हेपाटाइटिस ‘सी’को औषधि नेपालमै उत्पादन

नेपाल लाइभ

Nepal Live

काठमाडौं– हेपाटाइटिस ‘सी’को औषधिको उत्पादन नेपालमै सुरु भएको छ । म्याग्नस फर्माले हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधिको उत्पादन नेपालमै पहिलो पटक सुरुवात गरेको हो । म्याग्नसले उक्त औषधि ‘सोफुभिर’ नाममा बजारमा ल्याएको छ।

म्याग्नसका बजार निर्देशक सुधिरप्रकाश मास्केले नेपाली बजारमा नयाँनयाँ औषधि उत्पादनमा जोड दिँदै आएको बताए । ‘हेपाटाइटिस सीका बिरामी नेपालमा धेरै छन्,’ उनले भने, ‘तर नेपालमै औषधि नबन्दा आयात गर्नुपर्ने वाध्यता थियो । अब स्वदेशी उत्पादनले नै त्यो आवश्यकता पूरा गर्नेछ।’

हाल नेपाली बजारमा आयात हुने हेपाटाइटिस ‘सी’का औषधि निकै महँगा छन् । एउटा ट्याबलेटको एक हजारदेखि १२ सय रुपैयाँसम्म लिने गरिएको छ । एउटा बट्टामा २८ वटा ट्याब्लेट हुन्छ । जसको मुल्य २८ हजारदेखि ३३ हजार रुपैयाँसम्म पर्छ । 
तर, म्याग्नसले उक्त औषधि प्रतिट्याब्लेट आठ सय रुपैयाँमा बजारमा पठाउने भएको छ । म्याग्नसले एउटा बट्टा २२ हजार चार सय रुपैयाँमा बिक्री गर्ने जनाएको छ । ‘हामीले विश्व बजारमा बिक्री हुने गुणस्तरकै औषधि सस्तोमा उत्पादन गरेका छौं,’ मास्केले भने । उनका अनुसार भाइरसको संक्रमण अनुसार १२ देखि ४८ हप्तामा यो रोग निको हुन्छ । तर, समयमै उपचार नहुँदा यो रोगले धेरैको कलेजो फेल हुने गरेको छ।

वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्माका अनुसार हेपाटाइटिस सी भाइरसले कलेजोमा आक्रमण गर्छ । नेपालमा यो भाइरसका कारण ८० हजारदेखि एक लाख मानिस संक्रमित भएको अनुमान छ । हेपाटाइटिस सीले केही हप्ता बिरामी पार्नुका साथै जीवनभरि कलेजोको समस्या वा कलेजो क्यान्सरसम्म गराउन सक्छ।

हेपटाइटिस सी भएका व्यक्तिको रगतको सम्पर्कमा आए यो रोग सर्छ । यसको भाइरस कलेजोमा लाग्ने सबैभन्दा ‘कमन’ भाइरस हो । विश्वमा प्रत्येक वर्ष करिब १५ करोडसम्म मानिसलाई यो रोगले आक्रान्त पारेको छ भने बर्सेनि करिब तीन लाखको ज्यान जाने गरेको छ।

यो भाइरसले आक्रमण गरेपछि सुरुमा लक्षण देखिँदैन । त्यसैले धेरैलाई संक्रमण भए पनि थाहा हुँदैन । तर, भाइरसको संक्रमण बढ्दै गएपछि भने ज्वरो आउने, थकाइ लाग्ने, खानामा रूची नहुने, झाडापखाला चल्ने, छाला र आँखा पहेँलो हुने जस्ता लक्षण देखा पर्छन् । यसको उपचार भनेकै औषधि सेवन मात्र हो । यसबाट बच्न जथाभावि फालिएका ‘सिरिन्ज’ नचलाउने, ड्रग्सको कुलत छाड्ने, असुरक्षित यौनसम्पर्क नगर्ने जस्ता उपाय अपनाउन सकिन्छ ।

पढ्नै पर्ने