ad

चुनावको नतिजा आज राष्ट्रपतिलाई बुझाउँदै निर्वाचन आयोग

Nepal Live

काठमाडौं- निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ। प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूची सच्चाउन दलहरुलाई आज साँझ ५ बजे सम्मको समय दिएको आयोगले आजै त्यसको परिणाम राष्ट्रपति समक्ष बुझाउने तयारी गरेको हो।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले आजै साँझसम्म राष्ट्रपतिसमक्ष निर्वाचनको परिणाम बुझाउने तयारी गरिएको बताए। ‘निर्धारित समयभित्र दलहरुले समानुपातिकको सूची सच्याएर पठाए आयोगले साँझ सम्ममा राष्ट्रपतिसमक्ष सम्पूर्ण नतिजा बुझाउने छ,’ दाहालले नेपाल लाइभसँग भने।

निर्वाचन आयोगले गत शुक्रबार प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम सूची बुझाउन दलहरुलाई ३ दिनको समय दिँदै पत्र काटेको थियो। सो अवधिमा राष्ट्रिय मान्यताप्राप्त ५ दलले निर्वाचन आयोगमा सूची बुझाएका थिए। जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपा नेपालले समावेशी समूहको प्राथमिकता क्रम लगायतका आधारमा उम्मेदवार छनोट नगरेको भन्दै आयोगले सूची सच्याउन थप २ दिनको समय दिएको थियो।

आयोगले दिएको २ दिनको समय आज सकिँदैछ। सो अवधिमा राजपाले सूची सच्याएर आयोग समक्ष पेश गरिसकेको छ। निर्वाचन आयुक्त दाहालले कांग्रेस र माओवादी केन्द्रले साँझ ५ बजे सम्म सच्याएर सूची बुझाएमा आजै राष्ट्रपतिसमक्ष निर्वाचनको सम्पूर्ण नतिजा बुझाउने बताए।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले निर्वाचन आयोगले आजै सूची बुझाउनका लागि समय माग गरेको बताए। साँझ ५ बजेसम्म दलहरुले सूची बुझाए त्यसलाई मिलाउन करिब २ घन्टा लाग्ने आयोगले बताएको छ। अधिकारीले भने, ‘साँझ ७ देखि ८ बजेभित्र आयोगले निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउन सकिन्छ भनेर बताएको छ।’

आयोगले चुनावी परिणाम राष्ट्रपति समक्ष बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ हुनेछ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार