गोर्खाल्यान्ड आन्दोलनमाथि राजा पुनियानीका ३ कविता

राजा पुनियानी

Nepal Live

१. दार्जीलिङ फिभर

सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भुइँमा
नत्र भने जिन्दगानी आगो लगाइदिन्छु*

कसले सम्हालिदेला मखुण्डा
ईश्वरबल्लभले माया गरिराखेको दार्जीलिङको
जब फिभर आउनेछ हनहन दार्जीलिङलाई।

यसपालि हिँउ पर्छ-पर्दैन -कसले भन्न सकेको छ र
अहिले नै।

विचारहरूको शृङ्खलाबद्ध विस्फोटपछि
शून्यवादीहरूको अराजक झुण्ड डुल्न निस्किएको छ बजार।

वर्षौं लामो जाडोमा फिभर त आउनेछ
तर यो फिभर हुनेछ एउटा उत्तर-आधुनिक फिभर।

फिभरको रापले पग्लेर नाङ्गै भएको हुनेछ कञ्चनजङ्गा
नाङ्गै हिँड्नेछ कञ्चनजङ्गार चौरस्तामा आएर बस्नेछ भोक हड़तालमा
पर्यटकहरूको ब्याग कसले बोक्ला?
सोच्दैछ उदास भरिया हडतालको बिहान
चराहरू अन्यत्रै बसाइँ सर्नेछन्
किनभने रूखहरू निदाउनेछन् निकै लामो
पाठशालाहरू स्टेट फोर्स-को घर बनिनेछन्
कसले टिप्ला त चियाका पत्तीहरू
किनभने लकआउट भएका कमानका तालाहरू फेरिनेछन् बमहरूमा
र मुद्दा नपाएका एनजीओ र समाजसेवी समूहहरूले
फेरि एउटा अवसर पाउनेछन्
कुइनाइनको बोक्रा पिट्ने हातहरूलाई फुर्सद हुँदैन
पोस्टर लेख्न र टाँस्नबाट 
अबोला ढुङ्गाहरू एकाएक आ-आफ्ना ठाउँबाट उठ्नेछन्
र नारा भट्टाउँदै गरेका हुनेछन्
बाटोछेउका मौन धुप्पीहरू पिलिकपिलिक हेर्दै
जुलूसभित्र बिलाउनेछन्
कसले धोइदेला रेस्तुराँका महङ्गो रक्सी र कफीका कपहरू
वेटरहरू त गुप्ती यात्रामा छन्।

फिभर आउँदा सबै व्यस्त हुनेछन् फिभरकै जुलूसमा
फिभरकै समारोहमाफिभरकै कार्निभलमा

ढोङ्गको साहित्य बालेर आगो ताप्नेछन् नानीहरू
र टाइ बाधेँका सरकारी साहित्यकार कोठामा कफी पिउँदै
ईश्वरको सम्झना गर्नेछन्
भद्रेको टोली(ले फिभरको नाटक देखाउनेछ
जब दार्जीलिङको विश्वविख्यात सौन्दर्य गुफा पसिरहेको हुनेछ
बूढाहरू गाउनेछन् पीट सिगर र पल रब्सनका रौं ठाडा हुने गीतहरू
बिट पुस्ताको कविता भट्टाउनेछन् चेग्वेभाराको डाइरी पढेका युवकहरू
केटीहरू चाहिँ प्लाथ्, सिमन दी बूव र पारिजातका किताब पढ्नेछन्  
तब दार्जीलिङको नाप्पिएको ठिहीको सेखी झर्नेछ फिभरको तापले।

यही फिभरको आगोले कण्ठस्थ गराउनेछ गिरीको युद्ध र योद्धा
कुइनेटो, चोक र मोडहरूलाई
चौरस्तामुनि साग बेच्ने बज्यै गोप्य सभामा भाषण सुन्नेछिन्
जब डम्बर चौकमा जलाइनेछ अघिल्ला र भावी सम्झौताका प्रतिहरू
खरसाङको बजारभरि छपछप हिँड्नेछन् परिवर्तनको आह्वान गर्दै
युक्तिवादी विद्यार्थीहरू
र गिद्धेको डाँडाबाट कहिल्यै नाम नसुनिएको कविले
पटेकाजस्तै पड्काउनेछ कविताका शब्दहरू।

जागित्रे भएर इबरा-को एमके चोक बजारको जनसभाको भीडमा देखा पर्नेछ फेरि
पानी सुक्नेछ मिरिक झीलको र मुरै खाएर बाँचेका माछाहरू
अज्ञात छापामार छाउनीहरूतिर लाग्नेछन्
घूमको रेल स्टेशनमा टोय ट्रेनभरि थुनिनेछन् हावाहरू
आइहालेको छैन आउन अझै कैयौँ वर्ष लाग्ला।

तर फिभर त घरि घरि आउनेछ
जबसम्म निको हुँदैन दार्जीलिङ।

*ईश्वर बल्लभको गीतको अंश

२. हामी फर्कियौँ भने

फिक्का आकाश हेर्न अभ्यस्त
हाम्रा आँखाका अभेक गाँउहरू
डढ़ेर खरानी खरानी भएका छन्
आफ्नै रगतमा सल्केको आगोले
---
बाध्य भएर रोकिएको छ नाउ
बि- सा-  उँ- छौँ-
भेटेर रहरजस्तै किनार।
नसा नसा कुदेका छन्
निषेधाज्ञाका टिस्टा र हुकूमका महानदीहरू।
रातभरि चलेको हुरीले
यो बस्तीलाई, यो गाँउलाई, यो शहरलाई
कहीँको पनि छाड़ेको छैन 
हर साँझ मरेको ढुङ्गामा
आराधना छ प्रेतझैँ त्यही हुरीको।
नवविवाहित दुलहीको स्यूँदो भरिनु भएर
जति कोरिए धर्साहरू सपनाका
उति धस्किए विपनाका छेउहरू।

बजाउन झिकेको हरेक पालो
चुँड़िएकै हुन्छ
विचारको गिटारको तार।
भूगोलैपछिको इतिहासमा
एक न एक पाइडपाइपरले
रित्याएको छ- छ गाँउका मूसाहरू।

खुशीको कात्रो बेह्रेर बजार 
आफ्नै स्वाभिमानको मलामी जान्छ
लाशलाई माटो दिन्छ
यो समसान दुनियाँमा।
युद्धको हाटमा बिक्री हुन्छ तातो रगत
र रित्तो नसामा इञ्जेक्ट गरिन्छ
पराजय र सम्झौताको जहर।

हाम्रै मुटु र हड्डीहरूले बनाइएको बारुद
पड़्काइन्छ हाम्रै विवशताको घरआँगनमा।

धुवाँ उड़िरहेको
शताब्दीको अङ्ग-प्रत्यङ्गभरि
साँपझैँ स‍- र- र- र घस्रिन्छ
एउटा भयावह चिसो बचाइ।

विश्व बोक्दा-बोक्दा थाकेको हर्क्युलसलाई
आफ्नै ओजन पनि पहाड़ लाग्न थालेको छ
र धुलोपिठो पार्छु भन्छ
आफ्नै अस्तित्वलाई अब।

कानहरू एक पोका आवाजसम्म नछिर्ने
अँध्यारा प्वालहरूमा फेरिएका छन्
जहाँ गुँड़ हालेका छन् जङ्गली कमिलाहरूले।
छातीको टोड़कामा अण्डा पारेका छन् गिद्धहरूले।

सबै ‘ठिकै छ’ भन्दैछन् माथि बसेकाहरू
जब केही पनि ठीकठाक छँदैछैन।
‘चुप भलो’ भनेर सुरक्षित ठान्नेहरूको
भलो नहुने पनि पक्कापक्की भइसकेको छ।

जर्जर जुनीहरू बोकेको ऊँटको तिर्खा
मरूभूमिभरि अप्राप्तिको चित्र कोरिन्छ। 

समयको पहिलो खोंड़े दिनदेखि हुल बाँधेर
तिर्खा मेट्न निस्कियौँ आदिम गुफाहरूबाट

सब थोक गुमाइवरि
आज। युगको यो सङ्घारमा। निकम्मा। साबित हुने हौँ कि?

यो घुम्तीसम्म ल्याइपु(याएका छौँ इतिहासलाई
ए सब थोक गुमाउने साथीहरू

यहाँबाट
हामी फर्कियौँ भने
के माफ गर्ला त
पर्सिको मान्छेले?

३. भ्रम पाहाडबाट

मिसिन-मान्छे

'कस्तो धुम्म! गाँठे, क्यै देख्दैन त हौ'
-भन्छ सुनमाया बिहान चियाकमान जानुअघि।
टुरिष्टहरूको मतलबी कानमा
आधापिल्ठो इतिहासको सुइसुइला लगाउँदै
सोमबार पनि ढिलो घुम्छ क्यापिटलको सुतुवा घड़ीकाँटा।
साम्राज्यवादी घड़ीकाँटामा झुण्डिएको छ
मनबहादुरको पुरानो सपनाको एउटा गरुङ कोट
र देशबहादुरको एउटा फोहोरी अण्डरपेन।

आदिबासी बोजूहरूको गाउँ-खाने-कथामा
अजिङ्गरे कुइरोको दुश्मन-डोरी छ।
त्यो डोरीले टनटनी कस्सिएर रुइँरुइँ बेह्रिएको छ आदिम पाहाड़।
र एत्तिखेर, त्यो कुइरो
अनिश्चितताको अर्ग्यानिक अनुहार हो।
गन्ती र जुलूस। जन्ती र मलामी। हाट र भोट।
अलल्लिएर हिँड़ेको मान्छेहरू ऐले मिसिन भएका छन्।
मिसिन। मिसिन। ज्यान नभएको मिसिन।

रिपोर्ट हराएको रात

दिशाहारा छु लागिबस्छ टिस्टा आफैलाई पनि।
ठीक एत्तिखेर सरकारी बाँध बाँधिएको टिस्टाले
आदिम नदीबाट आधुनिक पोखरीको अवतार लिएको छ।
र ठीक एत्तिखेर नै युएसजी रिपोर्टले खुसुक्क भनिदिएको थियो
'सुनमायाको पाहाड़ी गर्भमा चे ग्वेभाराको खनाति छ।'
रिपोर्ट हराएको रात पाहाड़वासीको आँखा छलेर
कसले गर्भ तुहाउन लग्यो फकाएर सुनमायालाई
कलकत्ताको सरकारी अस्पतालमारु
तेत्तिखेर चिउरा बुकाउँदै जङ्गलमा आरन लगाउँदै थियो होला मनबहादुर।

सपनाको झ्याउँकिरी
'किन मर्छ हो सपनाको झ्याउँकिरीहरू एसरी हँ...
भावनाको पतलुनको गोजीमा इतिहासको अण्डा बोकेररु'
एउटा बुद्धिजीवी कविको नयाँ कविता लाइन। कसले पो पढ़ोस्।
भ्रमहरूको इँटाले ठड़िएको सत्यको पर्खालभित्र सुरक्षित ठान्दैछ
अहिले पनि मिसिन-मान्छेहरू।
त्यही पर्खालले नै छेकिन सक्छ
र छेकियो पनि
शताब्दीदेखि उनीहरूले बाल्न खोजेको
उज्यालोको अनुहार।

आत्मपराजित युगले वेश्यालयबाट गोद लिएको आन्दोलनको शिशु
बढ़ेर पट्ठो जवान भएको छ अहिले।
सत्ताले त्यसलाई किनेर मिसिन(मान्छेकै ख्याक बनायो एत्तिखेर।

मैला खुनको जोरो

'किन नआओस् पनि जोरो... खुन नै त मैला थिएछ'
भन्छ रक्तजाँचको परिणाम पढ़ेर सन्तवीर।
गणतन्त्रको कथा समाचारपत्रमा पढ़्छ बूढ़ोबाहरू।
गणतन्त्रको ब्लू ह्वेल गेम खेल्छ नानीहरू मोबाइलमा।
गणतन्त्रको भल्गर नाच हेर्छ युवाहरू देशभक्तिको सिनेमामा।
भूत र भगवान सँगै लुकिबस्छ गणतन्त्रको किताबमा।

अधिनायकको हैकमी घोड़ाको टाप सुनेर
नतमस्तक छ एत्तिखेर चउरको समलैङ्गिक घाँस।
गाँजाको गन्धले रुमलिएको कुइनेटोमा
कसम खाइयो, खुवाइयो-
नबुझिएकोहरू अझ नबुझ्ने। नभनिएकोहरू अझ नभन्ने।
र नसोचिएकोहरू अझ नसोच्ने।

चौरस्तामा घिसिङ, विमल, मन, विनयहरू लीला नाच्दै गर्दा
टोल-टोल अस्तित्वयुद्धको नाटक खेल्छ
हन्ड्रेड डेज, इन्दिरा आवास, प्रधानमन्त्री ग्राम सड़क योजना, जीटीए कम्युनिटी हल र पिडब्युर्डरी कन्ट्र्याक्टहरू।

बागवीर लोहारे सन्तुलन राखेरै राजनैतिक बयान दिन्छ रक्सी सोंड़क्याएर-
'आकाश-पाताल देखाउनेहरून आकाशको रह्यो। न पातालको रह्यो'।
उहिल्येको दिनलाई फोटोकपी गरिबस्छ पाहाड़ी नेताहरू
आजुको पिकनिक खानु।

चुपो लागेको दर्शक

तैंले आफै आफ्नो निधारमा ठोकिनस् भने
ठोक्छु, तँलाई मै गोली ठोक्छुु
आत्महत्या गर्नु आँटेकोझैँ आमा। त्यै आमाले कठालो समात्नू छोराको।
आमाको आरोप हुन्छ- पछाड़िबाट वार गरेको छ धोकेबाज छोराले।
अगाड़िबाट वार गर्ने आदिबासी मर्यादा उल्लङ्घन गरेको छ।

यत्तिखेर दर्शकले सधैँ चुपो लाग्नुपर्ने नाटकमा पात्रहरू बोल्दैछ।
को हो यस्तो अचानक?
ठीक यत्तिखेर, आमाको गलामा त छोराको बन्दुकको नोंक छ!
दर्शकहरू एकैसाथ देख्दैछन् बन्दुकको ट्रिगर, आमाको गलाको छाला
र ट्रिगरभित्र छोराको अम्ला।
'हजुर, के दर्शक बोल्नु पाउँछ?'
'चुप साले... तँ दर्शक होस्... लाखेस्, बोल्लास् तँ'

नफर्किएको टिस्टा

समयको रजस्वला माग्दैछ इतिहासभरि बलात्कृत एउटा धमिलो इतिहास।
इतिहास लेखिने रातोरातो अक्षरहरू त यत्तिखेर टिस्टामा तर पर्नुपर्ने
तर समझौता-पत्रमा सुनौलो रङ सत्तासीन छ अहिले।

दिल्ली ताकेर बत्तिँदै जुलूस हिँड़ेको टिस्टा
फर्किएको छैन अझ।

फर्किन्छ कि आन्दोलनको इस्कुस बोकेर
कतै?

(राजा पुनियानी भारतका नेपाली भाषी कवि हुन्)

पढ्नै पर्ने