'आगोको कुण्ड'बाट दशैं सम्झना- त्यो दशैं, यो दुःख 

अविरल यात्री

Nepal Live

कुनै बेलाको दशैं यस्तो हुन्थ्यो- सोह्र श्राद्ध सकिएपछि रातोमाटो र कमेरो बोक्ने चटारो । लिपपोत गर्न नसके पनि माटो खनेर सक्नेजति बोकिन्थ्यो। 

म खन्थेँ । बैनीले बोरामा उठाएर नाम्लो मिलाइदिन्थी । हात तानेर मलाई उठ्न सघाउँथी।

'ओहो ! यिनीहरुको रहर' आमाको अनुहार गोदावरी झैं फुल्थ्यो।

दशैं छिटो बोलाउने रहरले आमालाई माटो मुछेर सहयोग गरिन्थ्यो । दिउँसो पिङ खेल्न जाँदा बाल सखाहरुलाई नयाँ लुगा र खल्तीभरिको च्यूरा देखाउने ताक हुन्थ्यो । त्यसैले बिहान झिसमिसेमै उठेर भैंसीलाई दिनभरि पुग्ने घाँस-सोत्तर काटेर ल्याइन्थ्यो । अहिलेका जस्तो फेन्सी कपडा एकपटक पनि जिउमा नहाली बाल्यकाल बिताएका अनुभव ताजै छन् । तर पनि भात खान श्राद्ध र चिउरा खान दशैं पर्खनुपर्ने ती दिनहरू अहिलेभन्दा निकै रमाइला थिए।

नयाँ कपडा पनि फेन्सी कहाँ हो र ? स्कुलको ड्रेस पाइन्थ्यो । दशैंमा नयाँ स्कुलको ड्रेस लगायो, हुत्तिँदै पिङमा गयो।

त्यही नयाँ लुगाको सुगन्ध अनि खल्तीको च्यूराले दशैं साँच्चै उल्लासमय हुन्थ्यो । निधारको टीका र कानको जमरा अडियून्-नअडियून्, थोरै भए पनि दक्षिणामा पाएको नयाँ नोट देखाउन दौडिँदै पिङमा पुगिहालिन्थ्यो । लाग्थ्यो, दशैं भनेको यही हो । साथीहरुले कति दक्षिणा पाए भन्ने मीठो उत्सुकता हुन्थ्यो र सोधिन्थ्यो पनि । देखाउनकै लागि लंगुरबुर्जामा दाउ हेरेर राखिन्थ्यो, खेलिन्थ्यो र अन्तिममा सबै पैसा हारिन्थ्यो।

हार्नुको पीडाले बरु त्यति रुवाएन, जति मैले हार्दा भाइ-बहिनी ठिक्क पर्योा भनेर रमाउँदा मन रुन्थ्यो । पैसा हरायो भनेर फेरि बुबासँग माग्छु भनेर सोचिन्थ्यो । तर, आफू घर पुग्नुअघि नै भाइबैनीले कुरा लगाइसकेका हुन्थे । अरू पैसा पाउने आशामा बुबासामु रुँदा उल्टो दुई थप्पड खाइन्थ्यो । दिनभर रोएरै बित्थ्यो।

पिटाइ खाएकोमा भाइबैनीको खुसी बढ्थ्यो । आफ्नो भने दशैं आउनुको सारा उमंग एकाएक टुट्थ्यो । तर जे-जस्तो भए पनि बाल्यकालका ती दशैं जस्तो रमाइलो कुनै भएनन् । दशैं त बच्चामा आउँथ्यो, अहिले त आँसु मात्रै आउँछन्।

समय बदलियो । ठूलो भइयो । जुँगाका रेखी बसे । घरको व्यवहार बुझ्दा र सोच्दा जुरुक्क उठेर कतै हान्निऊँ र पैसा कमाऊँ भन्ने मन भयो । बुबाका दु:ख, आमाको अनुहारका भरिएका अभावका पीडाले 'जा जा !' भने । तिनै आमाको माया र बोलीले भने 'नजा नजा' भनेर बाटो छेके।

