मलाई सुहाउँदो फिल्ममा अफर आए लेख्नै छाडिदिन्छु : खगेन्द्र लामिछाने

Nepal Live

काठमाडौं– लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले केही समयअघि फिल्म उद्योग र कलाकारको पारिश्रमिकबारे समाचार पढेका रहेछन्। लेखिएको थियो, 'खगेन्द्र लामिछानेको पारिश्रमिक २५ लाख।’ 

उनलाई आश्चर्य लाग्यो- कसरी जानकारी नै नलिई लेखियो मेरो पारिश्रमिकबारे!

उक्त समाचारमा कुनै यथार्थता नभएको प्रस्ट पार्दै उनी भन्छन्, ‘त्यो २५ लाख पारिश्रमिकको विषयमा मलाई केही पनि थाहा छैन। मैले कहिल्यै कसैलाई पारिश्रमिकबारे स्टेटमेन्ट दिएको छु र?’

आफ्नै लेखन तथा अभिनयका फिल्महरुमा भने २५ लाख पारिश्रमिकसमेत निकै कम हुने बताउँछन् उनी। 

हुन त उनी कलाकार मात्र होइनन्। आख्यान र फिल्म लेखनमा पनि उत्तिकै व्यस्त छन्।

आफूले लेखेका अधिकांश फिल्ममा स्वयं अभियन पनि गरिरहेका छन्। ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘धनपति’ को मुख्य भूमिकामा खगेन्द्र नै छाएका छन्। ‘डमरुको डण्डीबियो’ र ‘जय भोले’मा पनि उनको अभिनय देख्न सकिनेछ। डमरुको डण्डीबियो केही समयपछि रिलिज हुँदैछ भने जय भोले निर्माणको घोषणा भइसकेको छ।

रंगमञ्चबाट कला क्षेत्रमा प्रवेश गरेका उनममा पछिल्लो समय फिल्ममोह निकै देखिन्छ। 

आफ्नै कथामा सधैं आफू नै मुख्य भूमिकामा किन?

आफ्नो लेखन आफू सुहाउँदो भएकैले अभिनयसमेत गर्नुपरेको उनको तर्क छ। 'मेरो कला-अभियनलाई मेल खाने कथा कसैले लेखेर अफर गरेमा आफ्नो लेखन बन्द गरेर स्वागत गर्नेछु,' उनले चुनौतीको भाषामा भने, 'मलाई सुहाउने र चित्तबुझ्दो फिल्म कसैले देखेर मलाई आग्रह गर्छ भने आजैबाट फिल्म लेखनबाट अलग हुन्छु।'

४ वर्षको छोटो समयमै ६ वटा फिल्म लेखेको स्मरण गर्दै उनले त्यसलाई आफ्नो लगाव र क्षमताको रुपमा व्याख्या गरे।

फिल्म ‘वधशाला’बाट डेब्यु गरेका खगेन्द्र रंगमञ्चबाट नै कलाक्षेत्रमा प्रवेश गरेका हुन्।

उनले नाटक लेखे ‘टलक जंग भर्सेस टुल्के’। लेखनका क्रममा आफूलाई मुख्य चरित्रमा उभ्याए पनि अभिनय गर्न नपाएपछि उक्त सपना पूरा गर्नकै लागि फिल्मी दुनियाँमा हाम्फाल्न पुगेका थिए। 

तर त्यसअघिको डेब्यु फिल्म ‘वधशाला’ भने उनको संयोग मात्र थियो।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार