व्यावसायिक पशुपालनमा युवामोह, मोरङभर ४ सय फार्म सञ्चालनमा

Nepal Live

पथरी- दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत भएका छन्। 

२०६७ सालदेखि एक माउ भैँसीबाट पशुपाल सुरु गरेका चोङवाङले मासिक १ लाख ६० हजार रुपैयाँको दूध र वार्षिक १ सय ट्र्याक्टर गोबर बिक्री गर्दै आएका छन्। चोङवाङले हाल दैनिक १ सय २० लिटर दूध बिक्री गर्दछन्। उनले वार्षिक रुपमा बिक्री गर्ने करिब सय ट्र्याक्टर गोबरमल प्रतिट्र्याक्टर ३ हजार रुपैयाँका दरले बिक्री गर्दै आएको बताए। 

चोङवाङले गाउँमा आफै रोजगारीको सृजना गर्ने विचारले कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गरेका छन्। उनले अहिले आफ्नै चार बिघा जमिनमा स्थापना गरेको पशुपालन केन्द्रमा अन्य ५ जनालाई समेत रोजगारी दिएका छन्। सो केन्द्रमा अहिले ९ माउ भैँसी र ५ वटा माउ गाई छन्।

व्यवसायलाई विस्तार गर्ने उद्देश्यले उनले ७ वटा बाच्छी र ६ वटा पाडीसमेत पालेका छन्। १० लाख रुपैयाँको लगानीमा शुरु गरेको व्यवसायमा हाल २० लाख रुपैयाँ लगानी पुगिसकेको चोङवाङको भनाइ छ। उनले मासिक रुपमा १ लाख ४० हजार रुपैयाँको दूध बिक्री गर्दै आएका छन्। 

उनी मात्र होइन ३ वर्ष मलेसियामा काम गरेर फर्किएका मोरङ दर्वेशा–१ का अशोक सुवेदीेले बाख्रापालन गरेर राम्रो आम्दानी गर्न थालेका छन्। २ वटा बाख्राबाट सुरु गरेको फार्ममा सुवेदी परिवारले हाल १ सयभन्दा बढि बाख्रा पुर्याएका छन्। 

उन्नत जातका बाख्रा पाल्न शुरु गरेपछि सुवेदी परिवारको आर्थिक जीवनस्तरमा सुधार आएको छ। आफू विदेशमा काम गर्न जाँदा कमाउन नसकेको र हाल बाख्रापालनबाट मनग्य आम्दानी हुने गरेकाले अरूलाई पनि यही पेशा अपनाउन उनले आग्रह गरे। 

सुवेदीले बाख्रापालनसँगै अन्य २ जनालाई रोजगारीसमेत दिएका छन्। अरूले कृषि पेशा गरी सफलता हात पारेको सुनेको आधारमा आफूले पनि व्यवसाय थालनी गरेको सुवेदीले बताए। फारमबाट उत्पादन भएको बोका–पाठीहरु तीन महिनामा बिक्री गर्न हुने र चार महिनामा १८ किलोसम्म पुग्ने गरेको जानकारी दिए। 

बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भएता पनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ। उनी मात्र होइन जिल्लाका ४० युवा व्यावसायिक पशुपालन र दूध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ। अहिले मोरङमा साना–ठूला गरेर करिब ४ सय व्यावसायिक पशु फार्म सञ्चालित छन्। 

जिल्ला पशुसेवा कार्यालय मोरङका प्रमुख डा.सुशील अधिकारीका अनुसार व्यावसायिक रुपमा १ सय ४३ वटा गाईको फार्म सञ्चालन गरिएको छ। त्यस्तै १४ भैँसी फार्म र पाँच पाडा–पाडीको फार्म दर्ता छन्। त्यस्तै मोरङ जिल्लामा ७० बाख्रा, ६४ बंगुर, २० कुखुरा र ४१ वटा मिश्रित फार्म दर्ता भएको छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार