आफूलाई १० मा ४ नम्बर मात्रै दिन्छुः केकी अधिकारी

अशेष अधिकारी

Nepal Live

अभिनेत्री केकी अधिकारीलाई  फिल्म ‘मसान’मा निर्देशन गरेपछि भेट्रान निर्माता–निर्देशक नीर शाहले उनको खुलेर तारिफ गरेका थिए । उनले त्यतिबेलै केकीलाई ‘ब्युटी विथ ब्रेन’को उपमा थिए । केकीले हाल नेपाली फिल्ममा ७ वर्ष बिताइसकेकी छिन् । तर, निरन्तर ‘फ्लप’ फिल्मका बाबजुद उनी नीर शाहले दिएको ‘ब्युटी विथ ब्रेन’ को छाप छोड्न सफल छिन्।

७ वर्षको सिनेमा यात्रामा व्यस्त भए पनि सफल हुन नसकेको उनको स्विकारोक्ति छ । भन्छिन्, ‘म व्यस्त मात्र भएँ भनेर गरिने टिप्पणीलाई ‘अन्डर भ्यालु’ गर्दिनँ । फिल्म नचल्दा पनि पाएको माया एक प्रकारको सफलता नै हो । मेरो मुख्य भनाइ मेरो ग्रोथ भएन ।’ 

उनै केकीसँग ७ वर्षे  करिअरको लेखाजोखा गर्दै नेपाल लाइभले गरेको कुराकानी:

हिरोइन हुनु कति सजिलो काम रहेछ?

सजिलो काम होइन । साधारणतया हेर्दा क्यामराको अगाडि गएर अलिअलि नखरा पार्‍यो, नाच्न आउँछ भने नाच्यो । तर, हिरोइन हुनु, अभिनय गर्नु भनेको कठिन काम हो। 

हिरोइन बन्नुअघि के लाग्थ्यो ?

आकर्षक काम लाग्थ्यो । करिश्मा दिदी, रेखा दिदीहरुको अन्तर्वार्ता आउँदा अलि ध्यान दिएर सुन्थेँ, हेर्थेँ । के खानुहुन्छ ? कसरी मेकअप गर्नुहुन्छ ? उहाँहरूको कुराले मलाई प्रभाव पार्थ्यो । म उहाँहरूको सोच कस्तो रहेछ भन्नेमा ध्यान दिन्थेँ।

आफू हिरोइन भएपछि सोचाइमा कस्तो फरक आयो ?

हिरोइन भएपछि तपाईं कसै न कसैको आँखामा परिरहनुभएको हुन्छ । सेलिब्रिटीको लाइफ स्टाइलप्रति सबैको चासो हुन्छ । त्यसैले कसरी बोल्ने ? प्रस्तुतिका कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । सेलिब्रेटीको व्यक्तिगत जीवन हुँदैन।

आफूलाई मेन्टेन गरिराख्न कतिको गाह्रो हुन्छ ?

हेर्दा आकर्षक लागे पनि मेन्टेन गर्न निकै गाह्रो पर्छ । हेराइ मात्र होइन, शरीरको हाउभाउ, बोलीचाली सबै तौलेर गर्नुपर्छ । हाम्रो बोलीमा अरुले बढी चाख दिने भएकाले बोल्दा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ। 

पहिलो पटक हिरोइन हुँदा पर्दामा आफ्नो चरित्रलाई प्रस्तुत गर्न कतिको गाह्रो पर्‍यो ? 

