ad

जनावरका अंग चोरी गर्नेलाई कारबाही

SHARES
Nepal Live

ललितपुर – जनावरको डिएनए परीक्षण शुरु भएसँगै गैरकानूनी रुपमा जनावरका विभिन्न भागको अंग चोरी र बिक्री गर्नेलाई कारवाही हुन थालेको छ। 

राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले आर्थिक वर्षको शुरुसँगै जनावरको डिएन परीक्षण शुरु गरेपछि अदालतलाई समेत सत्यतथ्य पत्ता लगाएर कारवाही गर्न सहज भएको हो। जनावरको डिएनए परीक्षणले सही अनुसन्धान हुने हुँदा न्याय प्रणालीलाई सहज बनाएको प्रमुख वैज्ञानिक अधिकृत दिनेश झाले बताए। उनले भने, “यसअघि जनावरको मासु वा अरु भाग भेटिँदा छुट्याउन सकिने थिएन।” डिएनए परीक्षण शुरु भएपछि जनावरका विभिन्न भाग र स्वरुप बदलिएर आउँदा पहिचान गर्न सकिने उनले बताए।

सात महिनामा चार गाई र ११ जंगली जनावरको डिएनए परीक्षण भइसकेको छ । गाईको आलो मासु र जंगली जनावरको सुकुटी बनाएर वा विभिन्न भाग बिक्रीका लागि चोरी हुँदै गर्दा पक्राउ गरेर परीक्षण भएको हो । रगत, रौँ, हाडलगायत जुनसुकै चिजबाट कुन जनावर हो भन्ने पहिचान हुन्छ । अदालत, वन विभाग, वन्यजन्तु विभागलगायत निकायबाट जनावरको डिएनए परीक्षण गर्न आइरहेका छन् । उनले भने, “हामीले आवश्यकता भएकाको डिएनए परीक्षण गरेर नतिजा दिइरहेका छौँ।” 

अझै पनि धेरैलाई जनावरको डिएनए परीक्षण हुन्छ भन्ने जानकारी छैन । अदालतमा र नेपाल प्रहरीमा अझै धेरैलाई जानकारी हुँदा आउने मुद्दा अझै बढ्न सक्छ । यसअघि परीक्षण नहुँदा कतिपय मुद्दामा सही अनुसन्धान हुन सकेको थिएन। सरोकारयुक्त निकायले स्वरुप जस्ताको तस्तै आउँदा कुन जनावरको अंग भन्ने पहिचान गर्थे भने स्वरुप बदलिँदा मुद्दा अघि बढाउने अवस्था थिएन। 

अनुसन्धानका विभिन्न विधिमध्ये डिएनए परीक्षण एक हो । अरु अनुसन्धानबाट पत्ता नलागेपछि डिएनए परीक्षण हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित सूचीमा राखेका जनावरको बिक्री हुँदा वनसम्बन्धी कार्यालय र कहिले अदालत हुँदै मुद्दा परीक्षणका लागि आइपुग्छ । गाई काट्न नपाइने र काट्दा सजायको व्यवस्था भए पनि लुकिछिपी यस्ता काम भइरहेका थिए । उनले भने, “पहिले पनि घटना नभएका होइन तर पहिले परीक्षण नहुँदा कति भए थाहा हुँदैनथ्यो, अब थाहा हुन्छ ।” प्रयोगशालामा ६० वन्यजन्तुसम्बन्धी मुद्दा आएका छन् । रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार