जिउ चिलाउनु गम्भीर रोगको लक्षण पनि हुन सक्छ

Nepal Live

जिउ चिलाउनुका थुप्रै कारण हुन्छन्। सामान्यदेखि ज्यान लिनेसम्म। शरीर चिलाउनुलाई हामी सामान्य रुपमा लिन्छौँ। उपचार पनि सामान्य नै छ, कन्याइदियो सक्किगो। किन चिलायोसम्म सोच्दैनौँ। कतिपय अवस्थामा चिलाउनुको खास कारण पत्ता नलाग्न सक्छ। मुख्यतया चिलाउनुको प्रमुख कारण छाला सम्बन्धी रोग नै हो। तर, छालाबाहेक अन्य गम्भीर रोगहरुको लक्षण पनि हुन सक्छ चिलाउने समस्या।

निम्न कारणले छाला चिलाउन सक्छ

- फुस्रो सुख्खा छाला: बुढा पा धेरै नुहाउनु, आगो ताप्नु ले छलालाई सुख्खा बनाउछ्।

- छालाका रोग: इक्जेमा, कन्त्यक्ट डर्माटैटिस, अर्टी केरियालैकेन प्लेनस, सोरियासिस, चाया, घमौँरा आदि।

- एलर्जी: शृंगारका सामान, रबर, खोटो, उन, साबुन, औषधि, खानेकुरा, चर्को घाम, धुलो आदिको एलर्जी।

- परजीवी: लुतो, जुम्रा, उपियाँ, उडुस्, जुँका आदि।

- टोकाइ: किरा, फट्याङ्ग्रा, मच्छड, मौरी आदि।

- संक्रमण: ठेउला, जनै खटिरा, अन्य भाइरस, फंगसजन्य रोग, दाद, हिलोले खानु आदि।

- गर्भधारण: गर्भधारणका कारणले पनि जिउ चिलाउने हुन सक्छ।

- आन्तरिक रोगहरु: कलेजोको रोग, मिर्गौला फेल हुनु, रक्त अल्पता, गलगाँडको समस्या, क्यान्सर, सुगर आदि।

जि चिलाउनुका कारण

एनाफैलेक्सिस

एनाफैलेक्सिस अति गम्भीर प्रकृतिको 'एलर्जिक रियाक्सन' हो। विभिन्न प्रकारका औषधि, मौरी-बछ्युँ-बारुलाको टोकाइ, एलर्जी हुने खानेकुरा तथा रासायनिक पदार्थहरुले एनाफैलेक्सिस गराउन सक्छ।

अचानक जिउभरि चिलाउने डाबर देखिनु, पेट दुख्नु, अनुहार तथा जिब्रो सुनिनु, सास फेर्न गाह्रो हुनु, घ्यारघ्यार हुनु, नाडीको गति कमजोर तर तीव्र हुनु, रक्तचाप काम हुनु, होस् हराउनु एनाफैलेक्सिसका लक्षण हुन्। तुरुन्तै रोगको पहिचान गरी उपचार गरिएन  भने यसले ज्यानै लिन सक्छ।

एनाफैलेक्सिस अचानक हुने अप्रत्यासित मृत्युको एउटा प्रमुख कारण हो। कुनै व्यक्ति गम्भीर रुपमा एक्कासी बिरामी भयो र एनाफैलेक्सिसका लक्षण देखिए भने तुरुन्तै 'इन्जेक्सन इपिनेफ्रिन' दिनाले ज्यान जोगिन सक्छ। बिरामीलाई तुरुन्तै उपचारका लागि स्वास्थ्य केन्द्रमा पुर्‍याइहाल्नुपर्छ। स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीहरुले नर्मल स्लाइन, रिङ्गर ल्यक्टेत, हैड्रोकोर्टिसन, एन्टिएलर्जिक औषधि दिएर उपचार गर्छन्।

पित्तनलीमा रोध

पित्तनलीमा अवरोध हुनुको कारणले कालेजोमा बनेको पित्त आन्द्रामा पुग्न सक्दैन र रगतमा पित्तको मात्रा बढ्न जान्छ। जसका कारणले जिउ  चिलाउने लक्षण देखा पर्छ। पित्तथैली तथा नलीमा पत्थर हुनु, संक्रमण हुनु, नली साँघुरो हुनु, चोटपटक लाग्नु, कलेजो, पित्तनली तथा फियो वरिपरिका ग्रन्थी सुनिनु र ट्युमर तथा क्यान्सर पित्तनलीमा अवरोध हुनुका प्रमुख कारण हुन्।

जिउ चिलाउनेसँगै आँखा पहेँलो देखिने, गाढा पहेलो रङ्को पिसाब हुने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, ज्वरो आउने, दुब्लाउँदै जाने जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग सम्पर्क गरिहाल्नुपर्छ।

लिबर सिरोसिस

लामो समयसम्म रक्सी पिउने तथा  दीर्घकालीन हेपाटाइटिस भएका बिरामीको कालेजो बिग्रँदै जाँदा कामै गर्न नसक्ने अवस्थालाई लिबर सिरोसिस भनिन्छ। कलेजोले रगतबाट रक्सी, जीवाणूद्वारा उत्पन्न हुने विषाक्त पदार्थलाई हटाएर रगतलाई शुद्ध पार्छ। बोसो, भिटामिनहरुलाई आन्द्राबाट सोस्न मद्दत गर्छ। ग्लुकोज तथा भिटामिनलाई संचय गरेर राख्छ, रगत जम्न आवश्यक पदार्थ उत्पादन गर्छ।

सिरोसिसको प्रमुख कारण लामो समय रक्सी पिउनु र हेपाटाइटिस सि हुनु नै हो। यसबाहेक पारासिटामोल, एन्टिबायोटिकजस्ता औषधिको अधिक प्रयोग तथा अन्य कारणले पनि सिरोसिस हुन सक्छ।

जिउ चिलाउने, जन्डिस हुने, दुब्लाउने, भोक नलाग्ने, कमजोर हुने, पेट फुल्ने, खुट्टा सुन्निने, यौन इच्छा घट्ने आदि यो रोगका लक्षण हुन्।

दीर्घकालीन मिर्गौला रोग

मिर्गौला, निको नहुने गरी निरन्तर रुपमा क्षतिग्रस्त हुँदै जाने रोग हो दीर्घकालीन मिर्गौला रोग। लवण तथा पानीको मात्रा शरीरमा सन्तुलित राख्नु, रगत उत्पादनमा मद्दत पुर्‍याउनु तथा फोहोर पदार्थ बिसर्जन गर्नु मिर्गौलाका मुख्य काम हुन्।

दीर्घकालीन मिर्गौला रोगको प्रमुख कारण अनियन्त्रित उच्च रक्तचाप तथा चिनी रोग हो। मिर्गौला पूरै नबिग्रिएसम्म लक्षण नदेखिन सक्छ।

जिउ चिलाउनु, शरीर झमझमाउनु, जिउ सुनिनु, थकाइ लाग्नु, सास फेर्न गाह्रो हुनु, वाकवाकी लाग्नु, बान्ता हुनु, होस ठेगानमा नहुनु, बाडुली लाग्नु, निद्रा नलाग्नु, दुब्लाउनु आदि मिर्गौला रोगका लक्षण हुन्।

चिनी रोग (डायबिटिज)

मिर्गौला बिगार्ने प्रमुख रोग कारण नै चिनी रोग हो। चिनी रोग सँगै उच्च रक्तचाप पनि छ भने मिर्गौला बिग्रने सम्भावना अझै बढेर जान्छ। भोक प्यास बढी लाग्ने, पिसाब धेरै हुने, दुब्लाउने, थकान महसुस हुने, छाला सुख्खा हुने र जिउ चिलाउनु चिनी रोगका लक्षण हुन्।

हाइपरथाइरोइडिजम

थाइरोइड ग्रन्थीले थाइरोइड हर्मोन अत्यधिक मात्रामा उत्पादन गर्दा हुने अवस्था हो हाइपरथाइरोइडिजम। 'ग्रेभ्स डिजिज' नामक रोग हाइपरथाइरोइडिजमको प्रमुख कारण हो। आयोडिन बढी मात्रामा लिनु, थाइरोइडको संक्रमण हुनु, थाइरोइड, पित्युटरी ग्रन्थी, अन्डकोश तथा गर्भासयको ट्युमर हुनु हाइपरथाइरोइडिजमका कारण हुन्। जिउ चिलाउनु, आँखा ठुलो-ठुलो देखिनु, नाडी छिटो-छिटो चल्नु, नाडीको गति अनियमित हुनु, धेरै पसिना आउनु, भोक धेरै लाग्नु, निद्रा नलाग्नु आदि  हाइपरथाइरोइडिजमका प्रमुख लक्षण हुन्।

यसबाहेक फलामको कमी, रक्त अल्पता, लिम्फोमा तथा ल्युकेमियाजस्ता रगत र ग्रन्थीको क्यान्सर हुँदा पनि जिउ चिलाउने हुन्छ।

जिउ धेरै चिलाए के गर्ने?

१. कन्याउँदा कोतर्नु हुँदैन।

२. कन्याउँदा छालामा घाउ लाग्ने गरी नङ राख्नु हुँदैन।

३. उनी वा अन्य खस्रो लुगा सिधै छालामा टाँसिने गरी लगाउनु हुँदैन।

४. लामो समयसम्म घाम वा बाफिलो वातावरणमा बस्नु हुँदैन।

५. मनतातो पानीले नुहाउने र तेल मालिस गर्नाले चिलाउने क्रम घट्न सक्छ।

६. आफूलाई काममा व्यस्त राख्ने प्रयास गर्नुपर्छ।

७. चिलाउन कम गर्ने स्टेरोइड भएका क्रिम वा सेट्रिजिनजस्ता औषधि चिकित्सको सल्लाहअनुसार प्रयोग गर्न सकिन्छ।

निम्न अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ

- पूरै जिउ चिलाएमा।

काम गर्न वा सुत्न नसक्ने गरी चिलाएमा।

भोकप्यास बढी लाग्ने, थकान महसुस हुने, जिउमा डाबर देखिने, रातो हुने, सुन्निने, आँखा पहेँलो हुने, ज्वरो आउने, दुब्लाउने जस्ता लक्षणहरु देखिएमा।

उपचार गर्दा पनि दुई हप्ताभन्दा बढी समयसम्म चिलाउन निको नभएमा।

यति कुरा पढेपछि तपाईंले चिलाउने कुरा सामान्य मात्र होइन रहेछ भन्ने पक्कै बुझ्नु भयो होला। तसर्थ, जिउ चिलाउने कुरालाई बेवास्ता गरेर बस्नु हुँदैन। कहिलेकाहीँ जिउ चिलाउने कुराले ठूलो रोगको लक्षण बोकेको हुनसक्छ। आफूलाई असहज हुनेगरी जिउ चिलाउँछ भने चिकित्सककहाँ गएर जाँच गराउनु नै उत्तम कुरा हो।

(डा. गुरुङ गण्डकी मेडिकल कलेज, पोखराका प्राध्यापक हुन्)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार