बेन स्टोक्सलाई खेलमा फर्किन अदालतको स्वीकृति

Nepal Live

इंग्ल्यान्ड– इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर बेन स्टोक्सलाई न्युजिल्यान्ड भ्रमणको स्वीकृति मिलेको छ।

२८ वर्षीय क्रिकेटर स्टोक्सलाई गत सेप्टेम्बरमा ब्रिस्टोल नाइट क्लबअगाडि भएको कुटपिटको घटनामा अदालतले विना शर्त जमानतमा रिहा गर्न आदेश दिएको छ। सो घटनालाई लिएर ब्रिस्टोल मेजिस्ट्रेट कोर्टमा मंगलबार पहिलो पटक सुनुवाइ भएको हो। 

सोहि मुद्दाको अर्को सुनुवाई ब्रिस्टोल क्राउन कोर्टमा आगामि मार्च १२ का दिन तोकिएको छ। तर सो सुनुवाइमा स्टोक्सलाई अदालतमा उपस्थित हुन अनिवार्य गरिएको छैन। अदालतले उनी टोलीमा फर्किनसक्ने पनि बताएको छ। 

अदालतमा उनीमाथि सार्वजनिक स्थानमा सामूहिक कुटपिटमा सहभागी भई शान्ति सुरक्षा खल्बल्याएको आरोप लागेको थियो। 

अदालतमा उपस्थित हुनुपर्ने भएकाले उनले टोलीमा परेपनि न्युजिल्यान्डविरुद्ध हिजो भएको पहिलो टि–ट्वान्टी खेलमा सामेल हुन पाएका थिएनन्। तर अब उनले न्युजिल्यान्डविरुद्ध फेब्रुअरी १८ मा ह्यामिल्टनमा हुने दोस्रो टि–ट्वान्टी खेल भने खेल्न सक्नेछन्।  

इसिबीको छनोट समितिले उनलाई यसअघि नै न्युजिल्यान्डसँगको टि–ट्वान्टी शृंखलाका लागि राष्ट्रिय टोलीको सदस्यका रुपमा छानेको थियो। तर स्टोक्सले भने सो घटनापश्चात् राष्ट्रिय टोलीबाट कुनै पनि खेल खेलेका छैनन्। 

२१ फेब्रुअरीमा सकिने सो टि–ट्वान्टी शृंखलामा स्टोक्सलाई सामेल गर्ने बारेमा भने हाल सोच्न नसकिने इसिबीले पछिल्लो सुचनामा जानकारी गराएको छ। सुचनामा अन्य शृंखलामा पनि स्टोक्सलाई सहभागि गराउने÷नगराउने सम्बन्धमा निर्णय लिन जिम्मा इंग्ल्यान्डका प्रमुख प्रशिक्षक ट्रेभर बेलिस र व्यवस्थापन पक्षलाई दिइएको छ। 

उता प्रशिक्षक बेलिसले भने उनलाई जतिसक्दो टोलीमा स्वागत गर्न आतुर रहेको बताएका छन्। 

उनलाई टि–ट्वान्टी शृंखलापछि हुने ५ एकदिवसिय क्रिकेटका लागि पनि टोलीमा छनोट गरिएको छ। फेब्रुअरी २५ बाट सुरु हुने शृंखलाका लागि इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी)ले उनलाई १५ सदस्यीय टोलीमा यसअघि नै राखेको थियो। 

सुनुवाइका कारण उनले अष्ट्रेलियाविरुद्धको एसेस टेष्ट तथा ५ खेलको एकदिवसीय शृंखला पनि गुमाएका थिए। गत सेप्टेम्बरमा वेस्ट इन्डिजसँगको खेलपछि राष्ट्रिय टोलीको जर्सीमा मैदानमा नओर्लिएका स्टोक्सलाई इसिबीले गत डिसेम्बरमा न्युजिल्यान्डमा भएको घरेलु क्रिकेटमा भने सामेल हुन अनुमति दिएको थियो।

आगामि अप्रिल ७ देखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा उनी सबैभन्दा महंगो खेलाडिको रुपमा सहभागि हुँदैछन्। उनलाई राजस्थान रोयल्सले १२ करोड ५० लाख भारुमा किनेको थियो।

इंग्ल्यान्डले हिजो भएको आफ्नो पहिलो टि–ट्वान्टी खेल १२ रनले गुमाएको छ। टि–ट्वान्टी तथा ५ एकदिवसीय शृंखलापश्चात् इंग्ल्याण्डले किवी टोलीसँग २ टेस्ट म्याच खेल्नेछ।

इंग्ल्यान्डको आगामि खेल तालिकाः 
१८ फेब्रुअरीः न्युजिल्यान्ड विरुद्ध इंग्ल्यान्ड– दोस्रो टि–ट्वान्टी– हेमिल्टन
२१ फेब्रुअरीः त्रिकोणात्मक टि–ट्वान्टी शृंखला फाइनल– अकल्यान्ड
२५ फेब्रुअरीः न्युजिल्यान्ड विरुद्ध इंग्ल्यान्ड– पहिलो एकदिवसिय– हेमिल्टन
२८ फेब्रुअरीः न्युजिल्यान्ड विरुद्ध इंग्ल्यान्ड– दोस्रो एकदिवसिय– मौनगानुई
३ मार्चः न्युजिल्यान्ड विरुद्ध इंग्ल्यान्ड– तेस्रोे एकदिवसिय– वेलिंग्टन
७ मार्चः न्युजिल्यान्ड विरुद्ध इंग्ल्यान्ड– चौथों एकदिवसिय– डुनेडिन
१० मार्चः न्युजिल्यान्ड विरुद्ध इंग्ल्यान्ड– पाचौं एकदिवसिय– क्राइस्टचर्च
२२–२६ मार्चः न्युजिल्यान्ड विरुद्ध इंग्ल्यान्ड– पहिलो टेस्ट– अकल्यान्ड
३० मार्चदेखि ३ अप्रिलः न्युजिल्यान्ड विरुद्ध इंग्ल्यान्ड– दोस्रो टेस्ट– क्राइस्टचर्च

इंग्ल्यान्डको १५ सदस्यीय एकदिवसिय टोलीः इयान मोर्गान(कप्तान), मोइन अली, जोनी ब्येअरस्टो, साम बिलिंग्स, जोस बटलर, टम कुरान, एलेक्स हेल्स, लियाम प्लुंकेट, अदिल रसिद, जोए रुट, जेसन रोए, बेन स्टोक्स, डेभिड विली, क्रिस ओएक्स र मार्क वुड।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार