सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने- चुनाव सर्दैन, ढुक्क हुनुस्

शिशिर ढकाल

Nepal Live

काठमाडौं- सरकारले प्रदेश सभा र प्रतिनिधि सभा चुनाव सार्ने तयारी गरिरहेको चर्चा केही दिनयता चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव कुनै हालतमा नसर्ने बताएका छन्। 

सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रपति समक्ष चुनाव सार्ने कुनै प्रस्ताव नगरेको र निर्वाचन समयमै हुने स्पष्ट पारेका हुन्।

बैठकमा वाम गठबन्धनका नेताहरुले सरकारले राष्ट्रपतिसँग निर्वाचन सार्ने प्रस्ताव गरेकाले चुनाव समयमै गर्ने वा नगर्ने जवाफ माग गरेका थिए।

'राष्ट्रपतिसँग निर्वाचन सार्ने विषयमा छलफल भएको हो कि होइन र सरकार चुनाव गराउन दृढ छ कि छैन भन्ने जिज्ञासा बाम गठबन्धनले बैठकमा राख्यो', सहभागी नेता नारायणकाजी श्रेष्ठले भने।

जवाफमा प्रधानमन्त्री देउवाले चुनाव गर्न सरकार गठन भएकाले आफूले दायित्व पूरा गर्ने बताएको श्रेष्ठले जानकारी दिए।

'निर्वाचन सरकारले समयमा सम्पन्न गराउँछ । राष्ट्रपतिसँग चुनाव सार्ने विषयमा कुराकानी भएकै छैन', देउवाको भनाइ उद्धृत गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने।

बैठकमा राष्ट्रियसभा विधेयकबारे समेत छलफल भएको थियो । सो विधेयकमा दलीय विवाद रहेकाले संसदबाट पारित हुन सकेको छैन । वाम गठबन्धन र सत्तारुढ दल कांग्रेसबीच निर्वाचन प्रणालीको विषयमा विवाद छ । विधेयकमाथि कांग्रेस सांसदहरुले नै आपत्ति जनाउँदै आएका छन्। 

विधेयकमा संविधानको व्यवस्था अनुसार राष्ट्रियसभामा प्रदेशको निर्वाचक मण्डलबाट सांसद निर्वाचित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । तर, कांग्रेसले सो व्यवस्थाभन्दा एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा अडान राखेको छ । एकल संक्रमणीय व्यवस्थामा  जाँदा  मतदाताले उम्मेदवारलाई प्राथमिकता निर्धारण गरी मत दिन पाउनेछन्।

तर, एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन एकल संक्रमणीय निर्वाचन प्रणालीको विपक्षमा छन् । मतभार फरक पर्ने भएकाले सो व्यवस्था कार्यान्वयनमा कठिन हुने वाम गठबन्धनको तर्क छ । निर्वाचन आयोगले भने मतभार मिलाउन सहज हुने भएकाले एकल संक्रमणीय निर्वाचन प्रणालीमा जान दलहरुलाई सुझाव दिएको छ।

संसदको अधिवेशन असोज २८ गते अन्त्य गर्ने तयारी भएकाले त्यअसघि नै राष्ट्रियसभा विधेयक पारित गर्नुपर्नेछ । दलीय विवाद समाधानका लागि शुक्रबार बैठक बस्ने भएको छ।

'राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विधेयकमा रहेका विवाद मिलाउन हामी भोलि छलफलमा जुट्नेछौं', नेता नारायणकाजी श्रेष्ठले भने। 

पढ्नै पर्ने