आम्दानीभन्दा लगानी बढी भएपछि खेती बदल्दैछन् जुट कृषक

गोपालप्रसाद पोखरेल

Nepal Live

पथरी- मोरङको कटहरी–९ का भुपेन्द्र कार्कीले जुटखेती गर्न छोडेको करिब दुई वर्ष भयो। 

पाँच बिघामा जुट लगाएका कार्कीले लगानी बढी आम्दानी कम भएपछि जुट (पटुवा) खेती लगाउन छाडेका हुन्। कार्की यतिबेला धानखेती गर्दैछन्। भन्छन्, 'आम्दानीभन्दा लगानी बढी छ, जुटखेती गरेर फाइदा हुँदैन के गर्नु?' 

उनीमात्र होइन मोरङको शिसवानी बडहराका महोनलाल महतोले ५ वर्षअघिसम्म ९ बिघामा जुट खेती लगाएका थिए। उनी पनि अहिले धानखेती नै गरिरहेका छन्।


जुटले भाउ नपाउने, काम गर्ने मजदुरको अभाव, खर्चिलो खेती, लगानी बढी अम्दानी कम, यस्तै समस्याले जुटखेती कम गर्दै लगेको उनी बताउँछन्। मोरङमा जुट प्रतिक्विन्टल रु ५ हजारमा बिक्री हुन्छ। उनले अहिले ८ बिगाहा ९ कट्ठामा धान र १० कट्ठामा जुटखेती गर्दै आएका छन्। 

मोरङमा एक हजार हेक्टरमा जुटखेती भएको जिल्ला कृषि विकास कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ। 

गतवर्ष एक हजार ७ सय हेक्टरमा जुटखेती हुँदै आएको थियो। जुट उत्पादक कृषकलाई सरकारले प्रोत्साहन नगर्दा, जुट उत्पादनमा गिरावट आएको छ। 

जुट उत्पादनमा ह्रास आउनु र मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित आधा दर्जन जुट उद्योग बन्द हुनु राम्रो संकेत नभएको उद्योगी प्रकाश मुन्दडाको भनाइ छ। 

यहाँका विराटनगर जुटमिल्स, नरेश राठीको गुहेश्वरी जुटमिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग बन्द भइसकेका छन्।रासस
 

पढ्नै पर्ने