मृत्यु कसरी हुन्छ? बाँच्न र बचाउन के गर्ने?

डा. नारायणसिंह गुरुङ

Nepal Live

स्वास्थ्यकर्मीको पहिलो धर्म अर्थात् कर्तव्य बिरामीलाई मृत्यु हुनबाट जोगाउने प्रयास गर्नु हो भने दोस्रो कर्तव्य सदाका लागि अपाङ्ग हुनबाट जोगाउने प्रयास गर्नु हो। कर्तव्य निर्वाह गर्ने क्षमताको विकास अरुका लागि होइन, आफ्नै लागि गर्नुपर्छ। के हामी स्वास्थ्यकर्मी बिरामी हुँदैनौँ र! तर हामी सबैले बुझ्नु जरुरी छ, 'स्वास्थ्यकर्मीहरुले मृत्यु तथा अपाङ्ग हुनबाट जोगाउने प्रयास गर्न सक्छन् तर ग्यारेन्टी गर्न सक्दैनन्।'

हाम्रो शरीर कसरी बनेको ?

हाम्रो शरीर कसरी बनेको छ? भन्ने प्रश्नको जवाफले धेरै कुरा सजिलोसँग बुझ्न मद्दत गर्नेछ। वैज्ञानिक जवाफ खोज्ने हो भने, हाम्रो शरीर 'कोषिका'बाट बनेको हुन्छ। तर, बुढा-पाकालाई सोध्ने हो भने भनिदिन्छन्, 'हाम्रो शरीर हावा, अन्न र पानीबाट बनेको हुन्छ'।  आकस्मिक अवस्थामा गरिने उपचारको आधार पनि त्यही हावा, अन्न र पानीको सन्तुलन नै मिलाउनु हो। यी तीनै तत्वको सन्तुलन मिलेन वा कुनै पनि रोगले यी तीन तत्वको सन्तुलन बिगारिदियो भने ज्यानै जाने अवस्था उत्पन्न  हुन सक्छ।

मृत्यु के हो?

जन्मेपछि मृत्यु हुन्छ भन्ने निश्चित हुँदाहुँदै पनि मृत्यु मानिसका लागि असह्य पीडाको कुरा हो। चिकित्सा क्षेत्रले मृत्युलाई प्रमाणित गर्ने केही आधारहरु तयार गरेको हुन्छ। तर, मृत्यु प्रमाणित गर्न स्वास्थ्यकर्मी वा चिकित्सकले परीक्षण गर्नैपर्छ भन्ने छैन। सामान्यतया: पाँच मिनेटभन्दा बढी समयसम्म शारीरिक वा मानसिक प्रतिकृया नदेखिएमा व्यक्तिलाई मृत भनिन्छ।

विशेष परिस्थितिमा बाहेक पाँच मिनेटभन्दा बढी समयसम्म कुनै पनि शारीरिक वा मानसिक प्रतिक्रिया नदेखिनु; नाडीको चाल, मुटुको धड्कन, सास तथा रक्तचाप मापन नहुनु; आँखाको नानी ठुलो हुनु तथा कुनै प्रतिक्रिया नदेखिनु; इसिजीको रेखा सिधा हुनु जस्ता चिन्हले मृत्युको संकेत गर्छ। यी चिन्हहरु  प्रमाणित नभएका बिरामीलाई मुटुको धड्कन थामिएको अर्थात् 'कार्डियाक एरेस्ट' भएको ठान्नुपर्छ र 'कार्डिओ-पल्मुनरी रिससिटेसन' गरेर बिरामीलाई जोगाउने प्रयास गर्नुपर्छ।

मृत्युका चिन्हहरुसँगै इसिजीको रेखा पाँच मिनेटभन्दा बढी समयसम्म सिधा भएको प्रमाणित भएपछि मात्र मृत्यु भएको प्रमाणित गरिन्छ। यसको अर्थ मुटु अब सदाका लागि काम गर्न असक्षम भयो भन्ने हो। के अब मरेको प्रमाणित गरिएको मुटुलाई ज्युँदो पार्न सकिन्छ त? नेपाली मूलका मुटुरोग चिकित्सक डा. कुमुद धिताल र उनको समूहले अस्ट्रेलियामा मृत घोषित व्यक्तिको मुटुलाई प्रसस्त मात्रामा अक्सिजन तथा पोषक पदार्थ मिश्रित झोल राखिएको 'हर्ट इन बक्स' नामक भाँडोमा डुबाएर पुनर्जीवित मात्र होइन उक्त मुटुलाई सफल प्रत्यारोपण गरेर चमत्कार नै गरे। आखिर के हो त मृत्यु? मृत्यु रहस्यमयी छैन त?

कसरी हुन्छ मृत्यु?

हाम्रो शरीरका प्रमुख अंग मस्तिष्क, श्वासनली, फोक्सो र विशेष गरी 'मुटु'ले प्राणवायु (अक्सिजन) पाएनन् वा उपयोग गर्न सकेनन् भने अन्तत: मृत्यु हुन्छ। अब मानिसको जीवन-मृत्युसँग जोडिएका वायु, अन्न र पानीबारे केही जानौँ।

प्राणवायु : भनिन्छ संसारमा असम्भव केही छैन, तर प्राणवायुबिना जीवन असम्भव छ। कस्तो अचम्म! यस्तो जीवन रक्षक औषधि 'प्राणवायु'बारे महत्वका साथ औषधि विज्ञान विषयमा पढाइँदैन। हामी सबैले बुझ्नै पर्छ। मृत्युबाट जोगाउने सबै भन्दा महत्वपूर्ण औषधि प्राणवायु नै हो। हाम्रो देशमा मृत्युको एउटा प्रमुख कारण वायुमण्डलमा जताततै पाइने प्राणवायु आकस्मिक अवस्थामा प्रायः धेरैजसो स्वास्थ्य निकायमा औषधिका रुपमा उपलब्ध नहुनु हो। यसैले हामी सबै स्वास्थ्यकर्मी तथा जिम्मेवार नागरिकले स्वास्थ्य केन्द्रमा 'अक्सिजन' (प्राणवायु) उपलब्ध गराउने प्रयास गर्नुपर्छ।

हामीले सास फेर्ने हावामा २१ प्रतिशतसम्म अक्सिजन पाइन्छ।  रगतमा अक्सिजनको मात्रा कम भएको बिरामीलाई वायुमण्डलमा भन्दा बढी प्रतिशतमा आवश्यकता अनुसार अक्सिजन दिने पद्दतिलाई 'अक्सिजन थेरापी' भनिन्छ। ज्यानै जान सक्ने अवस्थाका बिरामीलाई  रगतमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी हुने गरी अक्सिजन दिनुपर्छ। यद्यपी दीर्घकालीन श्वासप्रश्वास अवरोधक रोग (सिओपिडी) मा ८८ देखि ९२ प्रतिशत हुनु सन्तोषजनक मानिन्छ।

औषधिका रुपमा प्रयोग गरिने अक्सिजन सिलिन्डर अथवा उत्पादन गरिने ठाउँबाट सिधै पाइप द्वारा बिरामीसम्म पुर्‍याउन सकिन्छ। दुर्गम क्षेत्रका लागि 'अक्सिजन कन्सन्ट्रेटर' प्रभावकारी हुन सक्छ।

झ्याल-ढोका बन्द गरिएको कोठा, भिड-भाड  भएको ठाउँमा अक्सिजनको मात्रा कम हुन्छ। यसैले कुनै पनि बिरामीलाई चिसो नहुने गरी हावा खेल्ने ठाउँमा राख्नुपर्छ। बिरामीको वरिपरि  भिडभाड गर्नु हुँदैन।

अन्नः अन्न शक्तिको स्रोत हो। कतिपय अवस्थामा ग्लुकोजको कमी मृत्युको कारण बन्न सक्छ। बेहोस भएका कुनै पनि बिरामी देख्नासाथ हाम्रो दिमागमा सिटीस्क्यान गराउने सोच आइहाल्छ। सिटीस्क्यान गराउन समय लाग्छ, सिटीस्क्यान सबै ठाउँमा उपलब्ध हुँदैन पनि। तर, कतिपय बिरामी रगतमा चिनीको मात्रा कम भएर बेहोस भएका हुन्छन्। यसैले जुनसुकै सिकिस्त बिरामीको रगतमा ग्लुकोजको मात्रा तुरुन्तै जाँच गरिहाल्नुपर्छ। ग्लुकोजको मात्रा कम भएमा खान सक्नेलाई मुखबाट अन्यथा रक्तनलीबाट तुरुन्तै ग्लुकोज दिएर ज्यान जोगाउन सकिन्छ।

पानी (झोल पदार्थ): अक्सिजन, ग्लुकोज, लवण  तथा अन्य औषधिहरु कोषिकासम्म पुर्‍याउने माध्यम पानी अर्थात् झोल पदार्थ हो। झोल पदार्थलाई शरीरभित्र पठाएर गरिने उपचार विधिलाई 'फ्लुड- थेरापी' भनिन्छ। बिरामीको अवस्था अनुसार 'नर्मल स्लाइन', 'रिंगर ल्याक्टेट', ग्लुकोज आवश्यक पर्ने बिरामीलाई 'डेक्सट्रोज, नर्मल स्लाइनजस्ता झोल पदार्थ आवश्यक मात्रामा तुरुन्तै दिनुपर्छ।

कुनै पनि सिकिस्त बिरामीलाई अक्सिजन, आवश्यकता अनुसार ग्लुकोज तथा लवण मिश्रित झोल पदार्थ, रोग अनुसार एन्टिबायोटिक लगायत जीवन रक्षक  औषधिहरु  मात्रा मिलाएर तुरुन्तै दिन सकियो भने बिरामीको ज्यान जोगिन सक्छ। ज्यान जोगाउन सकियो भने रोगको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ। यसरी ज्यान जोगाउने आकस्मिक ऊपचारमा जीवन रक्षक औषधिको उचित प्रयोग तथा हावा, अन्न र पानीको सन्तुलन मिलाउनु अत्यन्तै महत्वपूर्ण हुन्छ।

(डा. गुरुङ गण्डकी मेडिकल कलेज, पोखराका प्राध्यापक हुन्)

पढ्नै पर्ने