५० देशमा बिक्री हुन्छ तिलगंगाबाट उत्पादित लेन्स

यसरी सुरु भयो नेपालमा लेन्स उत्पादन

प्रवीण ढकाल

Nepal Live

काठमाडौं । म्यानमारकी ८७ वर्षीया मा खिन मार र उत्तर कोरियाका ८१ वर्षीय क्युङ सुङ मोतीबिन्दुबाट पीडित थिए । दृष्टि धमिलिँदै गएपछि अरुको सहारामा हिँडडुल गर्नुपर्ने अवस्थामा पुगेका उनीहरु शल्यक्रियापछि अहिले आफैं ठमठमी हिँड्न सक्छन् ।

यी दुई वृद्धवृद्धासँगै भूकम्पबाट अति प्रभावित धादिङ जोगीमाराका ८६ वर्षीय खुँडा चेपाङ र सिन्धुपाल्चोक मेलम्चीका ८४ वर्षीय कृष्णबहादुर दनुवारको दिनचर्या पनि मोतीबिन्दुको निःशुल्क शल्यक्रियापछि फेरियो ।

संयोगले यी चारै जनाको आँखाको शल्यक्रिया गर्ने व्यक्ति थिए, नेपालका डाक्टर सन्दुक रुइत । अर्को संयोग के भने, चारै जनाको शल्यक्रियापछि राखिएको ‘लेन्स’ पनि नेपालमै उत्पादित ‘इन्ट्राअकुलर लेन्स’ थियो । उक्त लेन्स तिलगंगा आँखा प्रतिष्ठानबाट उत्पादन गरिएको हो ।

मोतीबिन्दु भएका बिरामीको उपचार भनेको शल्यक्रिया नै हो । शल्यक्रियामा अपारदर्शी बनेको आँखाको प्राकृतिक लेन्स निकालेर ल्याबमा बनाइएको लेन्स प्रत्यारोपण गरिन्छ । यस्तो लेन्सलाई ‘इन्ट्राअकुलर लेन्स’ भनिन्छ ।

तिलगंगा आँखा प्रतिष्ठानबाट उत्पादित लेन्स अहिलेसम्म ५० देशमा बिक्री भइसकेको छ । तथ्यांक अनुसार, एक वर्षको अवधिमा उत्पादित तीन लाख २५ हजार लेन्स ती देशमा बिक्री भएका हुन्।

‘नेपालमा हरेक वस्तु आयात भइरहेको समयमा नेपालमै उत्पादित लेन्स ५० भन्दा बढी देशमा निर्यात हुनु खुसीको कुरा हो’, प्रतिष्ठानका प्रशासन प्रमुख भगीरथ बानियाँले भने । उनका अनुसार, तिलगंगाको ल्याबमा बन्ने आँखाको लेन्स विश्वका उत्कृष्ट लेन्समध्ये पर्छ।

५० लाख लेन्स निर्यात

तिलगंगामा लेन्स उत्पादनका लागि छुट्टै ल्याब छ । तिलगंगा आँखा केन्द्र अन्तर्गत रहेको उक्त ल्याब अष्ट्रेलियाका डाक्टर डा. फ्रेड हलोजको सहयोगमा स्थापित भएको हो । ल्याबमा उत्पादन भएको लेन्स अहिलेसम्म विश्वका ५० देशमा गरी ५० लाख वटा निर्यात भइसकेको प्रोडक्सन म्यानेजर चन्द्र खनालले जानकारी दिए । उनका अनुसार, लेन्सको माग हरेक वर्ष बढ्दो क्रममा छ।

ल्याबबाट हाल वार्षिक ५ लाख लेन्स उत्पादन हुँदै आएको छ । उत्पादित लेन्समध्ये ६५ प्रतिशत विदेश निर्यात हुने मार्केटिङ म्यानेजर सन्तोष शर्माले बताए । शर्माका अनुसार, विदेशमा लेन्स बिक्रीका लागि अहिले १७ देशमा सञ्जाल छ भने ५० भन्दा बढी देशमा अस्पताल, सरकार वा एनजिओमार्फत बिक्री हुने गर्छ।

उत्पादित लेन्समध्ये नेपालमा भने वार्षिक साढे एक लाखको हाराहारीमा खपत हुने गरेको तथ्यांकले देखाउँछ । नेपालका अस्पतालमा आँखाको उपचारका लागि आउने बिरामीमध्ये ८० प्रतिशत भारतीय हुने भएकाले लेन्स पनि सबैभन्दा धेरै भारतीय नागरिकमा प्रत्यारोपण हुने गरेको छ।

‘हाम्रो उत्पादनको अधिकांश हिस्सा विदेशमा नै निर्यात हुन्छ,’ प्रोडक्सन म्यानेजर खनालले भने, ‘हरेक दिन माग बढ्दै गएकोले क्षमता वृद्धि गर्न लागिरहेका छौं ।’

उनका अनुसार, नेपालमा उत्पादित ‘इन्ट्राअकुलर लेन्स’ युके, टर्की, अष्ट्रेलिया, न्युजिल्यान्ड जस्ता विकसित देशसँगै अफ्रिका, म्यान्मार, अफगानिस्तान, पाकिस्तान, कम्बोडिया, भियतनाम जस्ता गरिब तथा विकासोन्मुख देशमा समेत निर्यात हुन्छ ।

तिलगंगाको ल्याबबाट अहिले रिजिड पिएमएम र फोल्डेबल गरी दुई थरी लेन्स उत्पादन हुँदै आएको छ । रिजिड पिएमएम पुरानो प्रविधिबाट बनाइने लेन्स हो भने फोल्डेबल नयाँ प्रविधि हो । फोल्डेबल लेन्स राख्न आँखामा सानो प्वाल पारे पुग्छ भने रिजिडमा शल्यक्रियाका क्रममा अलि ठूलो घाउ बनाउनुपर्ने हुन्छ । मानिसको आँखाको पावर फरक–फरक हुने भएकोले यी दुई थरीका लेन्स पनि सयभन्दा बढी मागमा वर्गीकरण गरेर उत्पादन हुन्छ । प्रविधिमा आएको विकाससँगै ल्याबले नयाँ लेन्स उत्पादनको तयारी समेत गरिरहेको छ।

ल्याबमा एउटा लेन्स पूर्णरुपमा तयार हुन एक महिना लाग्छ । सुरुमा कच्चा पदार्थलाई अत्याधुनिक मेसिनमा राखेर लेन्सको आकार दिने काम हुन्छ । त्यसपछि त्यसमा दृष्टि मिलाउने, पोलिसिङ गर्ने, संक्रमणमुक्त बनाउने लगायतका प्रक्रिया पूरा हुँदै प्याकेजिङ गर्दासम्म एक महिना लाग्छ।

सरकारको १० करोड सहयोग

तिलगंगामा उत्पादित लेन्सको माग विश्वबजारमा बढ्दै गएपछि नेपाल सरकारले यसको क्षमता विस्तारका लागि १० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रतिष्ठान अन्तर्गत रहेको लेन्स ल्याबोरेटरीलाई आँखा लेन्स उद्योगको रुपमा स्थापना गर्न उद्योग मन्त्रालयले गत बैशाख २८ गते १० करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको हो।

उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल र डा. सन्दुक रुइतबीच हस्ताक्षर भएको समझदारीपत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको उच्च माग पूरा गर्न वार्षिक १५ लाख लेन्स उत्पादन गर्न कारखाना स्थापना गर्नुपर्ने उल्लेख छ।

यसैगरी सम्झौतामा कृत्रिम लेन्स उत्पादन तथा त्यसका लागि आवश्यक सहायक सामग्री र कच्चा पदार्थ समेत उत्पादन गर्ने उद्योग स्थापनाको लागि सरकारले सहजीकरण गर्ने, उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा स्थापित गर्न मन्त्रालयको तर्फबाट आवश्यक समन्वय गर्ने उल्लेख छ । हाल तिलगंगाले लेन्स बनाउन आवश्यक पर्ने कच्चा पदार्थ अमेरिका र बेलायतबाट आयात गर्दै आएको छ।

साँघुरो भयो ल्याब

लेन्सको बढ्दो मागसँगै यसको उत्पादन गर्ने पूर्वाधार साँघुरो हुँदै गएको छ । अहिले तिलगंगाकै पुरानो भवनको एक छेउमा लेन्स उत्पादन गर्ने ल्याब छ । पशुपति क्षेत्र विकास कोषले दिएको पाँच रोपनी क्षेत्रमा रहेको तिलगंगा क्षेत्र आँखा अस्पताल सञ्चालनसँगै लेन्स उत्पादन गर्न निकै साँघुरो भएको प्रशासन प्रमुख भगीरथ बानियाँ बताउँछन्।

बानियाँका अनुसार, सरकारको सहयोगमा अन्यत्र छुट्टै स्थानमा ल्याब स्थापना गर्ने तयारी भइरहेको छ । ‘कम्तीमा १०/१२ रोपनी क्षेत्रफल भएको क्षेत्रमा ल्याब विस्तार गर्न जरुरी छ,’ उनले भने, ‘यसको विस्तारसँगै नयाँ–नयाँ प्रविधिका लेन्स समेत उत्पादन हुने छन्।’

वार्षिक १५ लाख लेन्स उत्पादन गर्न सरकारले अहिले दिएको १० करोड रुपैयाँ निकै थोरै रहेको प्रशासन प्रमुख बानियाँ बताउँछन् । ‘यसका लागि कम्तीमा पनि ८० करोड रुपैयाँ चाहिन्छ’ उनले भने, ‘तर, सरकारले उद्योगका रुपमा स्थापना गर्ने भनेकाले थप सहयोग बढ्दै जाने विश्वास लिएका छौं।’

नेपालमा उत्पादन सस्तोमा

तिलगंगामा उत्पादित लेन्स नेपालका अस्पतालमा निकै सस्तोमा पाइन्छ । यस्तो लेन्स निर्माण गर्न ल्याबलाई ४ सय २५ रुपैयाँ लागत लाग्छ । तर, नेपालीहरुलाई तिलगंगाले २ सय २५ रुपैयाँमा नै बिक्री गर्ने गरेको छ । नेपालीलाई बिक्री गर्दा भएको घाटा तिलगंगाले विदेशमा निर्यात गर्ने लेन्सबाट पूर्ति गर्छ।

विदेशमा पनि नेपाली लेन्स तुलनात्मक रुपमा सस्तोमै पुग्ने गरेको तिलगंगाले जनाएको छ । विदेशमा एउटा लेन्सको मूल्य ४ डलरदेखि २२ डलरसम्म पर्ने मार्केटिङ म्यानेजर सन्तोष शर्माले जानकारी दिए । निर्यात हुने देशको आर्थिक अवस्थाको आधारमा मूल्यमा केही तल–माथि पर्ने गरेको छ।

‘खरिद गर्न सक्ने देशसँग केही बढी पैसा लिने गरिएको छ भने गरिब देशमा सस्तोमा दिन्छौं,’ उनले भने, ‘तिलगंगा गैरनाफामूलक संस्था भएकाले सस्तो दरमा गुणस्तरीय लेन्स उत्पादन गरिरहेका हौं।’

यसरी सुरु भयो लेन्स उत्पादन

मोतीबिन्दुको शल्यक्रियापछि आँखामा राख्ने लेन्स ज्यादै महँगोमा किन्नुपर्ने अवस्था थियो । विश्वबजारमा यस्तो लेन्सको मूल्य एक सय ५० देखि २ सय डलसम्म पथ्र्यो । आर्थिक अवस्था कमजोर भएका नेपालीहरुले ती लेन्स किन्न सक्दैनथे । फलस्वरुप मोतीबिन्दुका कारण धेरै नेपालीेहरु अन्धोपनको सिकार हुने गरेका थिए।

सन् १९९० तिर अष्ट्रेलियन डा. फ्रेड हलोज नेपालमा थिए । उनले पैसा नभएकै कारण कसैले दृष्टि गुमाउनु हुँदैन भनेर सस्तोमा लेन्स उत्पादन गर्नुपर्ने योजना बनाए । यसका लागि उनले आफूले सक्दो सहयोग गर्ने भन्दै नेपालमा लेन्स उत्पादन गर्न तिलगंगामा मेसिन जाडन गरे।

सन् १९९२ मा लेन्स उत्पादन गर्ने ल्याब तयार भयो । त्यसको दुई वर्षपछि ल्याब उद्घाटन भएको थियो । आँखामा राखिने लेन्स संवेदनशील कुरा भएकाले त्यसको सबै प्रक्रिया पूरा गर्दै ‘क्लिनिकल ट्रायल’ पास गर्नुपर्ने हुन्थ्यो । सबै प्रक्रियामा पास भएपछि सन् १९९६ देखि लेन्सको बिक्री–वितरण सुरु भएको हो।

त्यसबेला एउटा लेन्स तयार हुन तीन डलर खर्च लाग्थ्यो । तिलगंगाले उत्पादित लेन्स विश्वबजारमा ६ देखि १० डलरमा पठायो । सय डलर पर्ने लेन्स सस्तोमा पाउने भएपछि चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलंका लगायतका देशमा नेपाली लेन्सको माग ह्वात्तै बढ्यो । नेपाली लेन्स पुग्नु अगाडिसम्म थाइल्यान्डमा लेन्सको सरकारी मूल्य नै ८० डलर थियो । तर, नेपालको लेन्स गएपछि मूल्य स्वाट्टै घटेर २० डलरमा आयो । सुरुमा तिलगंगाबाट रिजिड पिएमएम लेन्स उत्पादन हुन्थ्यो । सन् २००४ देखि फोल्डेबल लेन्स उत्पादन सुरु भएको हो।

दोस्रो विश्वयुद्धको उपहार

आँखाको लेन्स बनाउन पोली मिथाइल मेथाक्राइलेट नामक प्लाष्टिक प्रयोग हुन्छ । यो प्लेनको ककपिटमा राखिने सिसा बनाउने प्लाष्टिक नै हो । उक्त प्लाष्टिकलाई मेडिकल रुपमा मिलाएर आँखाको लेन्स बनाइएको हो।

यो प्लाष्टिकको लेन्स बनाउन सकिन्छ भन्ने ज्ञान दोस्रो विश्वयुद्धपछि आएको हो । दोस्रो विश्वयुद्धका क्रममा पाइलटको आँखामा प्लेनको ककपिटका सिसाको टुक्रा परेका थिए । लामो समयसम्म पनि उक्त सिसाले आँखामा कुनै असर नगरेपछि यसको महत्व बुझिएको हो । त्यसपछि यसको थप अध्ययन गर्दै आँखामा राख्न मिल्ने लेन्सका रुपमा विकास गरिएको हो।


के हो मोतीबिन्दु, किन राखिन्छ लेन्स ?

डा. बेन लिम्बु

आँखाको भित्रपट्टि एउटा पारदर्र्शी लेन्स हुन्छ । सोही लेन्स अपारदर्शी हुनुलाई नै मोतीबिन्दु भनिन्छ । मोतीबिन्दुको समस्या उमेर पाको हुँदै जाँदा प्रायः सबैलाई हुन्छ । यो समस्या ५० वर्ष माथिकालाई बढी हुने गर्छ । आँखामा चोटपटक लागेमा तथा मधुमेहका रोगीहरुमा पनि मोतीबिन्दुको समस्या देखिन सक्छ।

घाममा बढी काम गर्ने र जोर्र्नीको दुखाइ कम गर्न स्टेरोइड जस्ता औषधिको प्रयोग अत्यधिक मात्रामा गरे मोतीबिन्दु हुन सक्छ । मोतीबिन्दु भए–नभएको सामान्य चेकजाँचबाट पत्ता लगाउन सकिन्छ ।
तर, उपचारमा ढिलो भएमा जलबिन्दु पनि हुन सक्छ । जलबिन्दु भएमा आँखाको ज्योति सधैंका लागि गुम्न सक्छ । मोतीबिन्दुको शल्यक्रिया गर्न १० देखि २० मिनेटसम्म लाग्छ । शल्यक्रियापछि आँखामा पट्टी लगाएर बिरामी घर फर्किन सक्छन् । मोतीबिन्दुको शल्याक्रियामा अपारदर्र्शी बनेको आँखाको लेन्स निकालेर त्यसको ठाउँमा ‘इन्ट्राअकुलर लेन्स’ राखिन्छ।

रुघाको औषधिका नाममा यसरी भयो ८ अर्ब बढीको लागूऔषध व्यापार

Nepal Live

काठमाडौं –    २०७३ साल साउनमा कम्पनीको स्टोरमा भएका तीन वटा रजिस्टर हरिशंकर शर्मा (उनी फरार छन्) ले त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा लिएर गएका थिए । हाम्रो कम्पनीका वित्त प्रवन्धक खडानन्द शर्माले औषधि

बच्चामा आँखाको समस्या भएको कसरी शंका गर्ने? यस्ता छन् ११ लक्षण

साना उमेरका बालबालिकाले आफ्नो दृष्टिमा समस्या रहेको व्यक्त गर्न सक्दैनन् । तर, यसको नकारात्मक असर उनीहरुको पढाइ तथा व्यक्तित्व विकासमा परिरहेको हुन्छ र थाहै नपाई बालबालिकाको आँखामा सधैंका लागि खराबी

भक्तपुरमा आँखाका बिरामी बढेसँगै चस्मा लगाउनेको संख्यामा वृद्धि

नगरकोट- पछिल्लो समयमा भक्तपुरमा चश्मा लगाउनेको संख्या बढेको छ।  अहिलेका बालबालिकाले धेरै समय कम्प्युटर र मोबाइल चलाउने भएका कारण चश्मा लगाउनेको संख्या बढेको जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीको भनाइ

झारफुकको भरपर्दा आँखाको ज्योती गुम्दै, बिरामीलाई अस्पताल पठाइदिन आग्रह

सुरुङ्गा (झापा)- धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि सहरसम्मका अधिकांश मानिसले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाउने गरेका छन्।  चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँमीझाक्री कहाँ जाँदा उपचार नपाएर उनीहरुले आँखाको ज्योति

पढ्नै पर्ने