अछामका ७ स्थानीय तहमा बैंकिङ सेवा शून्य

नेपाल लाइभ

Nepal Live

अछाम- अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या भएको छ। स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ। 

मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र ६ गाउँपालिकामा कुनै पनि बैंकको शाखा खुल्न सकेको छैन। जिल्लाका विकटका गाउँपालिका तुर्माखाँद, रामारोशन, मेल्लेख, चौरपाटीका स्थानीयले त आर्थिक कारोबारका लागि सदरमुकाम पुगी २-३ दिनसमय खर्चिनुपर्ने अवस्था रहेको छ। 

टाढाका स्थानीय तहमा बैंक नहुँदा सेवाका सबै काम गर्न २ दिनसम्म हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यतामा रहेको तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताए। सदरमुकाम पुगेर बैंकिङ सेवा लिनुपर्दा समय र पैसा दुवै खर्च हुने गरेको उनको भनाइ छ। 

स्थानीय तहमा बैंक नहुँदा करोडौँ बजेट झोलामा बोकेर लैजानुपर्ने भएकाले निकै असुरक्षा महसुस हुने गरेको चौरपाटी गाउँपालिकाका लेखापाल मनोज थापाले बताए।

रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले भने बैंकिङ सेवाका लागि इमेल इन्टरनेट सेवा आवश्यक हुने भएकाले आफूले इन्टरनेट जडानका लागि पहल गरिरहेको बताएका छन्।

हाल सदरमुकाम रहेको मंगलसैनमा नपामा ५ वटा, मुख्य व्यापारिक केन्द्र रहेको साँफेबगरमा ४ वटा र कमलबजारमा नगरपालिकामा एक गरी जिल्लाभर जम्मा ९ वटा बैंकले सेवा दिइरहेका छन्।रासस
 

पढ्नै पर्ने