ad

पहिलोपटक भारतले नेपाललाई अपराधी सुपुर्दगी गर्दै

Nepal Live

काठमाडौं– नेपालबाट भागेर भारत पुगेका हुन् या भारतमा अपराध गरेर नेपाल छिरेका। त्यस्ता अपराधीहरु पक्राउ गरेर प्रहरीले गोप्य रुपमा एक-अर्कालाई बुझाउँदै आएको छ। तर, शुक्रबार यस्तो एक अपराधीको ‘लेनदेन’ हुँदैछ, जुन दुई देशबीचको पहिलो वैद्य सुपुर्दगी हुनेछ। 

भारतले एक ‘मोस्ट वान्टेड’अपराधीलाई पक्राउ गरी आधिकारिक रुपमा नेपाललाई बुझाउँदैछ। जससम्बन्धी पत्रमा हस्ताक्षर गरेकी छन्, भारतीय विदेशमन्त्री सुष्मा स्वराजले।  

कर्तव्य ज्यान मुद्दामा फरार रहेका आतिनी भन्ने मुखिया गुरुङलाई शुक्रबार औपचारीक रुपमा सुपुर्दगी गरेर नेपाल ल्याउन लागिएको हो। 

१६  वर्षअघि ठमेलमा भएको एक घटनामा उनी फरार थिए। २०५८ साल कात्तिक १८ गते ठमेलको ‘जुली स्टुडियो ५४’ नामक डिस्कोमा गुरुङ लगायतका व्यक्तिहरुले सुवर्ण गुरुङको हत्या गरेका थिए। 

कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पा लगायत व्यक्तिले धारिलो हतियार प्रयोग गरेर सुवर्णको हत्या गरेका थिए। 

घटनापछि फरार रहेका गुरुङलाई अदालतले जन्मकैद फैसला गरिसकेको छ। स्रोतका अनुसार गुरुङ मकाउमा बस्दै आएका थिए। 

डेढ महिनाअघि भारत हुँदै मकाउ जाने क्रममा उनी जयपुर एयरपोर्टमा पक्राउ परेका हुन्। नेपाल प्रहरीले गुरुङको पासपोर्ट नम्बर पत्ता लगाई इन्टरपोलको ‘ब्ल्याक लिस्ट’मा राखेको थियो। सोही आधारमा उनी विमानस्थलमा पक्राउ परेका थिए। 

पक्राउ परेपछि उनलाई सुपुर्दगीका लागि नेपाल प्रहरीले पहल गरेको थियो। अदालतको आदेशपछि सुपुर्दगीको बाटो खुलेको हो। दिल्ली उच्च अदालतले गुरुङलाई नेपालमा सुपुर्दगी गर्न आदेश दिएपछि प्रक्रिया सुरु भएको हो। 

‘दुई देशबीच अपराध अनुसन्धानमा यो ऐतिहासिक घटना हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारी भन्छन्,‘खुला सीमा भएका दुई देशबीच यस्तो किसिमको सुपुर्दगी पहिले नै आवश्यक थियो।  

पक्राउ पर्ने डरले गुरुङले भारतको विमानस्थल प्रयोग गरेका थिए। तर, इन्टरपोलसँगको सहकार्यमा नेपाल प्रहरी उनलाई पक्राउ गर्न सफल भएको हो। 

खुला सिमानाका कारण नेपाल र भारतका अपराधीहरु एकअर्काको देशमा लुक्ने गर्दछन्। दुई देशबीच सुपुर्दगी सन्धि गर्न पटकपटक पहल गरे पनि सफल हुन सकेको छैन। भारतले ऐनमा अनावश्यक सर्त राख्ने भएकाले सन्धि हुन नसकेको हो। 


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार