शंकर लामिछानेको कविता : नजन्मेको छोरालाई 

शंकर लामिछाने

Nepal Live

मेरो छोरा !
एकदिन तैँले मसँग
वा मेरो मृत्यु भएमा
स्वयंसँग
एक प्रश्‍न गर्ने छस् ।
मेरो छोरा !
मसँग प्रश्‍नको केही उत्तर छैन !
सिर्फ छ, एक सन्तुष्टि
बल्ल मेरो परम्पराले थिचेका
प्रश्‍नहरू
तेरो मुखबाट निस्कन सके ।
मेरो छोरा !
तेरो युगको प्रभातमा
मेरो अन्धकार
मेरो मृत्युसँगै मरिसकेका हुनेछन् ।
र तैँले बुझ्ने छैनस्
तेरो पितालाई स्वयम्‌को अस्तित्त्वसँग पनि शङ्का उठेको थियो ।
तँलाई पत्यार पार्न सक्ने छैन त्यसबेला
म कस्तो उत्तेजनाहीन
निस्क्रिय र निर्बल थिएँ ।
तैँले सायद कहिल्यै पनि बुझ्ने छैनस् होला
कि संघर्षको सिर्जन निम्ति
शरीरका रगतका अन्तिम बूँद पनि भुल्किनुपर्छ -
केन्द्रित हुनुपर्छ - प्रत्येक क्रिया
एक लक्ष्यमा ।
म त झण्डै लक्ष्यहीन थिएँ
सिवाय एक प्रयासको ।
मैले तँलाई जन्माउने प्रयास गरिनँ;
र लुकाइराखेँ आफैँमा
एक अज्ञात अपरिचित अनिश्‍चित अवसरको निम्ति ।
म भन्न सक्दिनँ, म बिल्कुलै असमर्थ छु -
तँलाई जन्म लिनु दिन ढिला गरेर
मैले, आफैँसँग
वा तैँसँग
वा तेरापछि आइरहने कैयन्-कैयन् वंशसँग
नजन्मेको मेरो छोरा !
तेरो जन्मभन्दा
कति अघि
कति अघिदेखिन्
तेरो प्रश्‍न
मकहाँ आएर फर्केको छैन।

पढ्नै पर्ने