्छ । सानैदेखि सत्यको मार्गमा हिँड्न रुचाउने तिमी आज पनि झन् कठिन तर पुण्य आर्जन गर्ने बाटोमा छौ । तिम्रो सफलताको लागि भगवानसँग दुई हात जोडी प्रार्थना गर्छु। 

मेरो बाबू, मेरो छोरा, 
तिमीले के गरेको सबै कुरा त म जान्दिनँ तर तिम्रो कर्मले देश र जनताको हित हुनेछ भन्ने चैं जान्द्छु । तिम्रो दीर्घायु र सु–स्वास्थ्यको कामना गर्दै बिदा मागे। 

तिमीलाई धेरै धेरै शुभकामना छोरा। 

उही तिम्री आमा- मित्रकुमारी

पढ्नै पर्ने