बाबुरामजीले ऐतिहासिक गल्ती गर्नुभयो : बलदेव

नेपाल लाइभ

Nepal Live

काठमाडौं– माओवादी केन्द्रका एक प्रभावशाली नेता चन्द्रप्रकाश खनाल (बलदेव) ले नयाँशक्ति संयोजक बाबुराम भट्टराईले गम्भीर गल्ती गरेको बताएका छन्। माओवादी जनमुक्ति सेनाका पूर्वलडाकू कमान्डर समेत रहेका बलदेवले भने, ‘बाबुरामजीले क्षमताभन्दा बढीको हैसियत खोज्नुभयो।’

सशस्त्र युद्धकालमा माओवादी सुप्रिमो प्रचन्ड (पुष्पकमल दाहाल) पछिका ४ प्रमुख लडाकु डेपुटी कमान्डर मध्येका एक बलदेव यसअघि दाहाल प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकार थिए। 

‘गोर्खालाई बाबुरामजीले आफ्नो पेवा सरह ठान्नु नै उहाँको ऐतिहासिक भूल हो। उहाँले कि काठमाडौंबाट प्रत्यक्ष वा समानुपातिकमा बस्ने निर्णय लिनुपर्छ। नत्र वाम एकतामा बाबुरामजी सहभागी नभए पनि खासै फरक पर्दैन।’

तर, उनले बाबुराम भट्टराईप्रति आफ्नो सद्भाव भने कायमै रहेको बताए। एमालेसँगको एकता प्रक्रियामा सहभागी रामबहादुर थापा (बादल) र वर्षमान पुन (अनन्त) ले पुरानो प्रतिशोध साँधेका कारण बाबुरामलाई गोर्खाबाट लड्न नदिने निर्णय गरिएको हुनसक्ने उनको तर्क छ।

‘मेरो विचारमा चाहिँ बाबुरामजीलाई बृहत् वामपन्थी एकताबाट बाहिर राख्नु हुदैन,’ उनले भने। बाबुराम भट्टराईमा वैचारिक क्षमता भएकाले पनि उनलाई सदुपयोग गरेर अघि बढ्नु वाम एकताको हितमा हुने उनले बताए। 

‘चेसको गोटीजस्तो चाल वामपन्थी आन्दोलनमा समाहित हुनेले चल्नु हुँदैन, सबैलाई क्षमता अनुसारको स्थान दिनुपर्छ,’ उनले भने।

पढ्नै पर्ने