पहिलो फिल्म गर्दा मलाई खासै ज्ञान थिएन । अहिले हेर्दा थुप्रै कमजोरी देख्छु । त्यो बेला अभिनय गर्न लागेको चरित्रको ’क्यारेक्टर ग्राफ’ बनाउने बानी थिएन । यी चिजले फिल्मका दृश्यमा ल्याउने गहिराइ र स्वाभाविकताबाट म टाढा रहेछु, जुन अहिले यो कुरामा ध्यान दिन थालेको छु । अहिले पनि समस्या त छ । स्क्रिप्ट हातमा ढिलो पर्छ । कहिले १० दिन, कहिले साता दिन अगाडि त कहिले सीधै सुटिङको दिन मात्र हात पर्छ । जसले गर्दा अभिनय गरिरहेको पात्रलाई न्याय दिन सकेकी छैन। 

पहिलो फिल्म गर्दा साँच्चिकै गर्न सक्छु भनेर गरिएको थियो कि यत्तिकै ?

ब्याचलर गरेपछि फिल्म गर्छु भन्ने थियो तर गरिहाल्छु भन्ने थिएन । त्यो बेला म फिल्म गर्न मानसिक रूपले तयार थिइनँ । ’स्वर’ फिल्म नयाँ कलाकार लिएर गर्ने भनेकाले गरियो । त्यो बेला मलाई मेरो पात्र औधि मन परेर वा मेरो हिरोइन हुने समय आयो । यसबाट डेव्यु गरुँ भन्ने सोचेर गरेको होइन । कुनै योजना बनाएर नभई लहैलहैमा गरेकी थिएँ।

अहिले सम्झिँदा हिरोइन हुने निर्णय कति ठीक थियो भन्ने लाग्छ ? 

डेव्यु फिल्मले धेरै असर गर्छ । फिल्मी करिअरको नापनक्सा तय गर्ने भएकाले तपाईंले कस्तो फिल्मबाट डेव्यु गर्नुभयो, त्यसले ठूलो अर्थ राख्छ । अहिले सोच्दा केही गलत लाग्छ तर त्यतिबेलाको लागि त्यो सही निर्णय थियो । कच्चा हुँदै परिपक्व हुँदै जाने हो । मेरो हकमा पनि त्यही भयो । कहिलेकाहीँ अपरिपक्वताको पनि छुट्टै मजा हुन्छ । अहिले सोच्दा हाँसो उठ्छ।

तपाईंको बुवा पनि कलाकारिता क्षेत्रकै हुनुहुन्छ । फिल्ममा काम गर्ने निर्णय नितान्त व्यक्तिगत थियो कि परिवारको ?

नितान्त व्यक्तिगत । साइन गरेँ, स्क्रिप्ट बाबाले मेरो बेडमा देखेपछि थाहा पाउनुभयो । उहाँले म बाहिर हुँदा स्क्रिप्ट पढ्नुभएछ । मलाई कुन क्यारेक्टर गर्न लागेको भनेर सोध्नुभयो । साइन गरिसकेकी थिएँ, तर बाबालाई मैले हेर्न ल्याएको भनेर ढाँटेँ । मलाई उहाँको बेग्लै प्रतिक्रिया आउला भन्ने थियो । उहाँको भनाइ थियो, अझै केही समय लिएर अलि पछि मात्रै फिल्म गरे हुन्थ्यो । तर, मैले मन बनाइसकेको बुझेर होला, सकारात्मक देखिनुभयो । म्युजिक भिडियोमा आउन बाबासँग एक चरणको संघर्ष गरिसकेको हुनाले त्यसबेला उहाँले केही भन्नुभएन।

पहिलो फिल्मदेखि हालसम्म आइपुग्दा अभिनेत्रीका हिसाबले आफूमा कस्तो विकास भए जस्तो लाग्छ?

मेरो नभएको नै ग्रोथ हो । धेरैले अभिनयका हिसाबले राम्रो भएको प्रतिक्रिया दिन्छन् । तर ७ वर्षको फिल्मी करिअरलाई फर्किएर हेर्दा म सन्तुष्ट छैन। म व्यस्त भएँ, तर आफूलाई ‘ग्रो’ गर्ने मौका दिन पाइनँ । जबकि यसका लागि एउटा समय चाहिन्छ । मेरो कमजोरी केलाउने, थाहा पाउने र त्यसलाई सुधार्न पाउनुपर्थ्यो । म व्यस्त मात्र भएँ। 

व्यस्त मात्र हुँदाको बेफाइदा के रहेछ?

