कार्यालय राख्ने विषयमा विवाद हुँदा वडा अध्यक्षलाई कुटपिट

Nepal Live

राजविराज– योजना छनौट तथा वडा कार्यालय सार्ने विषयमा विवाद हुँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का वडाध्यक्ष चुनचुन साह कुटपिटमा परेका छन्।

गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल, उनका छोरा तेजनारायण मण्डल लगायतले साहलाई कुटपिट गरेका हुन्। गाउँपालिका अध्यक्ष मण्डलले ११ करोड ७० लाखको योजना र वडा कार्यालय आफ्नै टोल रमपुरामा राख्नुपर्ने अडान लिएपछि आफुले विरोध गर्दा आफूमाथि हातपात भएको साहले बताए।

वडा नम्बर २ का मोहनपुर, रमपुरा र मौवा टोललाई समेत समेटेर विकासका योजना छनौट गर्नुपर्ने र जनतालाई पायक पर्ने गरी वडा कार्यालय राख्नुपर्ने आफूले अडान राखेपछि गाउँपालिका अध्यक्षका छोरा तेजनारायणले आफूमाथि हातपात गरेको उनको आरोप छ।

कुटपिटबारे इलाका प्रहरी कार्यालय छिन्नमस्तामा निवेदन समेत दिएको जानकारी दिएका छन्। गाउँपालिका अध्यक्ष मण्डलले भने योजना तर्जुमा गर्दा सामान्य विवाद मात्रै भएको र वडा अध्यक्षमाथि कसैले हातपात नगरेको बताए।

इलाका प्रहरी कार्यालय सखडा (छिन्नमस्ता) ले भने कुटपिट नभई वडा कार्यालय सार्ने विषयमा विवाद भएको जनाएको छ। रमपुरा र मौवा गाउँका प्रतिनिधिबीच वडा कार्यालय आफ्नो गाउँमा हुनुपर्ने भन्दै विवाद सुरु भएको प्रहरी नायव निरीक्षक भुवन कार्कीले बताए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार