आइपिएलको अक्सन सूचीमा परे नेपालका युवा बलर सन्दीप लामिछाने

Nepal Live

नयाँ दिल्ली– आगामी अप्रिलमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताका लागि शनिबार सार्वजनिक गरिएको अक्सन (बोलकबोल) सूचीमा नेपालका युवा बलर सन्दीप लामिछाने परेका छन्। शनिबार सार्वजनिक गरिएको ५ सय ७८ जनाको सूचीमा सन्दीप पनि परेका हुन्। सूचीमा ३ सय ६० जना भारतीय खेलाडी छन्। 

आइपिएल अक्सनको सूचीमा परेका खेलाडीहरुको अक्सन आगामी जनवरी २७ र २८ मा बैंगलुरुमा हुनेछ। अक्सन सूचीमा ७० जना क्याप्ड खेलाडी छन् भने बाँकी अनक्याप्ड छन्। सन्दीप अनक्याप्ड खेलाडीको क्याटागोरीमा छन् । 

यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) र  बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए।

यहाँ क्लिक गरेर हेर्नुहोस्, सन्दीप आइपिएल अक्सन सूचीको २७६ नम्बरमा छन्। 

आइपिएलको नयाँ नियम अनुसार अनक्याप्ड खेलाडीले कम्तीमा २० लाख भारु (३२ लाख रुपैयाँ)  पाउनेछन्। 

आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्।  

यसअघि पहिलो चरणमा मुम्बई इन्डियन्सले रोहित शर्मा, हार्दिक पान्ड्या र जसप्रित बुमराहलाई आबद्ध गरेको थियो। 

रोयल च्यालेन्जर्स बेंग्लोरले विराट कोहली एबी डिभिलियर्स र शर्फराज खानलाई आफ्नो टिममा राख्दा कोलकता नाइटराइडर्सले सुनिल नारायणलाई पुन: टिममा राख्ने निर्णय गरेको थियो। दिल्ली डेयरडेभिल्स रिशव पन्त, क्रिस मोरिस र श्रेयास इयर तथा किंग्स इलाभेन पञ्जावले अक्षर पटेललाई टिममा राखेका थिए। 

सनराइजर्स हैदरावादले डेभिड वार्नर र  भुवनेश्वर कुमार तथा चेन्नई सुपरकिंग्सले महेन्द्रसिंह धोनी, सुरेश रैना र रविन्द्र जडेजालाई टिममा आबद्ध गरेका थिए। राजस्थान रोयल्समा स्टेभिन स्मिथ भित्रिएका थिए। 

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार