डब्लुसिएल च्याम्पियनसिपको अंकगणित : अब नेपालको छनोट यात्रा के होला?

सीताराम कोइराला

Nepal Live

काठमाडौं–  विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको महत्वपूर्ण खेलमा पराजित भएपछि नेपाललाई एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा पुग्न कठिन बनेको छ।

छैटौं चरणको पहिलो खेलमा नेपाललाई हङकङले ८३ रनले पराजित गरेको हो। पराजयसँगै नेपालको शीर्ष चारमा रहेर एकदिवसीय विश्वपक छनोट खेल्ने अभियान संकटमा परेको हो। तर, औपचारिक रुपमा यो दाैडबाट नेपाल बाहिरिसकेको भने होइन। प्रतियोगिताको शीर्ष ४ मा पुगेर एक दिवसीय क्रिकेटको मान्यता पाउने नेपालको लक्ष्य पनि हङकङसँगको हारले धरमराएको छ।

लिगको छैटौं स्थानमा रहेको नेपालको ८ अंक छ। पाँचौ स्थानको केन्याको १२ तथा चौथो स्थानको हङकङको १३ अंक पुगेको छ। यो अवस्थामा नेपालले बाँकी तीनै खेल जिते मात्र चौथो स्थानमा रहेर छनोट हुने सम्भावना रहनेछ। तर, यसका लागि हङकङ र केन्याले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ। केन्या र हङकङले सबै खेल हार्नुपर्ने तथा नेपालले सबै खेल जित्नुपर्ने अवस्थामा नेपालको यात्रा लगभग सकिएजस्तै हो।


नेपालले अब छैटौं चरणमा हङकङसँग आइतबार दोस्रो खेल खेल्नेछ। अन्तिम चरणमा नेपालले युएईसँग खेल्नेछ भने हङकङले पपुवा न्युगिनीसँग र केन्याले स्कटल्यान्डसँग भिड्नेछ। 

डब्लुसिएल च्याम्पियनसिपमा नेदरल्यान्ड र पपुवा न्युगिनी छनोट भइसकेका छन्। अब स्कटल्यान्ड, हङकङ, केन्या र नेपाल मध्ये २ टिम छनोट हुनेछन्। यसमा स्कटल्यान्ड र हङकङको सम्भावना बढी छ। 

डिभिजन–२ मा पुगे पनि सम्भावना

डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारमा पर्न नसक्ने चार टिम डिभिजन–२ को झर्नेछन्। डब्लुसिएल च्याम्पियनसिपबाट यूएई र नामिबिया डिभिजन–२ मा घटुवा नजिक छन्। स्कटल्यान्ड, हङकङ, केन्या र नेपालमध्ये २ टिम पनि डिभिजन–२ मा झर्नेछन्।

डब्लुसिएल च्याम्पियनसिपका ४ टिम तथा क्यानडा र ओमानबीच डिभिजन–२ मा प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा शीर्ष दुईभित्र पर्ने टिमले विश्वकप छनोट खेल्न पाउनेछन्। डब्लुसिएल च्याम्पियनसिपमा खराब अवस्थामा रहेको नेपालको डिभिजन–२ मा शीर्ष दुईमा रहेर विश्वकप छनोट खेल्ने आशा भने बाँकी नै छ।
 

पढ्नै पर्ने