मनास्लुमा एक्लो सफर : एक्लोपन बिर्साउने ८ दिन

सन्तोष पोखरेल

Nepal Live

सास फुल्ने हिमाली यात्रामा निस्किनु थियो, यात्राको सुरुवातमै दम फुल्यो। 

दशैंको मुखमा दुई दिनसम्म बिहान ४ बजे नै उठेर जाँदा पनि गोरखा आरुघाटको टिकट पाइएन । लाइनमा खुसुखुसु छिर्नेले मेरो कोटाको टिकट जिप्ट्याए । जिल्ल मात्र पर्न सकियो। आफ्नो हक पाउन बबाल गरुम् जस्तो लागे पनि हिम्मत भने जुटेन।

अब प्लान बी लागू गर्ने एकल निर्णय गरियो । असोज ९ गते आधा दिन कार्यालयको काम गरेर लागियो गोरखा बजारतिर । चाँडै पुगिए पनि दशैंका लागि गाउँ जान थुप्रिएका मान्छेहरुका कारण होटल पाउन अलि कसरत गर्नुपर्योै । भोलिपल्ट आरुघाट जाने टिकट अघिल्लो दिन नै भाइ पुरञ्जनले मिलाइसकेकाले केही ढुक्क थियो।

बस भोलिपल्ट ११ बजेतिर बल्ल गन्तव्यतिर गुड्यो । कच्ची बाटोको एडभेन्चर यात्रा र मध्यपहाडी राजमार्गको सजिलो सडकको मज्जा लिँदै लिँदै आरुघाट पुगियो। 

आरुघाटबाट फेरि सोतीसम्मको एडभेन्चर यात्रा सुरु भयो । आर्खेतमा हामी चढेको बस झन्डै खोलामै पौडी खेलेको ! सोती पुगेपछि भने बस यात्रा सकियो । यो यात्राको सबैभन्दा रमाइलो पाटो थियो, चार वर्षीया रेसिका भट्टसँगको भेट । चटरपटर बोलिरहने उनको गफ सुन्दा यस्तो लाग्यो, ‘पल्पसा क्याफे’ उपन्यासमा आफ्नो मितिनी भेट्न जाँदै गरेकी फुच्ची अरु कोही नभएर यिनै हुन्। 

एक्लै यात्रा गर्दाको झुर पक्ष भनेको आफू भुलक्कड भइयो भने सम्झाउने कोही हुँदैन। 

अघिल्लो दिन सोती माथिको खुर्सानीबारी गाउँमा बास बसेर बिहान हिँड्दा नौले झरनामा पानीको बोतल र माछीखोला गाउँमा खाना खान रोकिँदा चप्पल र विन्डचिटर छोडेछु।

बाटोमा दशैं मनाउन जाँदै गरेका केही भाइ–बहिनीसँग गफिँदै हिँड्दा कतिबेला दोभान पुगियो, पत्तै भएन । दोभानमा होटलहरुको सुविधा राम्रो भएकाले यतै बसियो। 

मनास्लु ट्रेकभरि बुढीगण्डकी कैयौं पटक तर्नुपर्छ । कहिले नदी वारि र कहिले पारिबाट यात्रा गर्नुपर्दा घरि दिक्क लाग्थ्यो भने घरि रोमाञ्चित पनि भइन्थ्यो । कति ठाउँमा नदी डरलाग्दो गरी उर्लेको देख्दा सातो जान्थ्यो। 

अँध्यारोमा आफ्नै छायाले पनि छल गर्छ रे भन्ने भनाइ यो एकल यात्रामा सान्दर्भिक हुन आयो । हल्का बतास चल्दा सुसाउने सल्ला र पात–पतिंगरले समेत तर्साए । आफूले नचिनेको ठाउँ, जंगलको बाटो र झमक्क साँझमा एक्लै हिँड्न बडो गाह्रो भयो । अझ त्यस्तो एडभेन्चर सकेर होटेल पुग्दा होटेल साहुजीले जंगलमा भएका घटनाहरुको शृंखला सुनाउँदा त आफूले ठूलै युद्ध जितेर आए जस्तो अनुभूति हुने रहेछ।

दशैंको बेला यात्रा गर्दा घरपरिवारबाट टाढा त भइयो, तर चाडको स्वाद र बास्नाले फूलपातीकै दिन पछ्यायो । बास बसेको होटलमा परिवारका लागि बनाएको मासु–भात आफूलाई पनि भाग लगाइँदा आँखासँगै मुख पनि रसायो । झोलदार मासु र भात स्वादले खाइयो।

यसबीच दोभानबाट जगत, ठूलो ढुंगा, सिर्दिवास, फिलिम, चिसापानी, एक्लेभट्टी, घम्पुल र न्याकफेदी हुँदै पेवा गाउँसम्मको यात्रा छिचोलिएको थियो । जगत गाउँ मनास्लु सर्किटको प्रवेशद्वार हो । एक्यापको अफिस रहेको यही ठाउँमा सबैभन्दा पहिले विदेशी पदयात्रीको परमिट चेक गरिन्छ। 

माछीखोला पुग्नुअघि पहरामा ड्रिल गरेर बनाइएको स्विसमोडलको क्यान्टिलिभर पुलको रोमाञ्चक यात्रा पनि गरियो।

अबको यात्रा नाम्रुंग सम्मको थियो । बिही गाउँ पुग्दा एक्कासी फोन बजेपछि थाहा भयो, यहाँ नेपाल टेलिकमको जिएसएम नेटवर्क टिप्ने रहेछ । देङ, बिही गाउँ, घाप सल्लेरी हुँदै नाम्रुंग पुग्दा ५ बजे बज्यो । अघिल्लो दिन साँझमा यात्रा गर्दा डरले सातो गएपछि अबदेखि ५ पछि कुनै हालतमा नहिँड्ने निर्णय गरिसकेको थिएँ। 

नाम्रुंगमा भर्खरै मनास्लु चढेर फर्केका सोलुतिरका शेर्पा भाइ भेटिए । लार्के पास मात्र गर्ने सोचले हिँडेको मलाई उनैले मनास्लु बेसक्याम्पसम्म जान सुझाए । १६ वर्षे ठिटो पहिलो प्रयासमै मनास्लुको सफल आरोहण गरेकाले होला, निकै उत्साहित देखिन्थे । उनी भन्दै थिए, ‘अब अर्को सिजनमा त सगरमाथा चढ्ने हो।’

यो पनि हेर्नुहोस् - मनास्लु यात्राका मनोरम तस्बिर  (फोटो फिचर)

भोलिपल्ट बिहानै हिँड्ने तयारी गर्दै होटलमा खाजा खाइवरी पैसा तिरेँ । हिसाब आयो, ५ सय रुपैयाँ मात्रै । अघिल्लो दिन कुरा हुँदा कोठाकै तीन सय भनेका थिए । अझ बेलुकाको खाजा र खाना अनि बिहानको चिया–खाजा जोड्दा करिब ८–९ सय पुग्ला भन्ने मेरो अनुमान थियो । कुरा बुझ्दा कोठाको तीन सय त खानासहितको रहेछ। 

अबको यात्रा सामागाउँसम्मको थियो। बिहान नाम्रुंगबाट भन्जामको गहुँ खेतीको फाँट र चराचुरुंगी हेर्दै हिँड्दा मन शीतल भयो।

लिही हुँदै श्यो पुगेपछि एक जना लामासँग जिज्ञासा राखेँ, ‘अब श्याला पुग्न कति समय लाग्ला?’ 

‘धेरै छैन, मात्र पन्ध्र मिनेट हो’, जवाफ आयो । हेर्दा २०–२२ का देखिने उनीसँग एकछिन गफगाफ गरेपछि थाहा भयो, उनी भुटानका रहेछन् । ९ वर्षको उमेरमा एकजना लामाको साथ लागेर हिँडेको पनि ११ वर्ष भइसकेछ । उनले भुटानबाट परिवारका सबै सदस्यलाई ल्याएर नेपाल घुमाउने इच्छा सुनाए।

चासो लागेर सोधेँ, ‘दाइ हजुर कति पटक मनास्लु चढ्नुभो?’

मेरो सवालमा उनले सहजै भने, ‘खै, सगरमाथा नै २१ पटक चढियो।’

त्यसपछि उनीसँग एकछिन त बोल्ने आँटै भएन । मैले जसलाई प्रश्न गरेको थिएँ, उनी थिए थिए २१ पटक सगरमाथा चढेर आप्पा शेर्पाको रेकर्ड बराबरी गरेका प्रख्यात आरोही कामी रेता शेर्पा । उनीसँगै थिए, १० पटक सगरमाथा चढेका लाक्पा नुरु शेर्पा । नुरुले यही सिजनमा नै दुई पटक मनास्लुको आरोहण गरिसकेका रहेछन् । त्यसपछि उनीहरु सामागाउँ फर्किएका थिए । जब यस्ता हिमाल बुझेका आरोहीसँग गफ गर्ने मौका पाइन्छ, त्यस्तो मौका छोड्नु हुन्न । मैले जानेसम्मका जिज्ञासा राखेँ।

तिब्बती र नेपाली दुवै मोहडाबाट सगरमाथा आरोहण गरेका उनीहरुले आरोहीलाई गरिने व्यवहारमा उता र यताको अन्तर बताउँदा भने मन कुँडियो।

कामीरेता भन्दै थिए, ‘चिनियाँहरुले कडा अनुगमन गर्छन् र सफल आरोहीलाई बेसक्याम्पमै सम्मान पनि दिन्छन् । तर, हामीकहाँ त्यस्तो केही छैन।’

एउटै होटलमा बसेका हामीले कहिले हिमाल आरोहण सम्बन्धी गम्भीर कुरा त कहिले हँसीमजाक गरेर मध्यरात कटायौं।

त्यो ऐतिहासिक भेटको भोलिपल्ट मनास्लु बेसक्याम्पसम्मको यात्रा कम रमणीय रहेन।

बेसक्याम्पबाट सामागाउँ श्याला र ल्हो गाउँको दृश्य साह्रै चित्ताकर्षक थियो । बेसक्याम्पबाट वीरेन्द्र तालको मनमोहक दृश्य र आँखामै ठोक्किउँला झैं गरी उभिएको मनास्लु हिमालले यात्राको सबै थकान बिर्सायो। 

बोकेको पानी सकिँदा केही समय त सौन्दर्यले धान्यो । तर, प्याकप्याकी नै भएपछि पानी माग्न एउटा क्याम्पमा छिरेँ । त्यहाँ पानी मात्र ख्वाएनन्, चिया–खाजासहित मेजमानी नै गराए । बेसक्याम्पमा बितेको तीन घन्टा तीन सेकेन्ड जसरी बित्यो । त्यो साँझ सामागाउँ झरेर बास बसियो।

अबको गन्तव्य थियो धर्मशाला । समुद्री सतहदेखि ४,४८० मिटरमा रहेको त्यो स्थानमा पुग्न सामागाउँबाट शाम्दो हुँदै जानुपर्थ्यो । बुढीगण्डकीमाथिको काठे पुल तरेर शाम्दो हुँदै केही घन्टाको हिँडेपछि धर्मशाला पुगियो । त्यहाँ होटलको नाममा ढुंगाले गाह्रो लगाएको सानो घर मात्रै छ । सुत्नको लागि टेन्टको व्यवस्था गरिएको छ।

लार्के पासमा दिउँसो धेरै हावा चल्ने भएकाले सबै जना बिहानै लार्के पास गर्न दौडिँदा रहेछन् । तर, रातभरि पानी पर्दा राम्ररी सुत्न त पाइएन नै, बिहानै उठेर हिँड्न पनि सकिएन । ४ बजेतिर एक टोली निस्केपछि त्यसकै पछि लागेँ । राति पानी परेकाले होला, पूरै हिउँ परेको थियो । चिप्लिने डर उत्तिकै भएकाले चनाखो भएर हिँड्नुपर्थ्यो । त्यसमाथि घुँडा दुखेर निहुँ खोज्न थालेको थियो।

बिहान नौ बजेतिर लार्के पास पुगेपछि एकछिन फोटो खिचेर ओरालो झरियो।

बाटो चिप्लो भएकाले लार्के पासदेखि भिम्ताङसम्मको बाटो कहिले सकिएला झैं लाग्दै थियो । पोकंरताल पुग्दा हुस्सुले डम्म छोपिएको थियो ताल । मौसम खुल्ने प्रतीक्षा नगरी अघि बढियो।

उकालोमा जसोतसो हिँडे पनि ओरालो हिँड्दा भने घुँडा निकै चस्किन थाल्यो । दुखाइ सहँदै जसोतसो भिम्ताङसम्म पुगेँ । सामागाउँदेखि सँगै रहेका पैदल सहयात्री लेखक आदित्य अधिकारी र श्रद्धा घले भिम्ताङ बस्ने भए । म भने एकछिनको विश्रामपछि गोवा गाउँसम्म पुग्न सकिन्छ भन्ने सोचेर भिम्तांग नबसी अझै हिँड्ने मनस्थितिमा पुगेको थिएँ । दुखाइ कम गर्ने स्प्रे छर्किँदै भिम्ताङबाट सुर्तीगाउँ आएर बसियो। 

भोलिपल्ट धारापानी झरेर बेसीसहर आई काठमाडौं फिर्ता भइयो । थानकोट कटेर नैकाप ओरालो लागेपछि ट्विट गरेँ, ‘थानकोट पास नि गरियो।’

एक्लै पदयात्रामा निस्किए पनि मलाई कतै एक्लोपन महसुस भएन । बाटोमा स्थानीय बासिन्दाको माया, प्रख्यात आरोहीहरुसँगको भेट, अनेक जिज्ञासा राख्दा पनि झर्को नमानी जवाफ दिने गाइड र भरिया, गोरखा–आरुघाट बसयात्राकी फुच्ची लगायतका कारण यात्रा अविस्मरणीय बन्न पुग्यो।

पढ्नै पर्ने