व्यस्त भइसकेपछि एउटा प्रोजेक्टका लागि दिनुपर्ने र आफूले गर्ने चरित्रलाई बुझ्न र समय दिएर राम्रो गरूँ भन्ने कुरामा ठूलो अड्चन आउँदो रहेछ । यो व्यस्तत भन्दा पनि व्यक्तिगत बाध्यता थियो । त्यसैले ‘स्वर’ देखि कुनै छलाङ नै छैन । खासै नयाँ चिज गरेकी छैन। 

आगामी दिनमा यसलाई कसरी परिपूर्ति गर्ने योजना छ ?

म आफैं ब्रेक लिएर एउटा फिल्मको निर्माण गर्न लागेकी छु । केही दिनपछि फिल्म फ्लोरमा जाँदै छ । म यो फिल्म नसकी अर्को फिल्म साइन गर्दिनँ । निर्माता पनि भएकाले यसमा मेरो थप र ज्यादा जिम्मेवारी छ । मैले यसमा ज्यादा स्पेस लिएर नयाँपन गर्न लागिरहेकी छु । पैसाको खुसी मैले पाइसकेँ । अब आफूले गरेको कामबाट मनको खुसी पाउन चाहन्छु । अबका दिनमा सोचेर कम फिल्म र काम गर्छु।

यस्तो हुनेगरी आफूलाई धेरै व्यस्त किन राखेको ?

सबै कुरा आफ्नो हातमा नहुने रहेछ । कहिलेकाहीँ सोच्छु, मैले यति धेरै काम किन गरेँ होला ? आफूमा इनर्जी धेरै भएर पनि होला, मैले कहाँ रोकिनुपर्ने हो, विश्राम लिनुपर्ने हो भन्ने पत्तै पाइनँ । केही वर्ष अगाडि दया दाइ (दयाहाङ राई), सौगात दाइ (सौगात मल्ल) सँग कुरा गर्दा कति फिल्म गरिरहने, यसरी त कलाकारका हिसाबले कुनै विकास नै हुँदैन भन्ने कुरा पनि हुन्थ्यो। 

त्यसो भए केकी सफल होइन, व्यस्त अभिनेत्री हो ?

व्यस्त भएँ । व्यस्त हुनु पनि एक किसिमले सफल हुनु हो । म व्यस्त मात्र भएँ भनेर गरिएको टिप्पणीलाई ’अन्डर भ्यालु’ गर्दिनँ । फिल्म नै नचल्दा पनि पाएको माया पनि सफलता नै हो । मेरो भनाइ हो, मैले आफ्नो ग्रोथ गर्न पाइनँ। 

निरन्तर असफल फिल्मका बाबजुद फिल्म पाइरहँदा कस्तो लाग्छ ?

यही कारणले मैले आफूलाई असफल अनुभव गरिनँ । यस्तो हुनुमा दर्शक, फिल्ममेकरको विश्वास र मिडियाको सहयोग हो । मैले गरेको फिल्ममा मेरो कामको सम्भावना राम्रो भएर होला, ममाथि आशा मारेका छैनन्। 

अभिनेत्रीका हिसाबमा १० मा आफूलाई कति नम्बर दिनुहुन्छ?

सबैको तारिफ सुनेर पहिले मलाई आफू भयंकर कलाकार हुँ जस्तो लाग्थ्यो । तर, आजको दिनमा मैले गरेका फिल्म म आफैं हेर्न सक्दिनँ । आफैंलाई लाज लाग्छ, के बोलेको होला? के गरेको होला ? भनेर । यो हिसाबले हेर्दा म आफूलाई १० मा ४ नम्बर दिन्छु।

पढ्नै पर्ने