गौचनलाई गोली हान्ने रमेश बाहुनको समूह भएको प्रहरीको आशंका

Nepal Live


काठमाडौं- गोली लागि मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई रमेश बाहुन समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

महानगरीय प्रहरी प्रमुख एअाइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पाैडेल समूहकाे संलग्नता हुन सक्ने बताएका छन्।

ठेक्कापट्टामा अवैध असुली गर्दै अाएकाे बाहुन समूहले तीनदिन अघि मात्र गाैचनमाथि हातपात गरेको एअाइजी चन्दले बताए। 'बाहुन समूहले थप्पड हानेकाे भन्ने जानकारी अाएकाे छ, त्यही समूह हाे वा अन्य हो खाेजी भइरहेकाे छ,' चन्दले भने,'अहिले काठमाडाैं उपत्यकामा नाकाबन्दी गरेर खाेजतलास भइरहेकाे छ।'

बाहुन निर्माण व्यवसायी र राेडाढुङ्गा व्यवसायीसँग अवैध असुलीका लागि कुख्यात छन्। दुई वर्षअघि ललितपुरका मिनकृष्ण महर्जनलाई गाेली हानेका बाहुन लागूअाैषध मुद्दामा कारागारमा छन्।

नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा आज दिउँसो गोली लागेका गौचनको उपचारका लागि सिभिल अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो। गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्। 

प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार