भारतीय सेनामा यसकारण बढ्दैछ नेपाली युवाको आकर्षण

कृष्ण अधिकारी

Nepal Live

नेपालगञ्ज- भारतीय सेनामा नेपाली युवाहरुको आकर्षण बढ्दै गएको छ। आकर्षक तलबसुविधा र भारत सरकारले आफ्ना सेनाका लागि प्रदान गर्ने दर्जनौं लोककल्याणकारी योजनाका युवाहरुको अकर्षण बढेको हो।

भारतीय सेनाको रिक्रुट छनोटका लागि दैनिक करिब १ हजार २ सय युवाहरुको भिड नेपालगञ्ज रंगशालामा देखिने गरेको छ। यो भिडले पनि भारतीय सेनाप्रतिको आकर्षण प्रतिविम्बित गर्छ।

सुर्खेतबाट मात्रै एक हजारभन्दा बढी युवा रिक्रुट छनोट प्रक्रियामा सामेल भएका छन्। भेरी, कर्णाली, सेती र महाकाली अञ्चलका युवाका लागि लक्षित ५ दिनसम्म सञ्चालन गरिएको रिक्रुट छनोटमा ८ देखि १० हजारसम्मको सहभागिता हुने अनुमान गरिएको छ।

भारतीय सेनाले नेपालगञ्ज, बुटबल, भरतपुर, पोखरा र धरानमा रिक्रुट छनोट क्याम्प सञ्चालन गर्दै आएको छ। ती क्याम्पमा करिब ५० हजार युवाले भर्नाका लागि प्रतिस्पर्धा गर्दै आएका छन्। ५० हजारबाट १ हजार ५ सयसम्म छनोट गरिन्छ। हरेक वर्ष भारतीय सेनामा १ हजार ५ सयसम्म नेपाली युवा छनोट हुने र त्यत्तिकै संख्यामा रिटायर्ड हुने गर्छन्।

सेनामा भर्ना हुन युवाहरुले २/३ वर्षदेखि निरन्तर तयारी तथा अभ्यास गर्ने गरेका छन्। लामो तयारीपछि मात्रै रिक्रुट छनोटका लागि आएको सुर्खेत छिन्चुबाट हेमन्त खत्री बताउँछन्।


भारतमा अंग्रेज शासनकै समयमा अंग्रेज र नेपालबीच भएको सम्झौता अनुसार आज पनि नेपाली युवाहरु भारतीय सेनामा भर्ती भइरहेका छन्।

भर्नाका लागि मापदण्ड
रिक्रुट भर्ना हुने युवाहरुमा विभिन्न समूह बनाई दौड, व्यायाम, मेडिकल टेस्ट, आवश्यक शैक्षिक योग्यता तथा अन्य कागजातको चेकजाँच गरिन्छ। भारतीय सेनामा भर्ती हुनका लागि न्युनतम शैक्षिक योग्यता एसएलसी तोकिएको भए पनि प्लस टुदेखि स्नातक तह पूरा गरेका युवा पनि भर्नाका लागि नेपालगञ्ज आएका छन्।

भर्ना हुनका लागि १७ देखि २१ वर्षको उमेर निर्धारण गरिएको छ। त्यसका अतिरिक्त ५ फिट ३.५ सेन्टिमिटर उचाइ, ३१ इन्च छाती भई २ इन्च फुलाउन सक्ने र ४८ केजी तौल भएको हुनुपर्छ। 

तोकिएको पहिलो चरणको प्रक्रिया पूरा गरेपछि प्रतिस्पर्धीहरुलाई लिखित परीक्षामा सामेल गराइन्छ।  परीक्षा उत्तीर्ण गरेकाहरु रिक्रुटहरुको स्वास्थ्य परीक्षण भने गोरखपुरमा गरिन्छ। 

नेपालगञ्जका रिक्रुट क्याम्पबाट यो वर्ष करिब ५ यस युवालाई छनोट गर्ने लक्ष्य रहेको भारतीय सेनाका रिक्रुट छनोट प्रमुख ब्रिगेडियर जनरल पिसी रोयले बताए। 

लोभलाग्दो तलबसुविधा
भारतीय सेनाका सिपाहीको सुरुवाती तलबभत्ता नै २४ हजार भारु हुन्छ। तलबमा बर्सेनि १० प्रतिशतले वृद्धि हुन्छ। हरेक ५ वर्षमा तलबभत्ताको स्केल पुनरावलोकन हुन गरेको छ। हालै तलबभत्ताको स्केल पुनरावलोकन समितिले २३.७५ प्रतिशत तलबभत्ता वृद्धिका लागि सिफारिस गरेको छ।

विवाहित भारतीय सैनिकका श्रीमतीले मासिक २ हजार ४ सय तथा २ वटा बच्चाले पढाइ खर्चबापत जनही मासिक ३ हजार २ सयदेखि ४ हजार ८ सयसम्म पाउँछन्। सिपाहीमा भर्ना हुनेहरु नायक हवल्दार हुदै सुबेदार, मेजरसम्म पुगेर रिटायर्ड हुन्छन्। 

नायकले २४, हबल्दार २५ तथा सुबेदार मेजरले ३२ वर्षसम्म सेनामा काम गर्न पाउँछन्। भारतीय सेनामा पूरै अवधि काम गरेर पेन्सनमा निस्कँदा एकमुष्ट करिब  एक करोड नगदसहित उनीहरु बाहिरिने गरेका छन्। भारतीय सेनाको आकर्षक सेवासुविधाकै कारण नेपाली युवाहरु लोभिएका हुन्।

भारतिय सेनामा हाल ३२ हजार नेपाली कार्यरत छन् भने भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त करिब १ लाख २७ हजारले पेन्सन बुझ्ने गर्छन्। सेवारतको तलब,  पेन्सन र उनीहरुको परिवारको स्वास्थ्य तथा शिक्षाका लागि भारतले गर्ने खर्च समेत गरेर नेपालमा वार्षिक ६५ अर्ब रुपैयाँ भित्रने गरेको छ।

पढ्नै पर्ने