अमेरिकापछि इजरायलले पनि युनेस्कोको सदस्यता त्याग्दै

नेपाल लाइभ

Nepal Live

एजेन्सी– अमेरिकापछि इजरायलले पनि संयुक्त राष्ट्र संघको सांस्कृतिक संगठन युनेस्कोको सदस्यता त्याग्ने भएको छ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले युनेस्कोबाट बाहिरिने तयारी गर्न विदेश मन्त्रालयलाई आदेश दिएको बताए।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युनेस्कोमाथि इजरायल विरोधी रबैया अपनाएको आरोप लगाउँदै सदस्यता त्याग्ने निर्णय गरेका थिए।

अमेरिकाले युनेस्कोमाथि पक्षपात गरेको आरोपसँगै यसको आर्थिक दायित्व अत्यन्त बढेकाले सुधार आवश्यक भएको औंल्याएको थियो।

इजरायली प्रधानमन्त्री नेतान्याहूले युनेस्कोबाट बाहिरिने अमेरिकी निर्णय बहादुरीपूर्ण र नैतिक भएको भन्दै प्रशंसा गरेका थिए। 

युनेस्कोले विश्वभर पुरातात्विक महत्वका सम्पदास्थल पहिचान र संरक्षण गर्छ।

सदस्यता त्याग्नु केही दिन अघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघलाई अमेरिकाले दिने रकम बढी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

अमेरिकाले राष्ट्र संघको सामान्य बजेटको २२ प्रतिशत र शान्ति स्थापना मिसनको २८ प्रतिशत रकम बेहोर्छ।

युनेस्कोकी प्रमुख एरिना बोकोभाले पछिल्ला केही वर्षयता युनेस्कोमा राजनीतिकरण बढेको स्विकारेकी छन्।

तर, युनेस्कोबाट हट्ने अमेरिकी निर्णय सन् २०१८ डिसेम्बरबाट लागू हुनेछ। त्यतिन्जेलसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्य रहिरहनेछ।

युनेस्कोबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयलाई अधिकांशले उनको ‘अमेरिका फस्र्ट’को नीति अख्तियारका रुपमा अथ्र्याएका छन्। 

तर, अमेरिका–युनेस्को विवाद युनेस्कोको इजरायल विरोधी रवैयाका कारण सिर्जना भएको विश्लेषकहरु बताउँछन्।

अमेरिका र इजरायल दुवैले गरेको युनेस्कोबाट बाहिरिने निर्णय युनेस्कोले निरन्तर चालेका केही कदमको विरोधस्वरुप आएको हो। 

हालै मात्र युनेस्कोले पूर्वी जेरुसलेम र वेस्ट बैंकमा इजरायलद्वारा जारी क्रियाकलापको आलोचना गरेको थियो। यसअघि यसै वर्ष युनेस्कोले प्राचिन हिब्रु सहरलाई प्यालेस्टाइनको विश्व सम्पदा स्थलका रुपमा मान्यता दिएको थियो। 
इजरायलले युनेस्कोको मान्यताले यहुदीहरू र इजरायलको इतिहास नै समाप्त पारिदिएको आरोप लगाएको थियो।

गत वर्षदेखि इजरायलले युनेस्कोलाई सहयोग गर्न छाडेको थियो। इजरायलीहरूले महत्वपूर्ण मान्ने जेरुसलेमको एउटा पवित्रस्थलबारे युनेस्कोले ल्याएको प्रस्तावमा यहुदीहरूको उल्लेख थिएन। 

सन् २०११ मा युनेस्कोले प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिने निर्णय गर्दा अमेरिकाले युनेस्कोलाई दिने सहयोग रकमको २२ प्रतिशत कटौती गरेको थियो।

युनेस्कोको संस्थापक सदस्य अमेरिकाले सन् १९८४ मा पनि भ्रष्टाचार र तत्कालीन सोभियत संघप्रति बढी झुकाव राखेको आरोप लगाएर सदस्यता त्यागेको थियो। त्यसबेला युनेस्को त्याग्ने निर्णय राष्ट्रपति रोनाल्ड रेगनले गरेका थिए।
फेरि, सन् २००२ मा अमेरिकाले युनेस्कोको सदस्यता लिएको थियो।

पढ्नै पर्ने