ad

सौन्दर्यकी खानी मधुबाला, जसको प्रेममा किशोर कुमारले इस्लाम धर्म अपनाए

नेपाल लाइभ

Nepal Live

मुम्बई (एजेन्सी)– मधुबालाको नाम हिन्दी फिल्ममा यस्ता अभिनेत्रीको सूचीमा समावेश छ, जसले आफ्नो पूरै जीवन फिल्ममा समर्पित गरिन्। उनको अद्भूत सौन्दर्यताको चर्चा अहिले पनि हुनेगर्छ। उनी ‘भेनस अफ इन्डियन सिनेमा’ र ‘द ब्युटी अफ ट्रेजेडी’ का नामले चिनिन्छिन्।

मधुबालाको जन्म १४ फेब्रुअरी १९३३ मा भारतको राजधानी दिल्लीमा भएको थियो। उनको सानोको नाम मुमताज जहान देहलवी हो। उनका बुवा अताउल्लाह सुरुमा पाकिस्तानको पेशावरस्थित एउटा चुरोट फ्याक्ट्रीमा काम गर्थे। पछि जागिर छोडेर दिल्ली बस्न आएका थिए। दिल्लीमा पनि मन नलागेपछि उनी परिवार बोकेर मुम्बई लागेका थिए। 

‘भ्यालेन्टाइन्स डे’ को दिन जन्मिएकी मधुबालाको अभिनयमा प्रेम झल्किन्थ्यो। उनलाई बच्चैदेखि सिनेमाको सौख थियो, जुन किशोरी अवस्थामै पूरा भयो। 

मधुबालाले फिल्मी करिअरको सुरुवात सन् १९४२ मा ‘बसन्ती’ बाट गरेकी थिइन्, जुन निकै चर्चित भयो। उनको अभिनयबाट त्यतिबेलाकी चर्चित नायिका देविका रानी पनि प्रभावित भएकी थिइन्। उनले नै मुमताज जेहान देहलवीलाई आफ्नो नाम परिवर्तन गर्दै मधुबाला राख्न सुझाव दिएकी थिइन्। 

सन् १९४७ मा प्रदर्शन भएको फिल्म ‘नील कमल’ मधुबालाले आफ्नो पुरानो नाम मुमताजबाट अभिनय गरेको अन्तिम फिल्म थियो। यो फिल्मपछि उनले आफ्नो नाम मधुबाला राखेकी थिइन्। ‘नील कमल’ मा अभिनय गर्दा मधुबालाको उमेर १४ वर्ष थियो र उनले राजकपुरसँग काम गरेकी थिइन्। 

‘नील कमल’ रिलिज भएपछि उनलाई सबैले ‘सौन्दर्य कि देवी’ भनेर सम्बोधन गर्न थालेका थिए। यसको दुई वर्षपछि उनले बाम्बे टाकिजको फिल्म ‘महल’ मा अभिनय गरिन् र फिल्मको सफलतापछि उनले पछाडि फर्किएर हेर्नुपरेन। त्यतिबेलाका चर्चित अभिनेतासँग उनले एकपछि अर्को गर्दै काम गर्ने मौका पाइन्। 

मधुबालाले त्यतिबेलाका सफल अभिनेता अशोक कुमार, रहमान, दीलिप कुमार र देवानन्दसँग काम गरेकी थिइन्। १९५० को दशक उनका केही फिल्म फ्लप भए। असफलताको दिन उनलाई आलोचकहरू भन्ने गर्थे, ‘मधुबालासँग अभिनयको प्रतिभा छैन, उनी आफ्नो सौन्दर्यताका कारण मात्र हिन्दी सिनेमामा टिक्न सकेकी हुन्।’ 

तर, १९५८ मा उनी आफ्नो पुरानै लयमा ‘कम ब्याक’ गरिन्। यही वर्ष उनले ‘फागुन’, ‘हावडा ब्रिज’, ‘काला पानी’ र ‘चलतीका नाम गाडी’ जस्ता सुपरहिट फिल्ममा काम गरिन्। 

उनले १९६० मा भारतीय सिनेमाका चर्चित गायक किशोर कुमारसँग बिहे गरेकी थिइन्। किशोर कुमार उनको प्रेममा यति पागल थिए, उनले मधुबालासँग बिहे गर्न हिन्दू धर्म परित्याग गरी इस्लाम धर्म अपनाएका थिए। किशोर कुमारले आफ्नो नाम परिवर्तन गर्दै करिम अब्दुल नै राखे। 

मधुबाला एउटा भयानक रोगबाट पीडित भइन्। बिहेपछि रोगको उपचारका लागि दुवै लन्डन गए। लन्डनमै उपचारार्थ रहँदा त्यहाँका चिकित्सकले उनी दुई वर्षभन्दा बढी बाँच्न नसक्ने भविष्यवाणी गरे। लगातारको उपचारपछि थाहा भयो, उनको मुटुमा सानो प्वाल परेको थियो। डाक्टरहरूले पनि उनको रोगबाट हरेस खाए र शल्यक्रियाको केही समयपछि २३ फेब्रुअरी १९६९ मा उनको निधन भयो। 

यसबीच उनले अभिनय छोड्नु पर्यो। उनले केही फिल्ममा निर्देशन गर्ने जमर्को पनि गरिन्। उनले १९६९ मा ‘फर्ज’ र ‘इश्क’ जस्ता फिल्ममा निर्देशन गर्दैगर्दा ३६औं जन्मदिन मनाएको ९ दिनपछि उनको निधन भयो। र, ती दुवै फिल्म अधुरा रहे। 

मधुबालाले लगभग ७० वटा फिल्ममा अभिनय गरिन्। जसमा ‘फुलवारी’, ‘नील कमल’, ‘पराई आग’, ‘अमर प्रेम’, ‘महल’, ‘इम्तियान’, ‘अपराधी’, ‘मधुबाला’, ‘बादल’, ‘गेटवे अफ इन्डिया’, ‘जाली नोट’, ‘शराबी और ज्वाला’ निकै चर्चित थिए। उनको निधन भएको ४९ वर्ष बितिसक्दा पनि बलिउडमा उनको सौन्दर्यको चर्चा र तारिफ अहिले पनि हुनेगर्छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने