विमान कम्पनीबीच प्रतिस्पर्धा बढेपछि यात्रुलाई फाइदा, नेपालगन्ज-काठमाडौं भाडा सस्तियो 

कृष्ण अधिकारी

Nepal Live

नेपालगन्ज- विमान कम्पनीबीच प्रतिस्पर्धा हुन थालेपछि काठमाडौं-नेपालगन्ज हवाइ यात्रा सहज एवं सस्तो बनेको छ।

बुद्ध र यती एयरले वर्षौंदेखि काठमाडौं-नेपालगन्ज रुटमा सेवा दिँदै आएकोमा यो वर्षबाट सौर्य तथा श्री एयरले पनि हवाइ सेवा नियमित सञ्चालन गर्न थालेका छन्।

५ वटा विमान कम्पनीले दैनिक ९ देखि १० वटासम्म उडान भर्दा ५ सयदेखि ५ सय ८४ जनासम्म यात्रुले नेपालगन्ज-काठमाडौं यात्रा गर्न सक्ने सुविधा पाएका छन्।

मध्य र सुदूरपश्चिम नेपालको प्रमुख सहरको रुपमा रहेको नेपालगन्जमा नयाँ उडान थपिएपछि यहाँको विमानस्थल व्यस्त हुन थालेको छ।

पछिल्ला वर्ष नेपालगन्ज हुँदै कैलाश मानसरोवर दर्शनमा जाने भारतीय पर्यटकको संख्या बढेपछि नयाँ कम्पनी नेपालगन्ज केन्द्रित हुन थालेका हुन्। यो वर्ष काठमाडौं-नेपालगन्ज र नेपालगन्ज-सिमीकोट (हुम्ला) हुँदै कैलाश मानसरोवरको पुग्ने भारतीय पर्यटकको संख्या करिब ६ हजार पुगेको छ।

 भदौ तेस्रो सातादेखि कैलाश मानसरोवर जाने यात्रुको चाप घटेपछि कम्पनीहरुले नेपालगन्जदेखि काठमाडौंको भाडामा छुटसहित अफर योजना समेत ल्याउन सुरु गरेका छन्।

नेपालगन्ज-काठमाडौं भाडादर औसत ४ हजार ८ सय देखि ९ हजार ९ सयसम्म भए पनि पछिल्ला दिनमा कम्पनीहरुले ३ हजार २ सयसम्ममै उडाउन थालेको नेपालगन्जको मोनासिला ट्राभल्सका सञ्चालक झबिलाल शर्माले बताए।

नेपालगन्ज-काठमाडौं भाडादरमा सस्तो अफर ल्याए पनि काठमाडौंबाट नेपालगन्जको रुटमा भने सस्तो दरका टिकट बुकिङ भइसकेकाले महँगो दरको टिकट मात्रै रहेको ती कम्पनीले बताएका छन्।

नेपालगन्जबाट काठमाडौं ३ हजार २ सयको टिकटमा यात्रा गर्ने यात्रुहरुले काठमाडौंबाट नेपालगन्ज फर्कंदा ९ हजार ६ सय तिर्नुपरेको गुनासो गरेका छन्।

चाडपर्वको सुरुवातसँगै काठमाडौंबाट नेपालगन्ज आउने यात्रुको चाप बढ्ने भएकाले कम्पनीहरुले महँगो दरको टिकट मात्रै दिने गरेका छन्।

दसैंपछि यात्रुहरु काठमाडौं फर्कने समयमा भने नेपालगन्जबाट काठमाडौंको सस्तो टिकट बुकिङ भएको भन्दै महँगो टिकट उपलब्ध गराउने सम्भावना भएको व्यवसायी शर्माले बताए।

नेपाल एयरलायन्सले दैनिक एक उडान नियमित रुपमा सञ्चालन गर्नासाथ हवाइ टिकटको दर अझै घट्ने र यात्रा थप सहज हुने व्यवसायीहरु बताउँछन्। 

हाल नेपाल एयरलायन्सले हप्ताके ३ दिन मंगलबार, बिहीबार र शनिबार दिउँसो मात्रै  उडान सञ्चालन गर्दै आएको छ।

काठमाडौं-नेपालगन्ज उडान तालिका

पढ्नै पर्ने