यसरी खुम्चिँदै खुम्चिँदै गए मेरा दशैं

मनोज अधिकारी

Nepal Live

घरबाट खासै टाढा नबसे पनि दशैं मान्न घर जान नपाउने व्यक्तिमध्ये म एक हुँ। दशैंभरि घरमै बसेर रमाइलो गर्ने रहर भए पनि अवसर सबैलाई नहुँदो रहेछ। यसमा धेरैका अनेक कारण हुन सक्छन्। खासमा रोजगारी सबैभन्दा ठूलो कारण बनेर धेरैका लागि तगारो बन्दो रहेछ। त्यसको म पनि एक प्रतिनिधि हुँ।

काठमाडौंबाट काभ्रेको पाँचखाल पुग्न मात्र ४२ किलोमिटरको दूरी छ। सार्वजनिक बसमा गए करिब दुई घन्टा, आफ्नै बाइकमा गए एक घन्टा मात्रको दूरी हो। तर पनि घरमै आनन्दले बसेर दशैं मनाउन नपाएको २० वर्ष नाघिसकेछ। अहिले फर्केर हेर्दा ती दशैं र यी दशैंको तुलना गर्न मन लाग्छ। त्यो बेलाको खुसी, उमंग र उल्लासको तुलना अहिलेका कुनै दशैंसँग हुन सक्दैन। निष्कर्ष यस्तो निस्कन्छ, त्यो दशैं फेरि जीवनमा फर्केर आउँदा पनि आउँदैन।

पहिले काठमाडौं हुँदा पनि दशैंमा नजिकैको घर जान सकिएन। त्यसपछि पोखरा पाँच वर्ष बस्दा छोटो अवधिका लागि दुई पल्ट मात्र पुगियो। अहिले चार वर्षयता अमेरिकाबाट नेपाल फर्कन सकिएको छैन। यसमा विविध कारणले काम गरेका छन्।

दशैं आउनु हप्तादिन अघिदेखि नै गाउँमा लंगुर बुर्जा सुरु भइसक्थ्यो। स्कुलबाट छुटेपछि पाना र इँटामा यता १५, यता १० भन्दै एक सुका (पच्चीस पैसा) लाई दुईटा रेखाको बीचमा राखेर खुब लंगुर बुर्जा खेलिन्थ्यो।

दुई तीन रुपैयाँको हारजितले पनि खुसीको ब्यारो मिटरमा ठूलो तलमाथि पार्थ्यो। आज हारे भोलि जित्छु भन्ने अठोटले आफ्नै मन बुझाइन्थ्यो। कहिले पैसा नभएर अरुले खेलेको हेरेर पनि खेलको धित मारिन्थ्यो। कहिले सुका वा मोहोर सापट लिएर पनि खेल्ने मौका पाउँदा खुब भाग्यमानी ठानिन्थ्यो। त्यही सापटीबाट पाँच, सात रुपैयाँ जित्यो भने त गाउँभरिकै केटाकेटीमाझ चर्चाको पात्र भइन्थ्यो। 

लंगुरबुर्जा मात्र हो र गुच्चा खेल्ने हाम्रो छुट्टै ग्रुप थियो। रमेश, दिनेश, महेश, अञ्जन, दामोदर लगायतका साथीभाई गुच्चाका सहकर्मी थिए। यति खेलिन्थ्यो कि बिहानदेखि बेलुकासम्म घरको आँगन र बारीदेखि खोला किनारसम्म हामी गुच्चामै दिन बिताउँथ्यौं। खुर्रर दौडेर घरमा पुग्ने र मासु चपाउँदै गुच्चा खेल्न हुर्रिंदै कुद्ने त्यो बालापन। त्यतिबेलाको हिसाब अझै कतिपय साथीभाइसँग लेनदेन गर्न बाँकी होला।

स्कुले जीवन छँदासम्म बाबुआमाको हैसियत अनुसार घरायसी वातावरणमा दशैं मनमोहक हुन्थ्यो। चिताएको पुग्ने बेला थियो त्यो। खान र लाउनमा आफ्नो रोजाई र ढिपीले धेरै कुरा पुग्थ्यो। टीका लगाएर मामाघर, बुढो मामाघरबाट दक्षिणा पाइने १०, २० र ५० सम्मका कट्कटे नोटले दशैं उत्पातकै हुन्थ्यो। कसको कति धेरै पैसा भनेर एक अर्कालाई देखाउँदै तुलनाको क्रम चल्थ्यो। त्यही पैसा पनि लंगुर बुर्जामा हारेर रित्तो हात पनि भइन्थ्यो। स्कुल बिदा, लंगुर बुर्जा, गुच्चा, पिङ, छाकैपिच्छे मासु, टीका र दक्षिणासम्म पुग्दा दशैंको माहोलले पूरै जीवन हराभराझैं बनाइदिन्थ्यो।

दाइ भन्थे, ‘घर जालस् नि टीका लगाउन।’ नभन्दै दशैं त टीकाको दिन मात्र जान पाइन्थ्यो। त्यही पनि हतार–हतार एक वा दुई दिनमै फर्कनु पर्थ्यो । यस्तो दशैंको सुरुवात हुन थाल्यो कि न पहिलेजस्तो लंगुरबुर्जा खेल्ने समय मिल्यो न गुच्चामा पूरै दिन बिताउने समय फर्केर आयो।

स्कुल सकेर कलेज पढ्न काठमाडौं गएपछि भने रोजीरोटीको अल्झोमा स्वतन्त्रता र स्वच्छन्दतामाथि अंकुश लाग्न थाल्यो। त्यसपछि आफुखुसी चल्न र हिँड्न नपाउने वाध्यताको क्रम सुरु भयो। १७ वर्षको उमेरमा घर छाडेर हिँडेपछि जीवनका गोरेटाहरु बांगाटिंगा हुँदै गए। चाहेजस्तो सरल र सोझा रेखा कहिल्यै कोरिएनन् सायद। ती गोरेटा जता गए आफू पनि त्यतै जानुपर्ने अवस्थाले कहाँकहाँ पुर्यायो।

सुरुवातका दुई वर्ष भानिज दाईको दुग्ध डेरीमा दशैंको टीकाकै दिनसम्म दही र दूध बेचेर बस्दा दशैं अलि छोटो हुन पुग्यो। दशैंका दिन जति छुट्यो त्योभन्दा धेरै नरमाइलो अनुभूति भयो।

दाइ भन्थे, ‘घर जालस् नि टीका लगाउन।’ नभन्दै दशैं त टीकाको दिन मात्र जान पाइन्थ्यो। त्यही पनि हतार–हतार एक वा दुई दिनमै फर्कनु पर्थ्यो । यस्तो दशैंको सुरुवात हुन थाल्यो कि न पहिलेजस्तो लंगुरबुर्जा खेल्ने समय मिल्यो न गुच्चामा पूरै दिन बिताउने समय फर्केर आयो। अलिअलि मिलेको समय पनि पूरै तासमा स्तरोन्नति पो हुन पुग्यो। पहिलेको जस्तो सुन्दर दशैं रातभर खेलिने तासमा पनि भेटिन छाड्यो।

त्यसपछि कान्तिपुर एफएममा ७ वर्ष काम गर्दा चाडबाडको पीडा झन् बढ्दै गयो। पत्रिका भए दशैंका केही दिन बन्द हुन्थ्यो। रेडियो कहिलै बन्द नहुने। दशैं वा तिहारजस्ता ठूला चाडमा आफ्नो घर जान सकेसम्म सबैले जोडबल गर्ने नै भए। टाढा घर भएका सहकर्मी वर्ष वर्षको आलोपालो मिलाएर घर जाने एक किसिमको चलन थियो।

पालो परेका सहकर्मी घर जान्थे। पालो नपरेकाहरु पनि काठमाडौंमै भएका आफन्तकहाँ टीका थाप्न जान पाउँथे। नजिक घर भएकालाई भने अलि अप्ठेरा शर्त थिए। म नजिक घर भएको व्यक्तिमा परेको थिएँ। ‘तेरो त नजिकै घर छ, जहिले गए पनि भयो नि’ भन्ने तर्कसामु म छुच्चो अडान लिन चाहन्नथेँ। 

मेरा लागि अष्टमी वा नवमीका दिन घर गए टीका लगाएर तुरुन्तै अरु सहकर्मीलाई पालो दिन आउनुपर्ने शर्त हुन्थ्यो। कि टीकाकै दिन गएर दुई दिन बस्न पाउने अर्को शर्त थियो। दशैंमा सकभर साता वा १० दिन घर बस्न मन लाग्नु जायज हो। तर, त्यो इच्छा जागिरका कारण नाजायत ठहरिन्थ्यो। कुनै वर्ष त आफ्नो निधार दिनभर खाली राखेर घरघरमा टीका र जमारा लगाइँदैछ भनेर समाचार पढेर दशमीको दिन बित्थ्यो। घरमा भने बाबुआमा छोराको बाटो हेरेर बसेका हुन्थे। छोराले समाचार पढेको सुनेर अझै हिँडेको छैन भन्ने थाहा पाउँथे। साँझ पर्न लागेपछि मोटरसाइकल हुँइक्याएर काठमाडौं बाहिरको दशैं भ्याउन घर जानु पर्थ्यो।

पहिले सहपाठी, समकालीन साथीभाइसँगको भेटघाट, तासको खाल, गाउँ तथा बजारको घुमफिरमा रमाएको मन विस्तारै दशैंमा विरक्तिन थालिसकेको थियो। यो जागिर भन्ने अल्झोमा परेपछि दशैं न तिहार कहिलै आनन्दले मनाउन नपाइने रहेछ भन्ने लाग्दै गयो। पाइएन पनि। 

कर्मको रेखा अनुसार काठमाडौं पनि छोडेर पोखराको बास भयो पाँच वर्षसम्म। पहिलेको रेडियो छोडेर रोजगारी नागरिक पत्रिकामा सरेको थियो। त्यहाँ रहँदा पनि दशैं पहिलेको माहोलमा फर्कन पाएन। अष्टमीको दिनसम्म समाचार पठाउनुपर्ने उर्दी जारी हुन्थ्यो केन्द्रबाट। अनि टीकाको भोलिपल्ट कार्य क्षेत्रमा हाजिर हुनु भन्ने आदेश पनि सँगै आएको हुन्थ्यो। पोखरादेखि काभ्रेसम्म आउन पूरै एक दिन, अनि फर्कन अर्को एक दिन। यसले दशैं मान्ने त टीकाको एक दिन मात्रै हुन गयो। पत्रिका तीन दिन बन्द भए पनि आफूले पाउने समय एक दिन न थियो। रेडियोबाट पत्रिकामा सरे पनि अवस्था भने फेरिएन। 

चाडबाडमा हुने कठिन यात्राको झन्झट, बच्चा बोकेर ओहोर दोहोर गर्दाको सास्ती, पारिवारिक प्रतिकुल अवस्था आदि उल्झनमा परेर पोखरा बस्दा दुईटा दशैंमा मात्र घर पुगियो। 
पोखरा छाडेर अमेरिका उडेको चार वर्ष बित्यो अहिले। हरेकपल्ट दशैंमा घर फर्कने योजना बुन्दाबुन्दै चार वटा दशैं यतै बित्न लागे। सुखद संयोग चाहिँ के भने, गएका दुई वर्ष बुबाआमा पनि अमेरिकामै आएपछि दुवै दशैं तुलनात्मक रुपमा रमाइलो हुन पुग्यो। 

यद्यपि गाउँको घर, ती आफन्त, साथीभाई, त्यो लंगुर बुर्जा, तास, घरमै काटेको खसीको मासु, स्कुलको चौरमा हालेको लिंगे पिङ, मामाघरको टीका र दक्षिणा त अमेरिकामा कहाँ पाउनु? यसपालि बुबाआमा पनि यता नहुँदा दशैं खल्लो लाग्दैछ, जुन पहिलो वर्ष अमेरिका आउँदा भएको थियो। 
(अधिकारी अमेरिकाको बोस्टनमा बस्छन्)

पढ्नै पर्ने