पोर्चुगलमा दूतावास स्थापनाका लागि प्रवासी नेपालीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाल लाइभ

Nepal Live

काठमाडौं- पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि त्यहाँ रहेका नेपालीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएन) पोर्चुगलका प्रतिनिधिले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी दूतावास स्थापनाका साथै पोर्चुगलमा बलियो कूटनीतिक सम्बन्ध स्थापनाका लागि अनुरोध गरे। एनआरएनको आठौँ विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं आएको अवसरमा उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन्।

दूतावास नहुँदा परिवार मिलन, सहज राहदानीको उपलब्धता, आवश्यक कागजातको प्रमाणीकरण, व्यापार व्यवसाय र रोजगारीका अवसर, आकस्मिक दुर्घटना तथा मृत्युको कानुनी प्रक्रियामा समस्या हुने उनीहरुले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

पोर्चुगलको श्रम बजारमा नेपालीहरुको माग बढ्दो भए पनि श्रम सम्झौता नहुँदा नेपालीको श्रम बजार सुरक्षित हुन नसकेको एनआरएन पोर्चुगलका सदस्य प्रकाश कडरियाले बताए। 'पोर्चुगल सरकारसँग श्रम सम्झौताका लागि पहल गर्न पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छौं,' उनले भने।

पोर्चुगलमा २० हजारभन्दा बढी नेपालीहरु कार्यरत छन्। पोर्चुगल जानका लागि कागजी प्रक्रिया पूरा गर्न भारतको नयाँ दिल्लीस्थित पोर्चुगल दूतावास पुग्नुपर्ने बाध्यता छ। यो क्रममा झन्डै ५ लाख आर्थिक भार पर्ने कडरियाले बताए।

एनआरएन पोर्चुगलका आइसिसी सदस्य तथा पर्यटनदूत रमेश गुरुङको नेतृत्वमा गएको टोलीमा वरिष्ठ उपाध्यक्ष तिलक गैरे, संस्थाका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, वर्तमान उपाध्यक्ष कमल गुरुङ, आइसिसी सदस्य पेम्बा शेर्पा, नरेन्द्र हमाल, हेमन्त सेढाईं, भीमकमल केसी, भूपेन्द्र बस्नेत लगायत सहभागी थिए।

पढ्नै पर्ने