नोबेल पुरस्कार विजेता काजुओ इसिगुरो भन्छन्- 'मेरो पहिलो लेखन अस्वीकृत भएको थियो'

नेपाल लाइभ

Nepal Live

यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार बेलायती लेखक काजुओ इसिगुरोले पाएका छन्। ६२ वर्षिय यी लेखक खासमा जापानको नागासाकीमा जन्मेका थिए। उनका हालसम्म आठ वटा पुस्तक प्रकाशित छन्। उनै इसिगुरोसँग पेरिस रिभ्युका लागि सुसान्या हन्नेवेलले सन् २००८ मा लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरेका छौं।

...

‘द रिमेन अफ द डे’मा चर्को भाषामा लेख्ने लेखक आफै भने विनम्र छन्। पहिलो पटक उनलाई भेट्दा उनले मलाई ढोकामै आएर स्वागत गरे र चियाको प्रस्ताव राखे। उनको हाउभाउले उनी दिउसो चार बजे चिया नियमित खाने मान्छेजस्तो लागेन। चिया पछि उनले शान्त भएर आफ्नो विगत सम्झन थाले।

काजुओ इसिगुरो १९५४ मा नागासाकीमा जन्मेका थिए। पाँच वर्षको हुँदा परिवारसँग दक्षिणी लण्डनको गाइल्फोर्डमा बसाइ सरे। उनी त्यसपछिको उनन्तीस वर्ष जापान फर्किएनन्। (उनको जापानीज उनको भनाइ अनुसार ‘डरलाग्दो’ छ।) सत्ताइस वर्षमा उनको पहिलो उपन्यास छापियो द पेल भ्यू अफ हिल्स्। नागासाकीको कथामा लेखिएको यो उपन्यासले सबैबाट राम्रो प्रशंसा पायो। उनको दोश्रो उपन्यास एन आर्टिस्ट अफ द फ्लोटिङ्ग ओर्डले बेलायतको प्रतिष्ठित ह्वाइटब्रेड पुरस्कार पायो। र तेस्रो द रिमेन्स् अफ द डे ले उनको नाम अन्तर्राष्ट्रियरुपमा स्थापित गरायो। यो अङग्रेजी भाषामा मात्रै दश लाखभन्दा बढी बिक्यो। यसले बुकर पुरस्कार पायो। र एन्थोनी हप्कीनले अभिनय गरेको फिल्म नै निर्माण भयो, मर्चेन्ट आइभरी नाममा। इसिगुरोलाई अडर अफ इङलिस एम्पायर संस्थाको अफिसर तोकियो र उनको फोटो लामो समय टेन डाउनिङ्ग स्ट्रिटमा झुन्डियो। आम मान्यता विपरित उनले अर्को उपन्यास द अनकन्सोल्ड ल्याउँदा धेरै पाठक आश्चर्यमा परे। पाँच सय पृष्ठको सो पुस्तक दिमाग खियाउनुपर्ने खालको थियो। केही आक्रोशित समालोचकले यसलाई नराम्रोसँग उधिने।

जेम्स उडले लेखे– यसले आफ्नै अलग्गै वर्गिकरणको खराब लेखनको आबिष्कार गरेको छ। तर अरु यसको प्रतिरक्षामा अगाडि आए। अनिता ब्रुक्नर आफ्ना सुरुवाती शंकाबाट अघि बढेर एउटा मास्टरपिसको रुपमा उल्लेख गरिन्। यसबाहेक उनका ह्वेन वी वयर अर्फेन्स र नेभर लेट मि गो प्रकाशित छन्, जसले राम्रो समीक्षा पाएका छन्। इसिगुरोले पटकथाहरु र टेलिनाटकहरु पनि लेखेका छन्। उनले पछिल्लो समय स्टासी केन्टका लागि ज्याजको लागि गित लेखेका छन्। यी दुईको सहकार्यमा बनेको ब्रेकफास्ट अफ द मर्निङ्ग ट्रयाम फ्रान्समा निकै राम्रो बिक्यो।

तपाईले सुरुवातबाटै उपन्यासमा सफलता पाउनुभयो। तर, के तपाईंको युवा कालमा कुनै लेख थिए, जुन कहिल्यै छापिएनन्?

विश्वविद्यालयपछि जब म पश्चिम लण्डनका बेघर मान्छेहरुका लागि काम गरिरहेको थिएँ, मैले आधा घण्टा लामो रेडियो नाटक लेखेँ र बिबिसीलाई पठाएँ। यो अस्वीकृत भयो तर मैले प्रेरणादायी प्रतिकृया पाएँ। यो एक हिसाबले खराब अनुभव थियो तर यो मेरो पहिलो कृति थियो, जुन अरुलाई देखाउन अप्ठ्यारो लागेन। यसको नाम ‘पोटेटोज एण्ड लभर्स’ थियो। जब मैले पाण्डुलिपी बुझाएँ, त्यसमा पोटेटोको हिज्जे गलत भएको रहेछ। नाटक दुई युवाहरुको बारेमा थियो, जो माछा–चिप्स क्याफेमा काम गर्थे। दुवै डेढा छन् तर डेढो भएको स्वीकार गर्दैनन्। यो तथ्य एकअर्काले उल्लेख गर्लान् भन्ने डरमा छन्। कथाको अन्त्यमा उनीहरु विवाह नगर्ने निर्णयमा पुग्छन्, जब कथाको म पात्रले अनौठो सपना देख्छ। सपनामा उसले समुद्रको घाटमा एक परिवार आफूतिर आइरहेको देख्छ। जसको अभिभावक र छोराछोरीदेखि कुकुरसम्म डेढो हुन्छन्, र उसले भन्छ, ठीकै छ हामीहरु विवाह गर्दैनौं।

तपाईंलाई त्यो कथा लेख्न केले प्रेरित गर्यो?

त्यो समय म आफू के करियर अपनाउने भनेर सोच्न थालेको थिएँ। संगीतकारको रुपमा म असफल भइसकेको थिएँ। एएन्डआरका मान्छेहरुसँग मेरो अप्वाइन्टमेन्ट हुन्थ्यो। भेटको केही क्षणमै उनीहरु भन्थे, भाइ यो हुनेवाला छैन। त्यसपछि मैले सोचें, मे रेडियो नाटकमा जानुपर्छ।

त्यसपछि, लगभग दुर्घटनावश मैले एउटा सानो विज्ञापन देखें। त्यो इस्ट एन्जेलिया विश्वविद्यालयमा माल्कोम ब्राडबरीले स्नातकोत्तर तहको लागि पढाउने क्रियटिभ राइटिङ कोर्स थियो। आज यो निकै चर्चित कोर्स हो तर ती दिनहरुमा यो हाँसोलाग्दो कुरा थियो, अमेरिकन ठस्साको रुपमा। मैले लगत्तै पत्ता लगाएँ, यो अघिल्लो वर्ष सञ्चालन भएको रहेनछ। कारण, यसमा आवश्यक मान्छेहरुले दरखास्त नै दिएनन्। कसैले मलाई बतायो इयान म्याक एवेनले यो काम दशक पहिल्यै गरेका थिए।  मैले सोचें, उनी त्यो समयका सबैभन्दा उत्साहप्रद युवा लेखक हुन्। तर, त्यो कोर्स गर्नुको मेरो प्राथमिक आकर्षण एक वर्षको लागि म पुन विश्वविद्यालय जान सक्थें। त्यो पनि सरकारी छात्रावृत्तिमा र अन्तमा मैले ३० पेजको एउटा आख्यान बुझाए मात्रै पनि पुग्थ्यो। मैले माल्कोम ब्राडबरीलाई आवेदन सँगै सो रेडियो नाटक पठाएँ।

म स्वीकृत हुँदाखेर केही अचम्मित भएको थिएँ। किनकि यो अचानक वास्तविक भएको थियो। मैले सोचेको थिएँ, यी लेखकहरुले मेरो कृतिहरुलाई गहिरोसँग हेर्नेछन् र लाजमर्दो अवस्था उत्पन्न हुनेछ। कसैले मलाई भाडामा लिन सकिने एउटा झुप्रो घरको बारेमा बतायो। सो घर पहिले लागुपदार्थ सेवनकर्ताहरुको सुधार केन्द्र थियो। मैले फोन गरेर भनें, मलाई एक महिनाको लागि बस्ने ठाउँ चाहिएको छ, जहाँ म आफू स्वयंलाई लेखनबारे सिकाउन सकूँ। र, १९७९ को ग्रिष्ममा मैले त्यही मात्रै गरें। यो समय पहिलो पटक मैले छोटा कथाहरुको संरचनाहरुबारे गम्भीर भएर सोचें। मैले धेरै समय लगाएर दृष्टिकोण, कथा कसरी भन्ने जस्ता यावत् कुराहरु ठम्याएँ। र, अन्त्यमा देखाउनका लागि मसँग दुईवटा कथाहरु तयार भए, जसले मलाई बढी सुरक्षित महसुस गरायो।

के यो त्यही वर्ष थियो, जब इस्ट इन्जेलियामा तपाईंले पहिलोपटक जापानबारे लेख्नुभयो?

हो। मैले आफू वरिपरिको संसार छाडेर हिँडेपछि मेरो कल्पना सजिव भएको पाएँ। जब मैले कथा लेख्न प्रयास गरेको थिएँ– ‘म क्याम्डेनको रेल स्टेसनबाट बाहिर आएँ र म्याकडोनाल्ड गएँ। त्यहाँ विश्वविद्यालयको साथी ह्यारी थिए।’ त्यसपछि के लेख्ने भनेर मैले सोच्नै सकिनँ। जबकि मैले जापानको बारेमा लेखें, मभित्र केही खुलेजस्तो भयो। कक्षामा देखाएको मेरो कथामध्येको एउटा कथा नाकासाकीमा बम खसाइएको समयको थियो। र, यो एउटा युवतीको नजरबाट भनिएको थियो। आफ्नो सहपाठीहरुबाट मैले ठूलो हौसल्ला पाएँ। तिनीहरु सबैले भने, यो जापानी सामाग्री उत्साहप्रद छ। त्यसपछि मैले फ्याबर(प्रकाशक)बाट तीन कथाहरु तिनको परिचय शृंखलामा छानिएको चिठी पाएँ। यो शृंखलाको इतिहास निकै राम्रो थियो। मलाई थाहा थियो, टम स्टोपार्ट र टेड ह्युग यसरी नै प्रकाशमा आएका थिए।

के यो ‘अ पेल भ्यु अफ हिल्स’ लेख्न सुरु गरेको बेलाको हो?

हो, र फ्याबरका रोबर्ट म्याक्रमले मलाई पहिलो एडभान्स दिए ताकि मैले त्यसलाई सकाउन सकूँ। मैले कोर्निस सहरमा आधारित एक युवती र उसको अशक्त सन्तान, जसको धुमलिएको पृष्ठभूमि छ, बारेमा कथा लेख्न थालेको थिएँ। ‘त्यो युवती म आफ्नो जीवन यो बच्चाको लागि समर्पण गर्ने छु’ र ‘म एक मान्छेसँग प्रेममा परेको छु र यो बच्चा घाँडो भइरहेको छ’ भन्ने दुई मानसिकतामा झुलिरहेको देखाउन चाहन्थें। म बेघरहरुको लागि काम गरिरहँदा यस्ता धेरै मान्छेहरु भेटेको थिएँ। जब कक्षामा मैले जापानीज छोटा कथाहरुको राम्रो प्रतिक्रिया पाएँ, मैले यो कथालाई ध्यान दिएर हेर्न थालें। मलाई महसुस भयो, यदि यो कथा मैले जापानमा आधारित बनाएको भए जे कुरा रुखो र साँघुरो देखिएको छ, भर्भराउँदो भएर आउने थियो।

तपाईंको पाँच वर्षको उमेरदेखि जापान जानुभएको छैन। तर, तपाईंको अभिभावक कतिको मौलिक जापानी हुनुहुन्थ्यो?

मेरी आमा धेरै अर्थमा उनको पुस्ताको जापानी महिला जस्तै छिन्। उनका केही खास बानीहरु छन्, जुन आजको मापदण्डमा नारीवादको असर नपरेको जापानी समाजको झल्को दिन्छ। जब म पुराना जापानी फिल्म हेर्छु, म धेरै महिलाहरु देख्छु, जो मेरी आमाजस्तै बोल्छन् र बानी व्यहोरा देखाउँछन्। परम्परागत जापानी महिलाहरु पुरुषभन्दा केही फरक औपचारिक भाषा बोल्ने गर्थे, आजकाल त्यो खालको सीमारेखा भेटिदैन। असीको दशकमा मेरी आमा जापानको भ्रमणमा जाँदा उनले भर्खरका किशोरीहरुले पुरुषको जस्तै भाषा बोलेको देखेर अचम्मित भएको सुनाउँथिन्।

