आइपिएलको अक्सनअघि ट्रायल दिन गोप्य रुपमा दिल्ली गएका थिए सन्दीप

Nepal Live

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा आबद्ध भएसँगै नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने एकाएक चर्चामा आएका छन्। आइतबार बैंग्लोरमा भएको अक्सनमा उनलाई दिल्ली डेयरडेभिल्सले ३२ लाख नेपाली रुपैयाँमा लिएर आगामी अप्रिलमा हुने ११औं सिजनका लागि आबद्ध गरेको हो।

अक्सनमा छनोट हुनुअघि उनी ट्रायल दिन गोप्य रुपमा दिल्ली गएका थिए। केही घन्टा दिल्लीमा रहेका उनले नेट अभ्यास गरेपछि सोही दिन नेपाल फर्किएका थिए। नेट सेसनमा सन्दीपले गरेको अभ्यासको भिडियो दिल्लीका प्रशिक्षक रिकी पोन्टिङलाई देखाइएको थियो।

सन्दीप ट्रायलका लागि गोप्य रुपमा दिल्ली गएको दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुवाले पुष्टि गरेका छन्। उनले एक भारतको चर्चित पत्रिका इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा केही वर्षदेखि सन्दीपलाई पछ्याइरहेको तथा अक्सनअघि ट्रायलका लागि दिल्ली बोलाइएको बताएका छन्। 

'उनी बल्ल १७ वर्षका भए। उनी साँच्चै राम्रो बलिङ गर्छन्। बललाई राम्रोसँग घुमाउन र तीव्र गतिमा फ्याँक्न सक्छन्,' हेमन्तले भनेका छन्, 'त्यसैले हामीले उनलाई विशेष ट्रायलका लागि दिल्ली बोलाएका थियौं। नेसमा उनले बलिङ गरेर हामीलाई देखाए। हामीले यो कुरा गोप्य राखेका थियौं। किनकि यस्ता स्पिनर विश्वमा थेरै मात्र छन्। हामीले उनको नेट अभ्यास टिमलाई देखायौं। सबैले उनको बलिङ मन पराए। प्रशिक्षक पोन्टिङले पनि उनको बलिङ हेर्दै टिममा आबद्ध हुन अनुमति दिनुभएको हो।' 

यो पनि– सन्दीप लामिछाने : क्याम्पाचौरदेखि आइपिएलसम्म 

सन्दीप पहिलो चरणको आइपिएल अक्सन सूचीमा भने समावेश थिएनन्। पहिलो चरणमा घोषणा गरिएका ११ सय खेलाडीको सूचीमा नपरेका सन्दीप दोस्रो चरणको सूचीमा भने अटाए। दोस्रो चरणको सूचीमा सन्दीप लगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो। सन्दीपलाई अक्सन सूचीमा राख्न दिल्ली डेयरडेभिल्सले नै पहल गरेको दिल्लीकै सिइओले पुष्टि गरिसकेका छन्। 

सन्दीपको नाम आइपिएलको अक्सन सूचीमा राख्न नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सिइओ भावना घिमिरले विशेष पहल गरेकी थिइन्। घिमिरेले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र आइपिएल व्यवस्थापन कम्पनी इन्टरनेसनल म्यानेजमेन्ट ग्रुपमा कुरा गरेपछि सन्दीपको नाम अक्सन सूचीमा राखिएको हो।

अक्सनमा परेपछि सन्दीपको पक्षमा लबिङ गर्न अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले पनि भूमिका खेलेका थिए। अक्सनमा परेलगत्तै क्लार्कले ट्विटरमा 'म भए सन्दीपलाई आफ्नो टिममा लिन्थेँ' भनेर लेखेका थिए। 

अस्ट्रेलियन क्रिकेटको आधिकारिक निकाय क्रिकेट अस्ट्रेलियाले पनि सन्दीप आइपिएलमा आबद्ध हुन क्लार्क र अस्ट्रेलियाका पूर्व कप्तान तथा हालका दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङको सहयोग गरेको आशयको समाचार प्रकाशित गरेको थियो। 

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेट प्रतियोगिताका लागि हाल दुबईमा रहेका सन्दीपले पनि आइपिएल टिममा छनोट गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। सन्दीप दुबईबाट डिभिजन–२ खेल्न नामिबिया जानेछन्। त्यसपछि उनी फागुन पहिलो साता नेपाल फर्कनेछन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार


अन्य समाचार पढ्नुहोस्