ad

बिमामा भुक्तानी पाउनै गाह्रो, अझै साढे १ अर्ब भुक्तानी बाँकी

इशारा कोइराला

Nepal Live

काठमाडौं- बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा छन्। बिमा समितिमा कम्पनीहरुले पेश गरेको वित्तीय विवरण अनुसार निर्जीवन बिमा कम्पनीहरुमा परेका दाबी रकममा भुक्तानी पाउन निकै गाह्रो रहेको छ। 

सबै निर्जीवन बिमा कम्पनीले क्षति भएको अनुमानित विवरण पेश गरेर भुक्तानी दिइरहेका छन्। यद्यपि उनीहरुले बिमा समितिमा बुझाएको तथ्यांकको आधारमा भुक्तानी प्रक्रियामा भने ढिलाइ देखिएको छ। 

बिमा कम्पनीहरुमा दाबी परेको बिमामध्ये अझैसम्म पाँच अर्ब ३७ करोड रुपैयाँ भुक्तान हुन बाँकी छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दाबी परेकोमध्ये १ अर्ब ६४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ। पुस मसान्तसम्ममा १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ दाबी परेकोमा हालसम्म १७ करोड ४३ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ।

बिमा समितिको पुस महिनासम्मको तथ्यांक अनुसार निर्जीवन बिमा कम्पनीहरुमा ६ सय ९७ वटा दाबी परेकोमा २ सय ५ वटा भुक्तानी भएका छन्। जस अनुसार ४ सय ५७ वटा बिमाको दाबी भुक्तानी हुन बाँकी छ।

सबैभन्दा धेरै दाबी अग्निमा, सामुद्रिक बिमामा थोरै

निर्जीवन बिमामा सबैभन्दा बढी दाबी अग्नि बिमा परेको छ। यस वर्षको ६ महिनासम्ममा सबैभन्दा धेरै अग्नि बिमामा दाबी परेको छ। अग्नि बिमामा २ सय ८४ वटा संख्यामा १ अर्ब १२ रुपैयाँको दाबी परेको छ। जसमध्ये ८५ वटा दाबीमा ९ करोड ५० लाख रुपैयाँ मात्र भुक्तानी भएको छ। सामुद्रिक बिमामा भने सबैभन्दा कम ६ वटा संख्यामा १ करोड ३० लाख रुपैयाँको दाबी परेको छ। त्यसमध्ये २० लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ।

त्यस्तै, मोटर बिमामा पुससम्म १ सय ३१ को संख्यामा २ करोड १६ लाख रुपैयाँको दाबी परेकोमा ४६ वटा दाबीमा ४१ लाख ३२ हजार रुपैयाँ मात्र भुक्तानी भएको छ।

नेशनल इन्स्योरेन्समा धेरै दाबी, राष्ट्रिय बिमा कम्पनीद्वारा सबै दाबी भुक्तानी 

पुससम्ममा सबैभन्दा धेरै नेशनल इन्स्योरेन्समा बिमा दाबी परेको छ। कम्पनीमा ३३ करोड १३ लाख रुपैयाँ बराबरको दाबी परेको छ। त्यसमध्ये १ करोड ८४ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ।

यता राष्ट्रिय बिमा कम्पनीले भने दाबी परेको सबै रकम भुक्तानी गरेको छ। कम्पनीमा चालु आर्थिक वर्षको ६ महिनासम्ममा ४ करोड ४४ लाख २१ हजार ९ सय ८ रुपैयाँ बराबरको दाबी परेकोमा सबै रकम भुक्तानी गरेको हो।

बिमामा कुन निर्जीवन कम्पनीको कति दाबी–भुक्तानी, बाँकी कति?

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने