राष्ट्रकवि घिमिरेलाई दिइयो मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न

Nepal Live

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबार आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको हो। 
राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपतिसमेत हुन्।

साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवर्द्धन र उजिल्याउने काम गरेबापत उनलाई सरकारले माघ २६ गते सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो। 

समारोहमा राष्ट्रकवि घिमिरेले सैनिक ‘स्यालुट’ प्रस्तुत गर्दा उनको सम्मानमा सभाहल तालीले गुञ्जायमान भएको थियो। राष्ट्रकवि घिमिरेलाई उनको जन्मशताब्दी वर्षको उपलक्ष्यमा सरकारले सो उपाधि दिएको हो। १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेलाई नेपाली साहित्यमा शिखरपुरुषका रुपमा लिइन्छ। 

उनका ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे...’ लगायत राष्ट्रभक्तिले ओतप्रोत भएका सयौँका संख्यामा गीत र कविताहरु प्रकाशन भएका छन्। सरकारले गैरसैनिक व्यक्तिलाई प्रदान गरेको यो सबैभन्दा माथिल्लो सैनिक उपाधि हो। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार