भाषाशैली राम्रो-मीठो

कृष्णप्रसाद पराजुली

Nepal Live

परिष्कृत भाषा र राम्रो-मीठो शैली रचनाका सौन्दर्य र प्रवाह हुन् । यस्तै भाषाशैलीद्वारा अभिव्यक्ति प्रस्ट हुन्छ र रचनाका सम्पूर्ण अंग पुस्टिन्छन् । भाषाशैली नै ठीक नभए भन्न खोजेको कुरा पनि फुत्किन्छ, अलपत्र पर्छ र गज्याङमज्याङ अर्थदेखि विश्लेषणका साधनसम्म चुर्लुम्म भएर अनुभव लिँदै जानुपर्छ।

रचनामा भनाइको अनौठो पारा अत्यन्त आकर्षक हुन्छ । सक्कली र झर्रा शब्दले शैलीमा पालिस लगाउँछन्, भावपूर्ण र सुहाउँदिला शब्दले खुल्दो अर्थ दिन्छन् । हामी 'दुर्वासा आयो' भन्छौं- रिसाएका मानिसको चित्र सामुन्ने आउँछ । 'खोलो सुसाए जस्तो जिन्दगी' र 'पम्फा जस्तो कोमल' उपमाले जीवनका मार्मिकता र कोमलताको सजीव चित्र उतारिदिन्छन्।

यसरी उपमाका नयाँ प्रयोगले शैली छरितो र कलात्मक हुन्छ । वाग्धारायुक्त भाषाले त्यसमा विलक्षणता ल्याइदिन्छ- 'तीन तारा देख्नु, फुल पार्नु' बाट जुन अर्थ पाइन्छ, त्यति संक्षेपमा वा अरु कुनै पनि शब्द जोरेर त्यत्तिकै गहिरो अर्थ ल्याउन सकिँदैन । यसरी नै उखान-तुक्काले कथन वा तथ्यको राम्रो पुष्टि गर्छ र कुराको निचोर नै भाषामा पोखिदिन्छ; जस्तो 'चिप्ला मुखको अमिलो पेट, नमच्चिने पिङको सय झड्का' आदिबाट छर्लङ्गिने गर्छ।

विचारणीय छ- जुन विषय, जुन अवस्थामा, जसका लागि लेखिन्छ, त्यसै अनुसारको भाषा र शैली हुनुपर्छ । कुनैकुनै बेला स्वाभाविकता देखाउन बोलचालको भाषा पनि प्रयोग गर्नुपर्छ । नाटक वा कथोपकथनमा सामान्य पात्रले बोल्ने भाषा साहित्यिक किसिमको र गहन भयो भने नसुहाउँदो पाराको हुन्छ । भाषामा गाली गर्ने शब्दमा पनि सुधार र परिवर्तन हुनुपरेको छ । गालीमा प्रयोग हुने 'भोटे, पोडे, थारु, दमाईँ' जस्ता शब्द सिङ्गै जातिविशेषलाई आक्षेप पार्ने, होच्याउने र भेदभाव ल्याउने शब्द हुन्छ । यस्ता शब्दबाट कुनै जाति र त्यस जातिका असल मानिसमा नराम्रो प्रभाव पर्छ, कटुता आउँछ । यसैले यिनको प्रयोग एकदमै त्यागिदिनुपर्छ।

यस्तै, अशिष्ट प्रयोगले पनि रचनालालाई कलुषित पार्छन् । 'भात खान आउनुहोस्' को सट्टा 'घिच्न आउनुहोस्' भन्यौं भने अशिष्ट प्रयोग हुन्छ । 'तीनतिघ्रे', 'कल्चौंडी' जस्ता प्रयोग पनि यस्तै हुन्।

उखान-तुक्काको अशुद्ध प्रयोगले भाषालाई फस्को र बेस्वादिलो बनाइदिन्छ । टुक्कामा 'आँखाको केराउ हुनु, नाकमा तेल हाल्नु' र उखानमा 'नाच्न नजान्ने आकाश टेढो, हुने हाँगाका चिल्ला पात' जस्ता प्रयोग गरिए भने तिनमा भएको मौलिकता मर्छ, मिल्दै मिल्दैन । यसैले 'आँखाको पुतली हुनु, वा कसिंगर हुनु, कानमा तेल हाल्नु, नाच्न नजान्ने आँगन टेढो, हुने विरुवाको चिल्लो पात' नै प्रयोग गर्नुपर्छ । बरु जिब्रोमा खारिँदा-खारिँदा अरु नै नयाँ टुक्का र उखान तयार हुन्छन्; भाषाको प्रकृतिसित मिल्ने गरी बनाउन र चलाउन पनि सकिन्छ, तर चल्तीका उखान-टुक्कामा शब्दको फेरफार गर्दा तिनमा भएको सजीवता रहँदैन।

