डिभिजन–२ : नेपाललाई पछि पार्दै नामिबिया दोस्रो स्थानमा, नेपालले क्यानडालाई हराउनै पर्ने 

Nepal Live

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा आयोजक नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नामिबियाले मंगलबार भएको खेलमा केन्यालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा कब्जा जमाएको हो। नेपाल भने तेस्रो स्थानमा झरेको छ।

शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ। नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ। तीनै वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा हारेको युएईको ४ अंक छ।

अब समूह चरणको अन्तिम दिन बुधबार नेपाल र क्यानडा, युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ। पहिलो दुई खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्। 

नेपाल शीर्ष २ मा पर्न बुधबार क्यानडालाई पराजित गर्नै पर्ने हुन्छ। हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ। नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ। युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ। यसर्थ नेपालका लागि क्यानडा विरुद्धको खेल 'गर या मर' सरह हुनेछ।

नेपाल र क्यानडाबीच खेल बुधाबार नामिबयाको वन्डरर्स मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार