६० वटा हात्तीलाई खुवाइयो वनभोज

Nepal Live

रत्ननगर, चितवन- सधैं पर्यटक बोकेर जंगल डुलाउने र संरक्षणको काममा मानिसले जता भन्यो उतै जाने चितवनको सौराहाका हात्तीको दैनिकी बुधबार भने छुट्टै बन्यो। 

लावालस्करसहित सौराहाको सिसवार चौरमा आएका हात्तीहरू आज मिठामिठा परिकारमा रमाए। हात्तीहरूका लागि मनपर्ने खाना सख्खर, उखु, बन्दा, केरा, धान, कुची लगायतका खानेकुरा हात्तीले रमाइरमाई खाए। वनभोजमा ६० वटा हात्ती सहभागी थिए। 

सौराहामा जारी खाना महोत्सवका अवसरमा संरक्षणको चेतना दिन हात्तीको जमघट गराइएको हो। बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनको पहलमा खाना महोत्सवका अवसरमा पहिलो पटक हात्तीको वनभोज कार्यक्रम गरिएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए।

रेवान, सौराहा र महिला रेवानको आयोजनामा यहाँ खाना महोत्सव चलिरहेको छ। 

हात्ती वनभोजको उद्घाटन गर्दै चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले हात्तीको स्वास्थ्य र संरक्षणका लागि वनभोज कार्यक्रमले सकारात्मक सन्देश दिने बताए।

यही माघ २८ गतेदेखि शुरु भएको सौराहा खाना महोत्सव आज सकिँदै छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्