भाषाशैली प्रभावकारी भएमा हृदय छुन्छ, चिमोट्छ, तर तिनलाई सजाउने भ्रममा जालेमाले पार्नु र निरर्थक तानाबाना जोड्नु बैगुन मात्र हो । 'पाल्नुहोस्, विश्राम गरौं' भनेर पुग्ने ठाउँङ्गा 'मान्यवरको थकित तनलाई सुखरञ्जनसमन्वित पार्नका हेतु शय्यामा पदार्पण होस्' भन्ने हो भने त्यो माकुराको जालो जस्तो हुन्छ, 'साटर्डे म यहाँलाई मिट गर्छु' भन्ने हो भने नेपाली भाषाको अस्तित्व मेटाउने र त्यसलाई ह्रास गराउने कुचाल ठाने हुन्छ।

भाषाको चमत्कार झरनाको संगीत पनि हो, बादलको कड्कन पनि हो । विशेष अवसरमा यस चमत्कारको ठूलो शक्ति हुन्छ । त्यस शक्तिले मानिसलाई कस्तै अप्ठ्यारो स्थितिमा पनि जोगाउन सक्छ।

बनार्ड शा एकपल्ट एउटी स्वास्नीमान्छेसित कुरा गर्दै थिए । त्यो स्वास्नीमान्छे उनीसित बिहे गर्न चाहन्थी । बनार्ड शाको मन आफूपट्टि तान्नका निम्ति उसले भनी- 'हामीबाट नानी जन्म्यो भने त्यसको रुप मेरो र बुद्धि तपाईंको होला हगि ?'

शा बोल्नमा उस्ताद थिए । उनले तुरुन्त जवाफ दिए- 'त्यो नानीले रुप मेरो र बुद्धि तिम्रो पायो भने नि ?'
स्वास्नीमान्छे नाजवाफ भई।

वीरबल अटकको युद्धमा गएका थिए । युद्धको गम्भीर खबरले अकबरको मन चिन्तित भयो । उनले 'वीरबल मरेको समाचार दिनेको ज्यान लिइनेछ' भन्ने ढोल पिटाए । संयोग, वीरबल युद्धमा मारिए । यो खबर लैजाने कसैको साहस भएन, खबर पनि नदिई हुँदैनथ्यो । अन्तमा एउटा कविले चलाखीसाथ दरबारमा गएर बिन्ती गरे- 'सरकार, अटक त हात लागेन-लागेन, वीरबलसँगै सारा दरबारको शोभा पनि गयो।'

अकबरले सोधे- 'के वीरबल मारिए ?'

'सरकार आफैं भन्दै हुनुहुन्छ । मैले त केही भनेको छैन', कविले उत्तर दिए।

चर्चिलले युवावस्थामा जुँगा पालेका थिए । एकदिन सहभोजमा एउटी युवतीले भनी- 'तपाईंको फोहोरी राजनीति र जुँगा दुवै मलाई कत्ति मन पर्दैन।'

चर्चिलले झटपट उत्तर दिए- 'नडराउनुहोस्, तपाईं यीमध्ये कुनैका सम्पर्कमा पनि आउन पाउनुहुन्न।'

माथिका उदाहरण सबै वाक्‌चमत्कार हुन्, तर कुनै बेला तिनमा प्रयोग ठेगानासित भएन भने अनर्थ पनि हुन्छ । भाव-प्रकाशनमा शिल्पचातुर्यको जति महत्त्व छ, शिष्टता, अनुशासन र सौन्दर्यको पनि त्यत्तिकै आवश्यकता हुन्छ । यसरी प्रयास गर्दागर्दै आफ्नै निजी र विशिष्ट शैली बन्न सक्छ । त्यसको छाप रचनामा नपरी छाड्दैन । रचनाकार भाषा र शैलीद्वारा नै सबैबाट परिचित हुन्छ।

(राम्रो रचना मीठो नेपाली, २०२३ बाट।)

पढ्नै पर्ने