एभरेष्ट होटलका मालिक लारी जेल चलान 

Nepal Live

काठमाडौं– २१ वर्षअघिको लागूऔषध तस्करी मुद्दामा पक्राउ परेका एभरेष्ट होटलमा सञ्चालक मस्कुर अहमद लारी जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि सोमबार जेल चलानको आदेश दिएको हो।  

अदालतको आदेशअनुसार उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए। 

२१ वर्षअघिको चरेस तस्करी मुद्दामा उनलाई महानगरीय प्रहरी कार्यालय, रानीपाखेरीले गत बिहिबार पक्राउ गरेको  थियो। पक्राउ परेलगत्तै उनलाई छाड्न भन्दै उच्च पदस्थ व्यक्तिहरुले प्रहरीलाई दबाब दिएका थिए।  

१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस तस्करीमा उनको संलग्नता खुलेको थियो। उक्त चरेस लारीले पठाएको अनुसन्धानमा खुलेपछि प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। 

प्रहरीले पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेली राखिएको थियो। तर जिल्लाले उक्त मुद्दा जगाउँदै पुन सुनुवाइ गरेपछि २०६८ मा मस्कुरको नाममा पक्राउ आदेश जारी भएको थियो। लारी फरार रहदै आएका थिए। पहुँचका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन।

लारीले एभरेष्ट होटलको शेयरसम्बन्धि मुद्दा  गत साता मात्र जितेका थिए। उनको होटल भने २०७२ साल बैशाखको भूकम्पयता बन्द छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार