तीन लाख नगद र सुनसहित महिला बेपत्ता

नेपाल लाइभ

जीतपुर- तीन लाख नगदसहित १२ दिनदेखि एक महिला बेपत्ता भएकी छिन्। 

अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आएकी २९ वर्षीया वसन्ता विसी (केसी) असोज १४ गते (दशैँको टीका) देखि हराएकी हुन्। 

बचत समूहबाट लिएको रु तीन लाख ऋणका विषयमा सामान्य घरायसी विवाद भएपछि उनी बेपत्ता भएको श्रीमान् लालबहादुर केसीले जानकारी दिए। 'म बिरामी भएको मौका छोपी तीन लाखसहित आफूले लगाएका सुनका गहनासमेत लिएर उनी बेपत्ता छिन्,' उनले भने। केसी गाडी चलाउँदै आएका छन्।

आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा किन चाहियो भन्दै झर्किने गरेको उनले बताए।

घर र माइती दुवै पक्षबाट खोजीदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा निवेदन परेको र निजको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक छमन खत्रीले जानकारी दिए।रासस
 

पढ्नै पर्ने