ओली र प्रचण्डबीच फाटो ल्याउन भारतले चलखेल गरिरहेको छ : चित्रबहादुर केसी

Nepal Live

बुटवल– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राजनीतिमा भारतले चलखेल गर्न पछिल्लो समय भेटघाट तीव्र पारेको बताएका छन्। 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै वार्ता गरी दुई शक्तिका बीचमा फाटो ल्याएर अधिकतम स्वार्थ लिन भारतले चलखेल गरेको अध्यक्ष केसीले आरोप लगाए। 

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले विगतको विश्लेषण गर्दै भारतले आफू अनुकूलको संविधान प्राप्त गर्न नसकेपछि नाकाबन्दी गरेको र त्यसमा पनि सफलता नमिलेपछि ओलीको सरकार ढालेको तर्क गरे।

‘सरकार ढाल्न सफल भए पनि हालैको चुनावमा वाम गठबन्धनले जित्नु भारतको हार हो’, उनले भने। 

अहिले पनि भारतीय विदेशमन्त्री सुष्मा स्वराज मार्फत विभिन्न चलखेल भइरहेको अध्यक्ष केसीले आरोप लगाए। 

अध्यक्ष केसीले केपी ओली नेतृत्वको सरकारमा माओवादीलाई सहभागी गराएर सरकार सञ्चालन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीलाई शुभकामना दिँदै उनले संस्थागत बन्दै गएको भ्रष्टाचारको नियन्त्रण र जनजीविकालाई सुलभ बनाउन सुझाव समेत दिए। 

अध्यक्ष केसीले नेकपा एमाले र माओवादी केन्द्रसँग पार्टी एकता हुन नसक्ने समेत बताए।

राष्ट्रियताका विषयमा केही कुरा मिलेकाले चुनावमा कार्यगत एकता भए पनि नीति र सिद्वान्त नमिल्ने भएकाले पार्टी एकतामा भने नजाने उनले बताए।

अध्यक्ष केसीले मुलुकलाई संघीयतामा लगिए पनि देशले संघीयताको भारी बोक्न नसक्ने ठोकुवा गरे। 

पार्टीले छिटै संघीयता विरोधी अभियान चलाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष केसीले संघीयता नेपाल र नेपाली जनताले नचाहेको बताए। उनले प्रदेश र प्रतिनिधिसभाका ८ सय ८४ सदस्यलाई देशले थेग्न नसक्ने बताए।

उनले नेपालको भौगोलिक अवस्था, आर्थिक अवस्था, गरिबीको समस्याका कारण संघीयताको खर्च देशले धान्न सक्ने अवस्था नरहेको तर्क गरे। प्रजातान्त्रिक विकेन्द्रिकरणमा आधारित स्थानीय तहलाई अधिकार दिने एकात्मक प्रणाली नेपालको लागि उचित हुने नता केसीको तर्क छ। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार