साझाका निलम्बित अध्यक्ष शर्माले भने- 'आफ्नो कर्तुत छोप्न मन्त्रीले मलाई बलिको बोको बनाए'

नेपाल लाइभ

Nepal Live

काठमाडौं- आइतबार बर्खास्तीमा परेका साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले शिक्षामन्त्रीले आफ्नो गल्ती ढाकछोप गर्न आफूलाई बलिको बोको बनाइएको प्रतिक्रिया दिएका छन्।

अख्तियारले आफूमाथि छानबिन गर्दागर्दै चालिएको कदम मान्य नहुने उनले बताए। साझाको विनियमालीबारे अध्ययन नगरी सञ्चालक समितिले चयन गरेको महाप्रबन्धकलाई मन्त्रीले हटाउन मिल्छ मिल्दैन भनेर नबुझीकन शिक्षामन्त्री गोपालमान श्रेष्ठले हटाएको उनको भनाइ छ।

केही मिडिया आफूमाथि खनिएको आरोप लगाउँदै शर्माले जनअदालत जाने बताए। 'अब म मिडियाका सञ्चालकमाथि सबै फाइल बोकेर जान्छु। कुन आधारमा समाचार लेखियो?'
उनले मन्त्री श्रेष्ठमाथि पनि आक्रोश पोखे। 'आफ्नो विगतको भ्रष्ट काम र कालो कर्तुत ढाकछोप गर्न म जस्तो निर्दोष मान्छेलाई बलिको बोको बनाइएको छ,' उनले भने। 

संस्थाको वार्षिक आयव्यय चुस्त नराखेको, पुस्तक बिक्री वितरणमा मनोमानी गरेको, साझाकै लोगोमा व्यक्तिगत तवरबाट पुस्तक प्रकाशन गरेको, पुराना कर्मचारी हटाएर आफू अनुकूल नयाँ कर्मचारी भर्ना गरेको तथा लेखापरीक्षण नगरेको लगायत आरोप उनीमाथि छ। संस्थाको बेथिति उजागर भएपछि शिक्षा मन्त्रालयले उपसचिव गणेश ढकालको संयोजकत्वमा साउन १२ गते छानबिन समित गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदन मन्त्रालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ।

मन्त्रीस्तरीय बैठकमार्फत शिक्षा मन्त्रालयले शर्मालाई आइतबार बर्खास्त गरेको हो। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत मंसिर २६ गते १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड रुपैयाँ साझाका लागि निकासा गर्ने निर्णय गरेको थियो। सो रकमको सही ठाउँमा व्यवस्थापन नगरी मनपरी रुपमा खर्च गरेको कर्मचारीहरुको भनाइ छ। उनीहरुले तलब समेत पाउन सकेका छैनन्। 

शर्माको कामकारबाहीबाट असन्तुष्ट सञ्चालक समितिका सदस्यहरु दीनानाथ शर्मा, प्रदीप नेपाल र कृष्णहरि बरालले केही दिनअघि राजीनामा दिएका थिए। 

तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवबाट २०७१ माघ ५ मा अध्यक्ष नियुक्त शर्मा सञ्चालक समितिले महाप्रबन्धक बनाएको थियो। २०७३ पुसमा अर्का शिक्षामन्त्री धनीराम पौडेलले उनको कार्यकाल थप चार वर्ष थप गरेका थिए।
 

पढ्नै पर्ने