आणविक बम खसालिँदा मेरी आमा नाकासाकीमै थिइन्। उनी किशोर कालको अन्तिम अवस्थामा थिइन्। उनको घर बांगिएको थियो। र, जब पानी पर्यो, उनीहरुले क्षतिको वास्तविक अवस्था देखे। समुद्री आँधीले भर्खरै छोएर गएको जस्तो घरको छाना सबै ठाउँबाट चुहिरहेको थियो। जब त्यो घटना घटेको थियो, मेरी आमा सहित चार सन्तान र आमाबाबुमध्ये उनी एकजना मात्रै घाइते भइन्। एउटा उछिट्टिएको टुक्राले उनलाई लागेको थियो। परिवारका अरु सदस्य सहयोगका लागि बाहिर जाँदा उनी घरमै आराम गरेर बस्थिन्। तर उनी भन्छिन्, जब उनी युद्धको बारेमा सोच्छिन्, सबैभन्दा डरलाग्दो आणविक बम थिएन। बरु उनी बम हमलाबाट बच्न फ्याक्ट्रिमुनि बनाइएको भूमिगत बास सम्झिन्छिन्। उनीहरु सबै जहाँ बास बसेका थिएँ, त्यसको ठीक माथि बमहरु खसिरहेका थिए। त्यो बेलामा उनलाई आफू मर्छु कि भन्ने सोच बलियो गरी आउँथ्यो।

मेरो बुवा कुनै पनि अर्थमा आम जापानी जस्ता थिएनन्। उनी सांघाइमा हुर्किएका थिए। उनमा चिनियाँ गुण थियो। त्यो के भने जब समस्या आइपथ्र्यो, उनी मुस्कुराउँथे।

तपाईंको परिवार किन बेलायतमा सर्यो?

सुरुमा यो एउटा छोटो यात्रा मात्र हुनेवाला थियो। मेरो बुवा समुद्रविद् थिए।  ब्रिटिश नेशनल इन्टिच्युट अफ ओसियोनोग्राफीका प्रमुखले उनलाई आफ्नो आविष्कारको थप खोज गर्न आमन्त्रण गरेका थिए। मैले त्यो के हो भन्ने कहिल्यै पनि जान्न सकिनँ। त्यो संस्था शितयुद्धको समयमा बनाइएको थियो। त्यसैले यसको बारेमा गोप्यता कायम गरिएको थियो। मेरो बुवा काम गर्ने ठाउँ जंगलको बीचमा पथ्र्यो। म त्यहाँ एकपटक मात्रै गएको थिएँ।

तपाईंलाई यो बसाइसराइ कस्तो महसुस भएको थियो?

मलाई लाग्दैन कि मैले यसको प्रभाव बारे बुझेको थिएँ। म र मेरो हजुरबुवा नाकासाहीको एउटा डिपार्टमेन्ट स्टोरमा एउटा ठूलो खेलौना किन्न गएका थियौं। त्यहाँ एउटा कुखुराको ठूलो तस्बिर राखिएको थियो। त्यहाँ एउटा बन्दुक दिइन्थ्यो र तस्बिरमा हान्न लगाइन्थ्यो। यदि तपाईंले ठीक ठाउँमा तारो हान्न सक्नुभयो भने अण्डा झथ्र्यो।

तर मलाई खेलौना ल्याउन दिइएन। मलाई सबैभन्दा नराम्रो लागेको त्यही थियो। यात्रा बिओएसी जेटमा तीन दिनको रह्यो। मलाई आफू बसेको कुर्सीमा निदाउन खोजेको, मान्छेहरुले अंगुर ल्याएका र इन्धन भर्नलाई रोक्दा ब्युझेको याद आउँछ। त्यसपछि फेरि प्लेन चढ्दा म १९ वर्षको थिएँ।

तथापि, बेलायतमा रहँदा बेखुसी भएको कुनै क्षण याद आउँदैन। बढी उमेर भएको भए त्यो समय केही कष्टकर हुने थियो होला। मलाई भाषाको लागि संघर्ष गरेको सम्झना छैन। जबकि मैले भाषाको लागि पनि कक्षा लिइनँ। मलाई काउब्वाइ फिल्म र टिभी शृंखलाहरु मन पथ्र्यो। र, मैले केही अंग्रेजी त्यहीँबाट सिकें। मेरो सबैभन्दा मन पर्ने रोबर्ट फुलर र जोन स्मिथ अभिनित ‘लारामी’ थियो। द लोन रेन्जर भन्ने पनि हेर्थें। जुन जापानमा समेत चर्चित थियो। मैले ती काउब्वाइलाई आदर्श बनाएँ। तिनीहरु हुन्छ को साटो अवश्य भन्थे। र, मेरा स्कूलका शिक्षकहरु सोध्थे, कजुव, यो अवश्य भनेको के हो? मलाई लोन रेन्जरले भन्ने र शिक्षकले भन्ने तरिका फरक रहेको पत्ता लगाउन समय लाग्यो।

(पेरिस रिभ्युबाट साभार, अनुवादः श्रवण उप्रेती)

पढ्नै पर्ने