बाबुरामजीका लागि गोर्खा छाड्न सकिन्न, काठमाडौंबाट लड्ने कि समानुपातिक बस्ने उहाँको निर्णय : नारायणकाजी

नेपाल लाइभ

Nepal Live

काठमाडौं– माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठले नयाँशक्ति संयोजक बाबुराम भट्टराईलाई प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ छाड्न नसकिने स्पष्ट पारेका छन्। उनले काठमाडौंबाट लड्ने कि समानुपातिकमा बस्ने भन्ने दुई विकल्प भट्टराईसँग रहेको बताए।

‘पहिल्यै पार्टीबाट निर्णय गराएर गोरखा–२ बाट प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्ने मेरो तयारी निकै अघि बढिसक्यो। अब त्यसबाट पछाडि फर्कने सम्भावना छैन,’ नेता श्रेष्ठले भने, ‘उहाँलाई गोरखा–१ मा छाड्न सकिन्थ्यो, तर सूर्य चिह्नबाट चुनाव लड्ने निर्णय गरेकाले त्यो सम्भावना पनि छैन। हाम्रो गोलाकारभित्र हँसिया हथौडा चिह्नबाट लड्ने भएको भए विचार गर्न सकिन्थ्यो। अब त्यो सम्भावना पनि टर्‍यो।’

अघिल्ला २ संविधानसभा चुनावमा भट्टराई गोरखाबाट निर्वाचित भएका थिए। ‘त्यसबेला ३ वटा निर्वाचन क्षेत्र हुँदा पनि उहाँले मेरा लागि ठाउँ दिनु भएन। अब काठमाडौंबाट चुनाव उठ्ने कि समानुपातिकमा बस्ने भन्ने दुई वटा विकल्पमात्र बाँकी छन् उहाँसँग,’ उनले भने।

एमाले र माओवादी केन्द्रबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभामा ६०–४० प्रतिशत सिट बाँडफाँट गरी चुनाव लड्ने र चुनावपछि पार्टी एकता गर्ने सहमति भएको छ। बृहत् बाम गठबन्धनमा पछि मिसिन पुगेका भट्टराईले गोरखासहित १५ प्रतिशत सिट दाबी गर्दै आएका छन्। तर, माओवादी केन्द्र यसका लागि तयार छैन।

नयाँशक्तिलाई दिने १५ प्रतिशत सिट एमालेको ६० प्रतिशतबाट हो कि तपाईंहरुको ४० प्रतिशतबाट भन्ने प्रश्नको जवाफमा नेता श्रेष्ठले आश्चर्य जनाउँदै भने, ‘उहाँले १५ प्रतिशत सिट माग्नुभएको छ र?’

सिटमा तालमेल नमिलेपछि नयाँशक्ति बाम गठबन्धनबाट बाहिरिने बिन्दुमा पुगेको छ। ‘भन्ने बेलामा बाम गठबन्धन भन्ने, अनि व्यवहारमा माग्नेलाई झैं व्यवहार गर्ने? यसरी त कसरी गठबन्धन कायमै रहला र?’ नयाँशक्तिका एक नेताले भने। 

नेता श्रेष्ठले एमालेसँगको एकता भने टुंगोमै पु¥याएर छाड्ने दृढता व्यक्त गरे। ‘अब हाम्रो एकता कुनै हालतमा तोडिन्न, टुंगोमै पुर्‍याएर छाड्छौं,’ उनले भने। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पालैपालो पार्टीको अध्यक्षता गर्नेगरी सहमति भएको र त्यही आधारमा एकता हुन लागेको उनले जानकारी दिए।

‘ओलीजी सरकारमा गएका बेला प्रचण्डजीले र प्रचण्डजी सरकारमा गएका बेला ओलीजीले पार्टीको नेतृत्व गर्नुहुनेछ,’ उनले भने। कार्यकारी राष्ट्रपतिको व्यवस्था भए मात्र प्रचण्ड त्यता जाने उनले बताए।

पढ्नै पर्ने