आखिर दु:खले जित्यो, प्वाँख पलाएको बचेरोले गुँड छोड्यो । राजधानी 'मायानगरी' रहेछ । दिनभरि दु:ख गर्योए, बेलुका ज्याला र साहुको गाली । आमाले पस्केको भात छोडेर हिँडेको सम्झेर परेलीको डिल भत्किन्थ्यो । वर्षभरि कमायो अनि हरेक वर्ष दशैंको नवमीको दिन ट्रकको छतमा बसेर घर गयो।

जिम्मेवारी आफूले लिएपछि आफ्ना रहरहरू खै कता छुट्दा रहेछन् । भाइ-बैनीलाई नयाँ कपडा, आमालाई मखमलको न्यानो चोली अनि बुबालाई बाक्लो स्वेटर । आमा त्यही चोली लगाएर गोठ र घर, भाइबैनी नाच्दै पिङमा, बुबा स्वेटर लगाएर खेतमा । आहा ! सबैको आँखामा खुसी देखेर आफ्नो जिउको जाडो त कता पुग्थ्यो कता।

कमाउन थालेपछि कहिल्यै रित्तो हात घर गइनँ । सबैलाई केही न केही बोकेरै गएँ । 'दाइ आयो, दाइ आयो !' भन्दै झोला लिन बाटोसम्म दगुर्दै आउने भाइ-बैनीको बोली र आँगनबाट हाँस्दै हेरिरहेकी आमाको अनुहारले घर पुग्नुको आनन्द चौगुणा बढाउँथे।

आमा सोध्नुहुन्थ्यो 'सबैलाई लुगा ल्याएछस्, आफूलाई के किनिस्?'

म भन्थेँ 'मेरा त सबै नयाँ छन् आमा, किनिनँ।'

आमाले किनकिन एकटकले हेरिरहनुभयो । खै के सम्झेर रुनुभयो । तर, म फुरुंग भएँ।

सोचेँ- आमा, म सानो हुँदा नयाँ ड्रेसको खल्तीमा च्यूरा भरेर पिङमा मच्चिँदा तिमी नि म जस्तै खुसी हुन्थ्यो है !

परदेश बस्दा अरू सबै दु:ख एकातिर अनि परिवारबाट टाढा भएको बेला चाडबाड आउँदाको दु:ख अर्कोतिर । यही दु:ख ठूलो । यही दु:खले पिरोल्ने । लाग्छ- परदेशीलाई चाडबाड कहिल्यै नआओस् ! चाडपर्व एक्लै मनाउनु र एक्लै खाना बनाएर एउटा कुनामा टोलाएर खानुले साह्रै नराम्ररी दुख्ने रहेछ।

समय सधैं एकनास रहेन । नेपालमा कमाएर आफू पढ्नसम्म त जसोतसो सकिन्थ्यो, तर घरको गाह्रो-साह्रोमा पुर्यापउन गाह्रो । आखिर घरमा कमाउने पनि को छ र ? पढ्दै गरेका साना भाइबैनी, उमेर पाक्दै गरेका बुवाआमा । बिहे पर्खेका दिदीहरु । घरको सबै दायित्व आफ्नै टाउकोमा आयो । जीवनभर दु:ख गर्दागर्दै बुबा थाकिसक्नुभएको थियो।आमाको अनुहारका हजार चाउरीका रेखा देख्दा लाग्थ्यो, हजार दु:खको प्रतिमूर्ति मेरै आमा हुन्।

मलाई बाबाको बोझ हलुका बनाउने मन भयो । आमाको दु:ख बिसाउने चौतारी बनाउन मन लाग्यो । यता सोच्छु हुँदैन, उता सोच्छु हुँदैन ।

आमाले हरेक दिन तुलसीका मठमा जल चढाउँदा एउटै मन्त्र जप्नुहुन्थ्यो- 'हे परमेस्सोरी ! मेरा सन्तानले बाटो पाऊन्, चारै दिशा खुला होऊन् इनका लागि!'

खै, आमाको प्रार्थना भगवानले सुने जस्तो लागेन । अन्त्यमा हजारतिर भौंतारिँदा समाधानको एउटै बाटो निस्क्यो– पासपोर्ट । परराष्ट्र मन्त्रालयले सजिलै पत्यायो।

मेनपावर भन्नु त इन्द्रजाल रहेछ, कुरा जति सुन्यो उति मोहनी लाग्ने । विदेश जाने योजना बनाउन्जेल र सपना देखुन्जेल त खुसी लागेको थियो । तर, घर छोड्ने बेला मन एकतमासको भयो । मूलढोकामा तामाका स-साना २ वटा कलश, कलशमा फूल । खै आमाले कतिबेला सिँगारिसक्नुभएछ । बैनीले थालमा अक्षता मुछिछ । भाइको हातमा दहीको कचौरा । मलाई मन थाम्न निकै गाह्रो भयो । हिँड्ने बेला बुबाले टीका लगाइदिनुभो र मन दह्रो पारेर भन्नुभयो, 'मर्दको छोरा ! राम्रोसँग जा, जिन्दगी यस्तै हो।'

आमाले दही खुवाउँदै भन्नुभयो- 'सकेसम्म नजा ! यतै केही गरे हुन्न ? तँलाई मैले झैं पस्केर कसले खान देला?'

दिदीहरू रोए । भाइ तलसम्म पुर्या उन आयो । बुबाले आँगनबाटै म हिँडेको हेर्नुभयो । मैले फर्केर हेरेँ- आमाले आँखाले देखुन्जेल आँसु बर्साउँदै मलाई हेरिरहनुभएको रहेछ । दिउँसोको घाममा आमाको मखमली चोली टल्केको थियो । मन त्यो बेला कस्तो-कस्तो भयो । भक्कानोले घाँटीमा ख्याप्पै समायो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । आउने-जाने हजारौं यात्री । कोही हाँसीहाँसी फोटो खिचाइरहेका, कोही आफन्तजनसँग अँगालो हालेर रोइरहेका।

यहाँ पुगेपछि मन निकै भक्कानियो । न आफ्ना साथमा रुने कोही छन्, न फोटो खिचाउने । आँसु त अघि नै कतिखेर झरिसकेछन्, गाला तातो भएपछि थाहा पाएँ ।

जहाज उड्यो । जहाजमा मसँगै मेरा सपना पनि उडे । ४ घन्टाको यात्रापछि जहाज ल्यान्ड भयो । एयरपोर्टबाट बाहिर निस्केको के थिएँ, यति धेरै गर्मी, मानौं म कुनै आगोको कुण्डमा झरेको हुँ।

गर्मी एकातिर, अर्कोतिर मनमा डरको जगजगी । नेपाली बाहेक अरु भाषा बोल्न नजान्नु, हातमा सीप नहुनु अझ त्यसमाथि दलालले देखाएको झुटो सपना । यो जत्तिको पीडादायी के नै हुँदो रहेछ र!

केही दिन बिते, बिस्तारै अभ्यस्त हुन थालियो । वातावरणमा घुलमिल हुँदै गइयो । तातो हावा पच्यो । भोक-प्यास खप्न सिकेँ । पसिनाले नुहाउन सिकेँ । मन थाम्न जिन्दगीले सिकायो।

परदेश बस्दा अरू सबै दु:ख एकातिर अनि परिवारबाट टाढा भएको बेला चाडबाड आउँदाको दु:ख अर्कोतिर । यही दु:ख ठूलो । यही दु:खले पिरोल्ने । लाग्छ- परदेशीलाई चाडबाड कहिल्यै नआओस् ! चाडपर्व एक्लै मनाउनु र एक्लै खाना बनाएर एउटा कुनामा टोलाएर खानुले साह्रै नराम्ररी दुख्ने रहेछ।

कमाएको पैसा घरमा नियमित पठाइरहन्थेँ । त्यो पैसाले भाइबैनीको खुसी किन्ने अनुमति त फोनमा दिन्थेँ । तर, उनीहरुको खुसी अनुभव गर्न नपाउनुले बेचैनी थपिन्थ्यो। 
दशक बढी परदेश बस्दा धेरै कुराको अनुभव भयो । बेलुका कामबाट थाकेर फर्कियो, हातगोडा भोकले थरथराउँछन् ! त्यसैमाथि आफैं पकाएर खानुपर्ने दैनिकी । थकाइ भन्न नपाइने परिस्थिति । बिरामी भएर एकदिन काममा नजाँदा दुई दिनको सेलरी काट्ने कम्पनीका बुच्चरहरू ! अनि जस्तै परे पनि सहनुको विकल्प के नै छ र?

सम्झिन्छु- अहिले घर बस्नेको सोचाइको थप्पडभन्दा उ बेलाको बुवाको थप्पड धेरै मीठो थियो । जब कमाउने भइयो, कहिल्यै दशैं आएन । अब त झन् आउने कल्पनै छैन ।

आफू बिरामी हुँदा सेलरी नपाएको अवस्था, महँगो उपचारले थलिएको कुरा बताउँदा समेत नपत्याउने परिवार । 'भत्के-बिग्रे सबै साहुले बेहोर्छ' अनि 'कहिले महिना मर्ला र तलब दिउँला भन्दै साहु बसेको हुन्छ' भनेर सोच्ने घरका सदस्यको मानसिकता!

दु:खको के मोल ? आँसुको के भाउ ? परिश्रमको के गन्ती?

बेलुका कोठामा गयो । सकिनसकी पकायो । पेट रुच्दो खायो । बँचेको बिहान टिफिनको डब्बामा । १२ बजे त्यही चिसो बासी भात खायो।

सानो छँदा बिहानको भात घ्यूमा भुटेर आमाले कति स्वादिलो 'मिठीमाम' बनाइदिनुहुन्थ्यो । आज मलाई किन-किन बच्चा हुन मन लाग्यो, मिठीमाम खान मन लाग्यो । यहाँ प्यासमा पानी पिउन र त्यही बासी भात खान पनि छहारी भेटिन्न।

थाकेर लोथ भएको बेला मस्त सुत्दा कहिलेकाहीँ उठ्न ढिला हुन्छ । समयमा काममा नपुगे हजार प्रश्न । कम्पनीले उपलब्ध गराएको पुरानो गाडी अलि  वेगसित कुदायो, क्यामेराले खिचिक्क पार्छ । जरिवाना नतिरी उम्किनै सकिन्न।

कुनै महिनामा पैसा छैन भनेर घरमा खबर गर्छु भन्यो, घरबाट तयारी प्रश्न आइहाल्छ- यसपाली पैसा किन कम आयो?

समस्या बताउँदा उताबाट सजिलै कपोलकल्पित कुरा आउँछ, 'किन हुँइक्याउनु परो सान देखाएर ? त्यही पनि साहुले तिरिहाल्छ नि!'

यही हो परदेशमा किनेको खुसी । घर बस्नेको सोचाइ यस्तो हुन्छ, मानौं यहाँ सम्पूर्ण कामदारको गल्ती माफ गरेर साहु पैसा बाँड्न बसेको छ । यहाँका हस्पिटल फ्रीमा उपचार गरिदिन्छन्। 

आफूले कमाउन नसक्ने हुँदाको दशैंले जति खुसी दिन्थ्यो, आज आफू कमाउने भएपछि त्यस्तो खुसी कहिल्यै आएन । आयो त केवल आँसु आयो।

सम्झिन्छु- अहिले घर बस्नेको सोचाइको थप्पडभन्दा उ बेलाको बुवाको थप्पड धेरै मीठो थियो । जब कमाउने भइयो, कहिल्यै दशैं आएन । अब त झन् आउने कल्पनै छैन । परदेश आए पनि म उस्तै छु, दु:ख उस्तै छ, तर घर बस्नेहरु फेरिएछन्!

मलाई फेरि बच्चा हुन मन छ, घरै बस्न मन छ, सबैको माया पाउन मन छ । परदेश छोडेर हिँडिहालूँ भने समय आफू अनुकूल अलि भइसकेको छैन । अझै केही समय गुजार्नैपर्ने बाध्यता छ । अब त बाध्यता पनि रहरमा परिणत भइसके । दिनहरु जुन बोझ थिए, ती रहरलाग्दा भइरहेका छन् । यसैमा रमाइरहेको छु । अझ भनूँ, रमाउने बानी परेको छ। 
आफ्नो निधारमा पसिना ओभाएको दिन घरको चुलो ओस्सिने पक्का छ । त्यसैले पनि परिवारको खुसीले मलाई श्रम गर्न ऊर्जा दिइरहेको छ।

रोएर संसार जितिन्न । श्रम बाहेकको अर्को विकल्प पनि त छैन । यसपालीको दशैं यस्तै भो, अर्को साल त जसरी पनि जान्छु भन्ने अठोट गर्न सक्नु नै समय व्यतीत गर्न सहज हुने यौटा सहज उपाय हो । आखिर यसरी अठोट नगरेको साल पो कैले थियो र!

हेटौंडा, हाल दुबई ।

पढ्नै पर्ने