वन्यजन्तुको गतिविधि बुझ्न शुक्लाफाँटाको घाँसे मैदानको अनुसन्धान

Nepal Live

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धान शुरु गरिएको छ। निकुञ्जमा डार्बिन परियोजना शुरु भएपछि वैज्ञानिक अनुसन्धानको कार्यलाई अगाडि बढाइएको छ। 

सिंहपुरफाँटाको २० हेक्टर घाँसे मैदानलाई पाँच वटा ब्लकमा विभाजन गरी हरेक ब्लकलाई फरक-फरक क्रियाकलाप गरी वैज्ञानिक परीक्षणको कार्य भइरहेको जुलोजिकल सोसाइटी अफ लन्डन, नेपाल अफिसका निरीक्षण एवं सर्भेक्षण अधिकृत प्रदीपराज जोशीले बताए। 

'तीन वर्षदेखि घाँसे मैदानमा रहेका ढड्डी, खरलगायतका वनस्पति काटेर आगो लगाउने, त्यसै छाड्ने, वनस्पति नकाटी आगो लगाउने र काटेर त्यसै छाडिदिने, वन्यजन्तुको उपस्थितिको अभिलेख राख्ने र घाँसको अवस्थालाई हेर्ने लगायतका क्रियाकलाप अगाडि बढाउँदै आएका छौं', उनले भने, 'यस्तै विधिका आधारमा वन्यजन्तुको उपस्थिति, व्यवहार अवलोकन गर्ने, वनस्पतिको अवस्थालाई परीक्षण गर्ने र वन्यजन्तुको अनुकूलनका साथै ब्लकको नतिजाअनुसार घाँसे मैदान प्रयोगमा ल्याइनेछ।'

वैज्ञानिक अनुसन्धानको कुन विधि सफल हुन्छ त्यसै आधारमा घाँसे मैदान प्रयोगमा ल्याइने बताउँदै घाँसे मैदानमा यस्तो अनुसन्धान कार्य नौलो भएको उनले बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निकुञ्जलाई चिनाउने घाँसे मैदान बाह्रसिंगे, बाघ, गैँडा र विभिन्न चराचुरुङ्गीको बासस्थानका रुपमा रहेकाले वन्यजन्तु र विचरणका दृष्टिले महत्वपूर्ण रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका सहायक संरक्षण अधिकृत अनिल प्रसार्इंले बताए। 

'निकुञ्जमा खाद्यचक्रको मुख्य परभक्षी बाघ, चितुवा लगायतले आहाराका रुपमा प्रयोग गर्ने बाह्रसिंगा, हरिण, बँदेल लगायतलाई लखेटीलखेटी संघर्ष गरेर शिकार गर्ने भएकाले सयौंको संख्यामा निकुञ्ज क्षेत्रमा छाडिने चौपायालाई नलखेटीकनै शिकार गर्ने भएकाले त्यो सिद्धान्तविपरीत हुन्छ', उनले भने, 'रोगको संक्रमण बढ्ने सम्भावना पनि उत्तिकै छ।' 

नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा निकुञ्जलाई घाँसे मैदान संरक्षण र व्यवस्थापनका हिसाबले महत्वपूर्ण रुपमा लिइन्छ। निकुञ्जमा सानाठूला गरी १२ फराकिला घाँसे मैदान छन्।

बाह्रसिंगाको ठूलो बथान निकुञ्जको घाँसे मैदानमै आश्रित छ। यो निकुञ्ज संकटापन्न अवस्थामा रहेका बाघ, गैँडा, हात्ती, खरमजुर र सेतोकण्ठे धिप्सी लगायतका वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानका रुपमा पनि रहेको छ। 

निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार निकुञ्जमा घाँसे मैदान वैज्ञानिक व्यवस्थापन तथा अनुसन्धानको कार्यसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रमा उन्नत जातका पशुपालन, पशु बीमा, गोठ सुधार र पशु स्वास्थ्य केन्द्रको स्थापना लगायतका कार्य पनि भइरहेका छन्। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार


अन्य समाचार पढ्नुहोस्